१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्वकै धनी एलन मस्कले गरे नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१५:oo

दक्षिण छिमेकी मुलुक भारतले स्टारलिंक सेवा विस्तार गर्न स्पेसएक्सलाई स्वीकृति दिइसकेको छ

टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको हो । स्पेसएक्सले विभिन्न देशमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा (स्टारलिंक) विस्तार गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले पनि एलन मस्कको कम्पनीबाट स्टारलिंक सेवा सञ्चालन गर्ने प्रस्ताव आए दिने/नदिने विषयमा निर्णय भइसकेको छैन,’ उनले भने, ‘आवश्यक अध्ययन गरेर यसबारे उचित निर्णय गर्नेछौँ ।’ दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीले स्टारलिंक सेवा सुचारु गर्ने सहमति माग्दै स्पेसएक्सबाट प्रस्ताव आए पनि लगानी रकमबारे भने बताउन चाहेनन् । कम्पनीले परियोजनामा अधिकतम ६ अर्बसम्म लगानी गर्न सक्ने बताइएको छ । 

ब्लुमबर्गको बिलिनियर इन्डेक्सअनुसार आइतबार एलन मस्कको कुल धन (नेटवर्थ) २१९ अर्ब डलर कायम छ । वर्तमान विनिमयदरअनुसार नेपाली रुपैयाँमा उनको नेटवर्थ २९० खर्ब ४१ अर्ब ५९ करोड हो । विश्वकै धनीले नेपालमा लगानी गर्न खोज्नुलाई महत्वका साथ हेरिएको छ ।

विदेशी कम्पनीले नेपालमा इन्टरनेट सेवा सञ्चालन गर्न २० प्रतिशत सेयर हिस्सा नेपालीलाई दिनुपर्ने हुन्छ । तर, स्थानीयलाई साझेदार बनाउने नीति  स्पेसएक्सको छैन । प्रचलित इन्टरनेट सेवामा पनि यसले असर गर्न सक्छ । यी यस्ता प्राविधिक विषयमा अध्ययन गरेर निर्णय लिने पक्षमा सरकार छ ।  स्पेसएक्सले सन् ०१९ बाट सुरु गरेको यो सेवा विश्वका ७० देशमा विस्तार भएको छ । दक्षिण छिमेकी मुलुक भारतले पनि स्टारलिंक सेवा विस्तार गर्न स्पेसएक्सलाई स्वीकृति दिइसकेको छ । कम्पनीले ०२३ भित्र नेपालमा स्टारलिंक सेवा विस्तार गर्ने व्यावसायिक योजना बनाएको थियो ।

सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदी भन्छन् – नेपालमा स्पेसएक्सले स्टारलिंक इन्टरनेट सेवा विस्तार गर्ने प्रस्ताव गरेको छ । तर, उसलाई अनुमति दिने/नदिने विषयमा निर्णय भइसकेको छैन । आवश्यक अध्ययन गरेर यसबारे उचित निर्णय गर्नेछौँ ।

सोहीअनुसार गत असारमा स्पेसएक्सका उच्च अधिकारीहरू गुपचुप नेपाल आएर यसबारे फिल्ड सर्भेसमेत गरिसकेका छन् । त्यसको केही समयपछि नेपालमा स्टारलिंक सेवा सुचारु गर्ने अनुमति माग्दै कम्पनीले प्रस्ताव दिएको हो । स्टारलिंक ‘वायरलेस’ अर्थात् सीधै स्टाटेलाइटको माध्यमबाट प्रयोग गर्न सकिने इन्टरनेट सेवा हो । यसमा तारविना नै राउटरले इन्टरनेट सेवा उपलब्ध गराउँछ । रुस–युक्रेन र इजरायल–हमास समूहको युद्धबाट प्रभावित क्षेत्रमा फाइबरको नेट अवरुद्ध भएपछि स्टारलिंकमार्फत इन्टरनेट सेवा दिइएको थियो । 

हाल नेपालमा फाइबर (इन्टरनेट प्रवाह गर्ने तार)को माध्यमबाट इन्टरनेट सेवा प्रदान गरिँदै आएको छ । त्यो अवस्थामा स्पेसएक्सले नेपालमा स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा सुचारु गर्ने प्रस्ताव गरेको हो । नेपाल भौगोलिक रूपमा विविधता तथा विकट मानिने ठाउँ हो । भौगोलिक अवस्थाकै कारण नेपालका विकट तथा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार हुन सकेको छैन । त्यो अवस्थामा स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रवाह गर्ने प्रविधि आउँदा इन्टरनेटको पहुँच विस्तारमा सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

अर्थविद् केशव आचार्यले एलन मस्कको कम्पनीबाट लगानी प्रस्ताव आउनु निकै महत्वपूर्ण भएको बताए । ‘विश्वकै धनी व्यक्ति मस्कले हचुवाको भरमा लगानी गर्न खोजेका पक्कै होइनन् । पक्कै पनि नेपालमा आएर प्राविधिक रूपमा अध्ययन तथा सर्भे गरेका हुन सक्छन् । त्योअनुसार नेपालमा केही सम्भावना देखेर नै यस्तो प्रस्ताव आएको हुन सक्छ, यो एकदमै महत्वपूर्ण पक्ष हो । विश्वकै धनी व्यक्तिले नेपालमा लगानी प्रस्ताव गर्दा र लगानी गरेपछि विश्वव्यापी रूपमा ठूलो सकारात्मक सन्देश जान्छ,’ उनले भने ।

अडानी विमानस्थल र जलविद्युत्मा लगानी गर्न इच्छुक
विश्वकै १४औँ धनी भारतीय उद्योगी गौतम अडानी पनि नेपालको हवाई उड्डयन तथा जलविद्युत्को क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतको हालै सम्पन्न भारत भ्रमणमा भएको भेटवार्तामा अडानीले निजगढ विमानस्थल र मुगु–कर्णाली जलविद्युत् आयोजनामा लगानीको प्रस्ताव गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको लागत एक खर्ब ६५ अर्ब अनुमान गरिएको छ । अडानी उक्त आयोजना बनाएर सञ्चालन गर्न इच्छुक देखिएको अर्थमन्त्रीको सचिवालयका एक अधिकारीले बताए । साथै, गौतम बुद्ध विमानस्थल सञ्चालन गर्न पनि अडानी इच्छुक देखिएको उनले बताए । त्यस्तै, १९०२ मेगावाटको मुगु–कर्णाली जलविद्युत् आयोजना बनाउन पनि अडानी इच्छुक देखिएका छन् ।

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले यो आयोजना अघि बढाएको छ । यसको लागत तीन खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान छ । आगामी १६ र १७ वैशाखमा हुने लगानी सम्मेलनमा अडानीले आपूm उपस्थित हुने प्रतिबद्धता पनि अर्थमन्त्रीसँग गरेका छन् । सोही सम्मेलनमा घोषणा तथा विकास निर्माण सम्झौता गर्ने गरी ठूला आयोजना दिन अडानीले प्रस्ताव गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

ad
ad