१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मेलम्चीको पानी पुन: वितरण

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१६:oo

पहिलो दिन १४ करोड लिटर वितरण : साढे दुई लाख धारामध्ये ७० हजार धारामा पुग्यो पानी, केही दिनमै ३० करोड लिटर पानी वितरण हुने, कुनै प्राविधिक कठिनाइ नआए उपत्यकामा पानी अभावको समस्या अन्त्य हुने

बहुप्रतीक्षित मेलम्ची आयोजनाको पानी पुनः वितरण हुन थालेपछि उपत्यकामा पानीको अभावको समस्या अन्त्य हुने विश्वास पलाएको छ । तर, पुरानै संरचनामा वितरण गर्नुपर्ने बाध्यताले केही प्राविधिक कठिनाइ पनि आउन सक्ने जोखिम भने कायमै छ । 

उपत्यकामा करिब सात महिनापछि मेलम्चीको पानी पुनः आएको छ । मेलम्चीको १७ करोड लिटर पानीमध्ये उपत्यकामा सोमबार करिब १४ करोड लिटर वितरण भएको छ । 

उपत्यकामा रहेको करिब साढे दुई लाख धारामध्ये सोमबार ७० हजार धारामा पानी पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार सोमबार शंखमूल, शान्तिनगर, अनामनगर, बबरमहल, न्युरोड, खुमलटार, प्रयागपोखरी, बटुकभैरव, चापागाउँ दोबाटो क्षेत्र, लगनखेल, एकान्तकुनालगायत क्षेत्रका धारामा पानी वितरण भएको छ । बाँकी सबै धारामा पानी पुग्न एक साता लाग्नेछ । 

‘बिजुलीजस्तो एकपटक स्विच अन गर्दा सबैतिर एकैपटक बले जसरी पानीको वितरण हुने होइन । ओरालो क्षेत्रमा पानी छिटो पुग्छ । उकालोमा ढिला पुग्छ । त्यसैले, सबैतिर मेलम्चीको पानी पुग्न अझै साता दिन लाग्ला,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हामीले चक्रपथभित्रका केही ठाउँमा बाहेक सबैतिर पुरानै वितरण सञ्जालबाट पानी वितरण गरिरहेका छौँ । पानीको भोलुम बढ्नेबित्तिकै हाम्रो पुरानो वितरण सञ्जालमा समस्या आउने हुनाले मर्मत गर्दै वितरण गरिरहेकाले पनि केही समय लाग्नेछ ।’

मेलम्चीबाट आएको १७ करोड लिटर पानी र केयुकेएलले विभिन्न स्रोतबाट संकलन गर्दै आएको पानी गरी अब उपत्यकामा करिब ३० करोड लिटर पानी वितरण हुने भएको छ । यसले उपत्यकामा पानीको अभावको समस्या अन्त्य भई फालाफाल हुने अवस्था आउने कार्कीले बताए ।

‘उपत्यकामा करिब ४० करोड लिटर पानीको माग छ । यो भनेको ३५/३६ करोड पानीको माग हो । हाल केयुकेएलले विभिन्न माध्यमबाट करिब १२ देखि १३ करोड लिटर पानी संकलन गरेर वितरण गरिरहेको छ । र, मेलम्चीबाट आएको १७ करोड लिटर पानी आउँछ । यसले गर्दा अब उपत्यकामा पानीको समस्या रहँदैन,’ कार्कीले भने ।

मेलम्चीको पानी आउन छाडेपछि केयुकेएलले भूमिगत पानीका स्रोतहरू जस्तै : बोरिङ, ट्युबेल र धाप ड्यामको पानी प्रशोधन गरेर उपत्यकावासीलाई वितरण गर्दै आएको छ । केयुकेएलले मंगलबार नै बैठक बसेर बुधबारदेखि नै पानी वितरण कार्यतालिकामा पनि परिवर्तन गर्ने भएको छ । हाल सातादेखि १० दिनमा एकपटक पानी वितरण हुने ठाउँमा एक वा दुई दिनमा पानी वितरण हुनेछ । एक वा दुई दिनमा चारदेखि पाँच घण्टासम्म पानी वितरण हुने केयुकेएलले जनाएको छ । 

पाँच सय किलोमिटर मात्र नयाँ वितरण सञ्जाल तयार 
योपटक पनि धेरैजसो पुरानै वितरण सञ्जालबाट पानी वितरण भइरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक हजार १० किलोमिटरमध्ये हाल पाँच सय किलोमिटर नयाँ वितरण लाइनको मात्र परीक्षण भएको छ । 

‘नयाँ वितरण सञ्जाल तयारी अवस्थामा छ । पानी अभावका कारण नयाँ वितरण लाइन परीक्षण हुन सकेको छैन । मेलम्चीको पानी आएसँगै नयाँ वितरण लाइनको पनि परीक्षण हुनेछ,’ आयोजना निर्देशक राजेन्द्र सापकोटाले भने, ‘आगामी असारसम्म नयाँ वितरण लाइनको परीक्षण गरी केयुकेएललाई हस्तान्तरण गछौँ ।’ हाल तयार भएको नयाँ वितरण सञ्जालमा कुनै समस्या छैन । 

काठमाडौं उपत्यकामा करिब सात महिनापछि मेलम्चीको पानी पुनः आइपुुगेको छ । गत २७ र २८ साउनमा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो । बर्खा सुरु भएसँगै मेलम्ची खानेपानी विकास समितिले (असार पहिलो सातादेखि) मेलम्चीको पानी बन्द गरेको थियो । यसअघि, ०७८ को १ असार र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । 

उपत्यकामा मेलम्चीको पानी ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थितिबाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो । समयमै काम सक्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो । 

अब बाह्रै महिना पानी आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबदेखि मेलम्चीको पानी उपत्यकामा बाह्रै महिना आउने बताएका छन् । सोमबारदेखि सुरु भएको मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले आयोजना दिगो रूपमा सञ्चालन गर्ने गरी काम गरिरहेको बताए । 

‘मेलम्ची खानेपानी आयोजनालाई दिगो रूपमा सञ्चालन गर्ने विषय सरकारले उच्च प्राथमिकतामा राखेको छ । दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनर्निर्माणको काम गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई बाह्रैै महिना सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिन चाहन्छु । उपत्यकाको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै सुरक्षित तथा दिगो रूपमा खानेपानी वितरण गर्न सरकार प्रतिबद्ध छ ।’ 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको हेडवर्क्स निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको यांग्री र लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए । ‘मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको यांग्री तथा लार्के नदी डाइभर्सनको कार्य अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ उनले भने । 

दुईतर्फी सहयोग होओस् भन्ने हाम्रो चाहना–हेलम्बु गाउँपालिका 
उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले उपत्यकावासीलाई बधाई दिँदै सहयोग दुईतर्फी हुनुपर्ने बताएका छन् । ‘उपत्यकावासीलाई बधाई ! लामो समयको पर्खाइपछि पानी आएको छ । अब पानी आएपछि सिन्धुपाल्चोक हेलम्बु भेगलाई बिर्सनेभन्दा पनि यस भेगको विकासका लागि उपत्यकाका जनप्रतिनिधि, संघीय सरकारलगायत सबैको ध्यान जाओस्,’ अध्यक्ष ह्योल्मोले भनेका छन्, ‘काठमाडौंवासीलाई पानी दिने कुरामा कुनै द्विविधा छैन, तर दुईतर्फी सहयोग होओस् भन्ने हाम्रो चाहना छ । हेलम्बु बाढीले थिल्थिलिएको अवस्था छ । तसर्थ, सबै बाटोहरू कालोपत्रे गर्न र खोलाका कारण बस्तीको जोखिमजस्ता हाम्रा  समस्या समाधान गर्न त्यसबाट विकासमा लम्कन हाम्रो भेगलाई अझै समय लाग्छ, त्यसमा सहयोग मिल्ने आशा छ ।’ 

उनले उपत्यकाले जलाधार क्षेत्र संरक्षणलगायत अन्य समस्या र जोखिम न्यूनीकरणमा ध्यान दिएर काम गर्न सहयोग गर्नेमा आफू विश्वस्त भएकोसमेत बताए । हेलम्बुले पहिलोपटक ०७७ चैतमा मेलम्चीको पानी उपत्यका पठाउँदादेखि नै यस्ता कुराहरू उठाउँदै आएको छ । तर, उनीहरूको माग सम्बोधन हुन सकेको छैन । 
 

ad
ad