१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सवारी दुर्घटनाको त्रासदी : दुई दिनमा ६ दुर्घटना, २२ को मृत्यु 

कमजोर सडक पूर्वाधार, चालकको लापरबाही, तीव्र गति, क्षमताभन्दा धेरै यात्रु र फितलो सडक अनुगमन दुर्घटनाका कारण

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३७:oo

सडक दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक, हरेक दुर्घटनामा मृतक र घाइतेको संख्या गनेर बस्ने राज्यसँग द्रुत उद्धार संयन्त्र अभाव

- दाङमा शनिबार बस दुर्घटना : १२ को मृत्यु, २४ घाइते
- चन्द्रागिरि दुर्घटना : ५ को मृत्यु
- बागलुङ जिप दुर्घटना : २ को मृत्यु
- काठमाडौंमा मोटरसाइकल दुर्घटना : १ को मृत्यु
- झापामा मोटरसाइकलको ठक्कर : साइकल यात्रीको मृत्यु
- दोलखामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

सडक दुर्घटनाको त्रासदी हाम्रो दैनिकी र नियति बनेको छ । शुक्रबार र शनिबार मात्रै देशका विभिन्न स्थानमा भएका दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ६ वटा दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । 

दाङको राप्ती गाउँपालिका– १ पुल्चोकस्थित राप्ती नदीको पक्की पुलमा नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार १२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका– १ पुल्चोकमा ट्राफिक प्रहरीको ‘चेक प्वाइन्ट’ छ । चेक प्वाइन्टमा हुने इन्ट्रीलाई छलेर तीव्र गतिमा पुल पार गर्न खोज्दा शुक्रबार राति साढे १० बजे यात्रुबाहक बस दुर्घटनामा पर्‍यो । 

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे.१ख ३९१२ नम्बरको रात्रिबस राप्ती पुलबाट राप्ती नदीमा खसेको थियो । दुर्घटनामा २४ जना घाइते भएकामा तीनजना डिस्चार्ज भइसकेका छन् । आठजनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सातजनाको घटनास्थलमै र पाँचजनाको उद्धारपछि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए । गाडी आधा पानीमा र आधा बाहिर थियो । त्यसैले पछिल्ला सातजनाको शव निकाल्न करिब डेढ घन्टा ढिला भएको थियो । जेसिबी ल्याएर गाडी निकालेपछि मात्रै शव निकालिएको थियो ।

‘इन्ट्री नगरेर तीव्र गतिमा गाडी जाँदा अनियन्त्रित भएर दुर्घटना भएको निष्कर्ष निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले भने, ‘चालकले सपट बिग्रिएर दुर्घटना भएको बयान दिए पनि हामीलाई त्यस्तो लाग्दैन । नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्र गति लिएकाले दुर्घटना भएको निष्कर्ष छ ।’ चालक लालबहादुर नेपाली प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेका चारजना र भारतका तीनजना छन् । त्यसैगरी, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका– ३ का सञ्जय केसी, नेपालगन्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, कोहलपुर– ८ का २८ का अर्पण थापाका रहेका छन् । त्यस्तै, रुकुम गोतमकोट गाउँपालिका– ९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुरका ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत छन् । यसैगरी, भारत बिहारका ६७ वर्षीय जोगेन्द्र राम, बहराइज नानपारा बग्लु, भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वामपन्थी चिन्तक पाण्डेयको निधन
दाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेको निधन भएको छ । प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । उनका भूमिका र मूल्यांकन, प्रगतिवाद र कविता, देवकोटाको व्यङ्ग्य व्यक्तित्व, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध, अर्थको आनन्द, समय र सिर्जना जस्ता कृति प्रकाशित छन् । उनी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुल विभाग सदस्य थिए । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रमबाट शुक्रबार काठमाडौं फर्कँदै थिए ।  

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शनिबार दिउँसो भएको कार दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । चन्द्रागिरि– ४ मा काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको निजी गाडी हिमचुली सेतो पहरा भन्ने ठाउँमा दुर्घटना भएको हो । 

दुर्घटनामा कारचालक डा. महेशकुमार गौतम, ६७ वर्षका ओमकारनिधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी, ६ वर्षीया स्मारिका गौतम र चार वर्षका प्रियांश गौतमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए । 

बाग्लुङ ढोरपाटन नगरपालिका– ५ ट्याङखोलामा बुर्तीबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध.१ज १९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । चालक ढोरपाटन नगरपालिका– ४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्तीमगर र जिपमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका– १० सतुंगल बस्ने २८ वर्षीया संगीता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ । साथै, दुर्घटनामा नौजना घाइते भएका छन् । 

काठमाडौं नागार्जुन नगरपालिका– ४ बाफस्थित सोल्टी दोबाटोनजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीय रविनकुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको हो ।

झापा झापा गाउँपालिका–५ स्थित सडकमा बा.४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखा जिरी नगरपालिका– ४ सिउरेनीमा लु.३त ६८८२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका– ४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दैनिक सातको मृत्यु
दुर्घटना न्यूनीकरणका लागि राज्यको उदासीनताले सडक दुर्घटनामा नेपालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक औसतमा सातजनाले ज्यान गुमाउँछन् ।

ad
ad