१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कामको खोजीमा भारततर्फ लागेका युवा नेपालगन्जको जमुनाहा नाकामा 
२o८१ बैशाख २० बिहीबार o६:२७:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नाकामा कालापहाड जानेको लस्कर

युवाविहीन बन्दै हुम्लाका गाउँ, रोजगारीको खोजीमा एक सातामै हजारभन्दा बढी युवा भारततर्फ, नेपालगन्ज नाकाबाट मात्र दैनिक बाहिरिन्छन् १२ सय नेपाली

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२७:oo

‘बिहानदेखि बेलुकासम्म दैनिक सरदर हजारदेखि १२ सयसम्म नेपाली कामको खोजीमा भारत गइरहेका छन्,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक नवीन रिजालले भने, ‘धेरैजसो नेपाली सपरिवार भारत गएको देखिन्छ ।’

पश्चिम पहाडी जिल्लाका पुरुषहरू घरपरिवार धान्न मजदुरीका लागि भारत जानुपर्ने बाध्यता नयाँ होइन । तर, अब त गाउँमा युवा नै रित्तिने गरी मजदुरीका लागि कालापहाड लाग्नुपर्ने अवस्था निम्तिएको छ । कालापहाड जाने भन्दै देशका पश्चिमी नाकाहरूमा देखिने युवाहरूको लावालस्कर र गाउँबस्तीमा युवा खोेज्दा नभेटिने अवस्थाले यसलाई पुष्टि गर्छ । 

चरम आर्थिक मन्दीका कारण परिवारको दैनिक गुजारा चलाउन केही पैसा कमाउने आशामा हिमाली जिल्ला हुम्लाका अदानचुली र चंखेली गाउँपालिकाका सयौँ युवा कालापहाड हिँडेपछि गाउँहरू युवाविहीन बनेका छन् । हिउँदे खेती लगाएर तीनमहिने मजदुरीका लागि कालापहाड जाने युवा अत्यधिक छन् । पुसको सुरुदेखि दैनिक १०–१२ जनाको संख्यामा युवाले गाउँ छाडेका थिए । अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा बिरलै भेटिने गरेको अदानचुली गाउँपालिका– २ का भक्त बुढाले बताए । उनका अनुसार एक सातायता अत्यावश्यक कामले रहेकाबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल पर्छ । ‘गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा गुजारा चलाउन बाध्य भएर भारत जानुपरेको हो,’ बुढाले भने, ‘अहिले गाउँमा कसैको मृत्यु भए पनि शव उठाउने युवा पाउनै मुस्किल छ ।’ अदानचुली– २ बाट झन्डै सयको संख्यामा युवा भारत गएको उनले बताए ।

गत १० पुसमा कर्णाली क्षेत्रको स्थानीय चाड मनाएपछि एक सातामै हजारभन्दा बढी युवाले गाउँ छाडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कवाडी प्रहरी चौकीले जनाएको छ । ‘गत एक सातामा गाडी र पैदल हिँडेर भारत जानेको संख्या बढी देखियो,’ त्यहाँका एक सुरक्षाकर्मीले भने, ‘चेकजाँच र सोधीखोजी गर्दा गाडी र पैदलमार्फत गएका सबैले भारत जाने भने । युवाको भिड थामी नसक्नु देखियो ।’

हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही रकम जोहो गर्ने गरेका यहाँका युवाका लागि एक वर्षयता विकास निर्माणका काम ठप्प भएपछि झन्डै दुई दशकपछि पहिलोपटक यति ठूलो संख्यामा बाहिरिएको स्थानीय बताउँछन् । अदानचुली– ५ का रामबहादुर छत्यालले भने, ‘गाउँमा रोजगारी नहुनु, गाउँपालिकाले भएका योजनाको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा रकम फ्रिज हुनुलगायत कारण अदानुचलीका युवाले भारत रोजेका हुन् ।’ 

गत वर्षहरूमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा पाँच–सातजना कालापहाड जाने गरे पनि यस वर्ष जानेको संख्या अप्रत्याशित ढंगले वृद्धि भएको अदानचुली– २ स्थित मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले जानकारी दिए । केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा–भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी रिजर्भ गरेका युवाले दुई–तीन महिनाको गन्तव्यका रूपमा कालापहाड रोजेका छन् । १३ पुसमा पाँच सय जति युवा कालापहाड लागेको बुढाले बताए । ‘कर्णाली करिडोरमा अस्थायी रूपमा चलेका जिपमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै थिए । कुनै–कुनै जिपले दोहोरो–तेहोरो गरेर बेलुका अबेरसम्म पनि ओसारे । आफूसँग गाडीभाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि गएका थिए,’ उनले भने ।

गाडीभाडा पनि जोहो गर्न नसक्नेहरू कर्णाली र भेरी करिडोर हुँदै पैदलै गएका हुन् । अदानचुली– ३ मकैगाउँका अंकल रोकायाले गाउँभर खोज्दा पनि गाडीभाडा नपाएपछि पैदलै बाजुराको मार्तडी पुगेको बताए । गाउँमा काम नभएकाले कालापहाड गई काम गरेर घरपरिवार खर्च चलाउन सकिन्छ कि भनेर भारत हिँडेको रोकायाले बताए । ‘नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको हाम्रो टोली गाडीभाडा पनि नपाएपछि तीन दिनको पैदल बाटो हुँदै बाजुरा सदरमुकाम मार्तडी पुगेको हो,’ उनले भने, ‘एक रात एक दिनमा मार्तडी पुग्यौँ । अब यहाँबाट सीमामा पुग्न दुई दिन लाग्छ होला ।’

जनप्रनिधिबीचको विवादले विकासका काम ठप्प हुँदा पनि युवाहरू कालापहाडतिर
एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुधे भण्डारी भन्छन्– ०६२/६३ यता गाउँबाट सबैभन्दा धेरै युवा भारत गए गाउँमा विकास निर्माणका काम हुँदा युवाहरूले पनि रोजगारी पाउँछन् । तर, हुम्लामा जनप्रतिनिधिबीचको विवादले विकास निर्माण ठप्प हुँदा बेरोजगारी बढाएको छ ।

गत वर्ष गाउँमा आएका विकासका योजनामा काम गरेर परिवारका सदस्यलाई लुगाफाटो किन्ने, छोराछोरीको कापी–किताबको जोहो गरेका स्थानीय यसपटक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण योजनाको रकम फ्रिज भएपछि रोजगारीको गन्तव्य कालापहाड रोजाइमा परेको बाँच्या रोकाया बताउँछन् । ‘चालू आर्थिक वर्षको ६ महिना बितिसक्यो । कुन योजना परेको छ, कति बजेट छ भन्ने जानकारी छैन । अध्यक्ष, उपाध्यक्ष, एक वडाध्यक्ष (वडा नम्बर ६ नम्बरबाहेक) सबै सुर्खेत गएका छन् । पालिकाका सबै कार्यालय बन्द छन् । त्यहाँबाट अब केही हुन्छ कि भन्ने विश्वास नलागेपछि काम खोज्न भारत हिँडेका हौँ,’ उनले भने ।

गाउँको सरकार भनिने स्थानीय तहले सामान्य कामलाई भन्दा प्रदेश तथा स्थानीय सरकारले गर्ने सडक निर्माणमा सबै बजेट विनियोजन गर्नु र भएको सबै बजेट डोजर मालिकले लिने गरेकाले पनि स्थानीय कामविहीन बनेका छन् । ‘स्थानीय युवाको आर्थिक उपार्जनको माध्यम बनेको संघ, प्रदेश र गाउँपालिकाका योजनामा गत वर्षदेखि काम गरे पनि ज्याला नपाएका कारण गाउँमा थप आर्थिक संकट पर्‍यो,’ अदानचुली– ४ का बलबहादुर बुमीले भने, ‘गत आर्थिक वर्ष ०७९/८० मा मात्रै अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण काम सम्पन्न भएका ६ करोड बजेटका ३६ भन्दा धेरै योजनाको रकम भुक्तानी नभएर फ्रिज भयो । कुनै विकल्प नदेखेर घरको गर्जो टार्न युवाहरू भारत छिर्न बाध्य भएका हुन् ।’ 

एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुधे भण्डारी ०६२/६३ को आन्दोलनयता सबैभन्दा बढी युवाले यस वर्ष गाउँ छाडेको बताउँछन् । राजनीतिक स्थिरता कायम भएपछि गाउँको विकास तीव्र होला, गाउँमै रोजगारी सिर्जना होला भन्ने सोचेका युवाले २० वर्षसम्म पनि कुनै परिवर्तन नदेखेपछि कालापहाडलाई अस्थायी गन्तव्य रोजेको उनको भनाइ छ । ‘गाउँमा नयाँ रोजगारीको सिर्जना त परै जाओस्, करारमा नियुक्त गरिएका कर्मचारीले समेत तलब पाएका छैनन् । यिनै कारण सर्वसाधारणको गन्तव्य भारत बनेको छ,’ उनले भने, ‘जिल्लाका विभिन्न कार्यालयले विगतमा योजनाका काम समयमै सञ्चालन गर्थे, तर अहिले ती सबै काम स्थानीय सरकारमातहत हुने गरेका छन् । स्थानीय सरकारका प्रमुख–उपप्रमुखबीचको तिक्तताले काम ठप्प भएपछि धेरै युवाको रोजाइ कालापहाड बन्यो । गाउँपालिका आफैँले नियुक्ति गरेका कर्मचारीले तलब नपाउनु, बालभत्ता, सामाजिक सुरक्षाभत्ता पनि समयमा वितरण नगर्नुले अल्पकालीन उपायको खोजीमा युवाहरू गाउँ छोड्न बाध्य भएका हुन् ।’ युवाहरू विदेश हिँडेपछि गाउँमा मलामी जाने मान्छे नपाइने अवस्था आएको भण्डारीले बताए । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीचको विवादले प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी पनि रनभुल्ल छन् । करार कर्मचारीको टुंगो लगाउन नसक्नु, समयमा कार्यपालिका बैठक नबस्नु, गाउँसभा बस्न नसक्नुका कारण पालिकाको बजेट कार्यान्वयनमा नआएपछि स्थानीयमा आर्थिक संकट परेको गल्बा बहुमुखी क्याम्पसका प्रमुख रणसुर रोकाया बताए ।

स्थानीय तहमा आएको बजेट व्यक्तिकेन्द्रित र नेतामुखी भएर सर्वसाधारण बेरोजगार भएपछि गाउँ छोड्ने युवाको संख्या दैनिक बढ्दै गएको नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य नवराज महताराले बताए । ‘गाउँमा आएको बजेट नेताको स्वामित्वमा रह्यो, युवाहरू बेरोजगार छन्, गाउँमा आर्थिक मन्दी छ, खर्चको जोहो गर्न समस्या भएपछि हरेक दिन कालापहाड जानेको संख्या बढेको हो,’ उनले भने । अदानचुली गाउँपालिकामा ९० प्रतिशत काम भएका ३६ वटा योजनाको ६ करोड बजेट फ्रिज भएको उनले बताए । 

रोजगारीका लागि भारतमै बित्छ जीवन
कैलालीको त्रिनगर नाका

सुर्खेतको पञ्चपुरी नगरपालिका– ९ का भक्तबहादुर गुरुङ बुधबार बेलुकी त्रिनगर नाका भएर भारत पस्दै थिए । ५० वर्षीय गुरुङ रोजगारीका लागि यसरी भारत छिर्न लागेको तीन दशक बितेछ । केही महिनाअघि मात्र स्वदेश आएका उनले भारतको मुम्बईस्थित जुस उत्पादन गर्ने कम्पनीको काममा फर्कन लागेको बताए, जुन कम्पनीमा उनी २६ वर्षदेखि कार्यरत छन् ।

जुस उत्पादन गर्ने समय सुरु हुन लागेकाले आफू काममा फर्कन लागेको उनले बताए । गुरुङका अनुसार हरेक वर्ष गर्मीयाम सकिन लागेपछि उनी घर आउँछन् । गर्मीयामका लागि जुस उत्पादन सुरु हुने वेला काममा फर्कन्छन् । ‘त्यही कम्पनीमा काम गर्न लागेको २६ वर्ष भयो,’ उनले भने, ‘अब गर्मी सिजनका लागि जुस उत्पादनको काम सुरु हुने भएकाले काममा जाँदै छु ।’

वर्षमा केही महिना काम गरेर परिवारको गुजारा चलिरहेको गुरुङले बताए । श्रीमती, तीन छोराछोरी घरमा छोडेर बिदेसिन लागेका उनको अनुहार मलीन थियो । उनले भने, ‘त्यति काम आफ्नै देशमा पाएको भए किन परदेश जानुपर्थ्यो ?’ 

कैलालीको घोडाघोडी नगरपालिकाको सुखडका प्रेम नेपाली आफ्नी श्रीमतीसहित कामको खोजीमा भारतको रत्नागिरी जाँदै थिए । त्यहाँ आँपको बगैँचामा बाँदर धपाउने काम गर्ने उनले बताए । १२ कक्षामा पढ्ने छोरालाई घरमा एक्लै छाडेर पैसा कमाउन जान लागेको उनले सुनाए । ‘घरमा छोरा एक्लै बस्न सकिहाल्छ भनेर बुढाबुढी नै जाँदै छौँ,’ त्रिनगर नाकामा भेटिएका नेपालीले भने, ‘केही महिना काम गरेर फर्कने हो ।’ छोरालाई घरमा एक्लै छाडेर जाने रहर नभई बाध्यता भएको उनले बताए ।

भक्तबहादुर र प्रेमजस्तै जीवन निर्वाहको बाध्यताले रोजगारी खोज्न पश्चिमी नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली भारत गइरहेका छन् । त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार यो नाकाबाट मात्र हिजोआज दैनिक करिब पाँच सय नेपाली कामको खोजीमा भारत जाने गरेका छन् । भारतमा सार्वजनिक यातायात चालकको आन्दोलनका कारण गाडी नचलेपछि तीन दिनदेखि त्रिनगर नाकाबाट नेपालीहरू भारत जान पाएका थिएनन् । पारि सार्वजनिक यातायात सुरु भएपछि बुधबार बेलुकाबाट कामको खोजीमा नेपाली भारत जान थालेको त्रिनगर नाकाको सशस्त्र प्रहरी पोस्टले जनाएको छ । दैनिक ५–६ सयजना भारत गइरहेका त्रिनगर नाकामा कार्यरत सशस्त्र प्रहरीका सइ उपेन्द्र ठकुराठीले बताए ।

कामको खोजीमा जमुनाह नाकाबाट दैनिक हजार नेपाली भारत लाग्छन्
पश्चिम रुकुमको मुसिकोट नगरपालिका– ९ सुहाँराका ४२ वर्षीय टोपबहादुर परियार बुधबार नेपालगन्जको जमुनाह नाकामा भेटिए । जाजरकोट केन्द्र भएर गएको भूकम्पमा उनको घर भत्केको छ । तर, उनले अहिलेसम्म राहत पाएका छैनन् । घर बनाउने पैसाको जोहो गर्न उनी भारतको सिम्ला पहाड जान हिँडेका हुन् । ‘नेपालमा बसेर घर बनाउन नसकिने भयो । पैसा कमाउन भारतको सिम्ला पहाड जाने निधो गरेँ,’ उनले भने, ‘नेपालमा नियमित रूपमा काम पाइँदैन । काम पाए पनि उचित ज्याला पाइँदैन । भारत नगए घर नबन्ने भन्ने लागेपछि कामको खोजीमा भारत जान बाध्य भएँ ।’

आफ्नो देश छाडेर भारत जानुपर्दा मन दुखेको उनले बताए । आफ्नो देश, परिवार र समाज छाडेर जाँदा नमज्जा लागेको बताउँदै उनले नेताका कारण देशमा आर्थिक संकट निम्तिएको बताए । ‘आफ्नो देश छाडेर जाने रहर होइन, बाध्यता हो,’ उनले भने, ‘देशका नेताले राम्रो काम गरेको भए काम खोज्दै बाहिर जानुपर्ने थिएन । नेताका कारण हामीले दुःख खेप्नुपरेको छ ।’

सोही ठाउँका ६५ वर्षीय टसबहादुर बुढा पनि जमुनाह नाका हुँदै सिम्लातर्फ गएका छन् । भारी मन लिएर भारत जाँदै गरेका उनको घर बनाउने धोको छ । भूकम्पले उनको घरमा पनि क्षति पुगेको छ । ‘घर बनाउन कतैबाट सहयोग पाइएन । भारत गएर कमाउने शिवाय अरू उपाय भएन,’ उनले भने, ‘गरिबको दुःख न त केन्द्र सरकारले बुझ्यो, न स्थानीय सरकारले नै सुनुवाइ गर्‍यो ।’

जुम्लाको गोठीचौर गाउँपालिका– २ मुरुल्लीका भक्तबहादुर बुढा आमासँगै भारत गए । कृषि पेसामा निर्भर उनको परिवार हरेक वर्षको हिउँदमा उतै जान्छ । ‘जुम्लामा उत्पादित वस्तुले बजार पाउँदैन । काम पनि पाउन मुस्किल छ । ज्याला पनि एकदमै थोरै पाइने भएकाले भारत नगई सुखै छैन,’ उनले भने, ‘आफ्नो देश छाडेर जान कसलाई पो मन लाग्दो हो?’

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका– १२ खुलीबार्खुका खलबहादुर पनि पत्नीसँगै भारतको सिम्ला गएका छन् । नेपालमा काम नपाइने भएकाले भारत जान थालेको भनाइ उनको पनि थियो । सिम्लास्थित एक बजारमा सामान ढुवानीको काम गर्न सिम्ला जान लागेको उनले बताए । सामान ढुवानी गरेर दैनिक सरदर सात सय रुपैयाँ हुने गरेको उनले बताए । ‘सिम्लामा कामका हर्जा हुँदैन । जति धेरै काम गर्न सक्यो, उति धेरै कमाइ हुन्छ । काम गर्न सक्नेले दैनिक १२ सय भारु पनि कमाउँछन्,’ उनले भने । 

ad
ad