१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २२:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालमाथि न्युजिल्यान्डको सहज जित, ९० रन बनाएका अर्जुनबाहेक अन्य ब्याटर चलेनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २२:o८:oo

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा समूह ‘डी’को पहिलो खेलमा न्युजिल्यान्डले पहिलो ब्याटिङ गरी ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि स्नेहिथ रेडीले १४७ रनको अविजित योगदान दिएका थिए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।

सुरुवातमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्यान्ड ६७–३ को स्थितिमा थियो । त्यसपछि रेडी र कप्तान ओस्कार ज्याक्सनले चौथो विकेटका लागि १५७ रनको साझेदारी गरे । ज्याक्सनले ७५ रन जोडे । उनले ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । न्युजिल्यान्डको चौथो विकेटको साझेदारी आकाश त्रिपाठीले तोडेका थिए । चौथो विकेटका रूपमा ओस्कार आउट हुँदा न्युजिल्यान्ड ४१.५ ओभरमा २२४÷४ को बलियो स्थितिमा रह्यो । रेडी र ज्याक्सनको साझेदारीले न्युजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको थियो । नेपालका लागि सुभाष भण्डारीले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभरमा ६० रन खर्चे । गुल्सन झाले १० ओभरमा ६१ रन खर्चंदै दुई विकेट हात पारे । 

शतक बनाउन चुके अर्जुन
नेपालका युवा ब्याट्सम्यान अर्जुन कुमाल आइसिसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध शतक बनाउन चुकेका छन् । उनी नर्भस नाइन्टिजको सिकार भए । न्युजिल्यान्डविरुद्धको प्रतिस्पर्धामा अर्जुन ३७.२औँ क्याच आउट भएका हुन् । उनले नेपालका लागि सर्वाधिक ९० रन बनाए । उनले १०४ बलमा १२ चौका प्रहार गरे । न्युजिल्यान्डविरुद्धको खेलमा अर्जुनले १४, ८६ र ८८ रनमा जीवनदान पाएका थिए, तर उनले शतकका रूपमा परिणत गर्न सकेनन् । 

आइसिसी यू–१९ विश्वकपमा अहिलेसम्म नेपाली खेलाडीले शतकीय इनिङ्स खेलेका छैनन् । यू–१९ विश्वकपमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान प्रदीप ऐरीको नाममा छ । सन् २०१२ मा प्रदीपले नामिबियाविरुद्ध ९८ रन बनाएका थिए । यू–१९ विश्वकपको एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा अर्जुन संयुक्त रूपमा दोस्रो स्थानमा छन् । सन् २००४ मा कनिष्क चौगाईंले पपुवा न्युगिनीविरुद्ध ९० रन बनाएका थिए ।

गत अक्टोबरमा उनले मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४३ रन जोडेका थिए । साउदी अरेबियाविरुद्ध उनले १७ चौका र दुई छक्का प्रहार गरेका थिए । अर्जुनले गत वर्ष फागुनमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रनको शतकीय इनिङ्स खेलेका थिए । न्युजिल्यान्डविरुद्धको खेलमा अर्जुनले दुई जीवनदान पाएका थिए । उनले ७३ बलमा ६ चौकासहित अर्धशतक पूरा गरेका थिए । अर्जुन लगातार दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक बनाउन चुके । गत डिसेम्बरमा यू–१९ एसिया कपमा उनले अफगानिस्तानविरुद्ध अर्जुनले ९१ रन जोडेका थिए । 

सम्हालिन नसकेको नेपालको ब्याटिङ
नेपालले ३०३ रनको लक्ष्य पछ्याएको थियो । आठ वर्षपछि यू–१९ विश्वकपमा स्थान बनाएको नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा सम्हालिएर ब्याटिङ गर्न सकेन । इनिङ्सका तेस्रो बलमै नेपालले ओपनर दीपक बोहरालाई गुमाएको थियो । नेपालले १८ रनमा दोस्रो विकेटका रूपमा आकाश त्रिपाठीलाई गुमायो । त्यसपछि कप्तान देव खनाल र अर्जुनले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै नेपालको ब्याटिङलाई रनरेटअनुसार अगाडि बढाए ।

कप्तान देवले ३४ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३६ रन जोडे । इनिङ्सको २०.२ ओभरमा गुल्सन झालाई गुमाउँदा नेपाल १००–५ को स्थितिमा रह्यो । लगातार विकेट गुमेको ब्याटिङ पिचमा अर्जुनले आफ्नो विकेट टिकाइरहेका थिए ।  अर्जुन आउट हुँदा नेपाल १७६–८ को स्थितिमा रह्यो । त्यसपछि सुभाष भण्डारीले ५२ बलमा ३३ रनको योगदान गरे । उनले चार चौका प्रहार गरे । आकाश चन्दले २६ बलमा १४ रन बनाए । सुभाषले ११औँ क्रमका ब्याट्सम्यान तिलक भण्डारीसँग ३७ बलमा ३७ रनको साझेदारी गरे । तिलकले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

ad
ad