
दैलेख र कालीकोटको सिमानामा रहेको महावु क्षेत्रमा मंसिर पहिलो साताबाट हिउँ पर्न सुरु हुन्थ्यो। करिब चार हजार पाँच मिटरसम्म उचाइ रहेका यहाँका पहाडहरू हिउँले ढाकेसँगै बर्सातको सुरुवात हुन्थ्यो। वर्षा भएसँगै किसानले लगाएका गहुँ बाली र अन्य बालीनाली उत्पादनमा वृद्धि हुन्थ्यो।
विगत पाँच वर्षयता दैलेखमा बर्सातको समय बदलिएको छ। विगतमा जस्तो आवश्यक समयमा पानी पर्दैन। किसानले पानी पर्ने समयको ख्याल गरेर खेतबारीमा अन्नपात लगाउने प्रचलन रहँदै आएको छ।
यो वर्ष झन् समस्या हुने देखिएको छ। माघको पहिलो साता सकिनै लाग्दासमेत हिउँ परेको छैन। सेतो हिउँले टलक्क टल्कने पहाडी भेगका हिमाल अहिले फुस्रा देखिएका छन्।
दैलेखमा माघको पहिलो सातासम्म पनि पानी नपरेपछि यहाँका स्थानीयले महावु थानमा पूजापाठसमेत गरेका छन्। गहुँ बालीलगायतका तरकारी र अन्य खेती गरेका किसान पानी नपरेपछि चिन्तित बनेका छन्।
जलवायु परिवर्तनको असरले यस्तो समस्या भएको सहजै विश्लेषण गर्न सकिन्छ। जलवायु परिवर्तनको असरले निम्त्याएको समस्या समाधानका लागि सरकारले पहाडी क्षेत्रहरूमा पनि प्रभावकारी कामको थालनी गर्नुपर्ने माग स्थानीय बासिन्दाहरूले राख्दै आएका छन्।