मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २७ शुक्रबार
  • Monday, 16 December, 2024
श्रवण थापा सर्लाही
२o८o पौष २७ शुक्रबार o८:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाल यौनशोषण मुद्दामा बम्जन पुर्पक्षका लागि थुनामा 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o पौष २७ शुक्रबार o८:२९:oo

तपस्वी रामबहादुर बम्जन भनिने रामलाल बम्जन बाल यौनशोषण मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपश्चात् बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै महोत्तरीस्थित जलेश्वर कारागार चलान गरिएको हो । उनलाई अन्य कैदीबन्दीको साथ नै कारागारमा राखिएको जलेश्वर कारागारका प्रमुख जेलर रामचन्द्र साहले बताए । जलेश्वर कारागारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा छ ।

जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार सदन अधिकारीका अनुुसार थप प्रमाण बुझ्दै जाँदा दोषी ठहरिएबमोजिम हुने भएकाले तत्काललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न सिदा खान पाउने गरी नजिकैको कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनु भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको हो । जिल्ला अदालत सर्लाहीले तपस्वी बम्जनलाई ०८० माघ ७ गतेका लागि साक्षी बकपत्रको तारेख तोकेको छ । प्रतिवादीका तर्फबाट पाँचजना अधिवक्ताले बहस गरेका थिए ।

अदालतमा बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अनन्त न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलीपकुमार झा, महनिधि सेढाईं र अमृतकुमार लामाले बहस गरेका थिए । बहसमा अभियुक्त तपस्वी बम्जनले आरोप अस्वीकार गरे पनि दसी–प्रमाण तथा पीडितको बयानसमेतलाई आधार मान्दा बम्जनलाई अहिले नै कसुरदार होइन भनिहाल्ने अवस्था नदेखिएको आदेश पत्रमा उल्लेख छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६ स्थित निवासबाट पक्राउ परेको थियो । पक्राउ परेका बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता भएपछि बिहीबार थुनछेक बहस भएको हो । 

बम्जनले सर्लाहीको लालबन्दी नगरपालिका– १२ स्थित आश्रममा रहेको वेला नाबालिका अनुयायीमाथि यौनशोषण गरेको आरोप छ । बाराको निजगढ नगरपालिका– १२ घर भएका बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीले १० देखि १२ वर्षसम्मको कैद सजाय मागदाबीसहित मिसिल सरकारी वकिलको कार्यालयमा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलगत्तै प्रहरीले उनले बस्दै आएका विभिन्न स्थानको आश्रममा छापा मारेको थियो । तैपनि उनी पक्राउ पर्न सकेका थिएनन् । तपस्वी बम्जनविरुद्ध आफ्नै बाल अनुयायीमाथि यौनशोषण गरेको आरोपमा २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितको जाहेरी परेको थियो । प्रहरीले अनुसन्धान सम्पन्न गरेर १८ असार ०७७ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल दर्ता गरेको थियो । 

तपस्वी बम्जनविरुद्ध दायर मुदामा पीडितले २० साउन ०७३ को राति ९ बजेर २० मिनेटको समयमा आश्रम स्थलमै आनी बनेर बसेको वेला विभिन्न किसिमको प्रलोभन देखाई भान्सा कोठामा सुतिरहेको वेला जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र डर, धाक, धम्की देखाई पटक–पटक यौनशोषण गरेको बयान दिएकी थिइन् । घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।