१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कृषि क्षेत्रको बजेट पाँच प्रतिशत पुर्‍याउन संसदीय समितिले पहल गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३१:oo

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् । समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको जानकारी गराएपछि सभापति राणाले बजेट बढाउन पहल गर्ने प्रतिबद्धता जनाइन् । बजेट बढाउन समितिले अर्थ मन्त्रालयमा अनुरोध गरेर पत्र पठाउने उनको भनाइ थियो । 

‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि यो लगानी हो, पाँच रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ, पैसा हाल्नुस्,’ उनले भनिन्, ‘कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेका छन्, त्यसका लागि कम्तीमा पनि पाँच प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छाैँ, समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ ।’ 

बैठकमा कृषिमन्त्री भुसालले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्वि गर्नुपर्ने र यसका लागि कृषिमा भएका समस्या निराकरण गरेर जानुपर्ने बताए । कृषिको आधुनिकीकरणका लागि प्राविधिक जनशक्तिको अभाव रहेको र मन्त्रालय अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको जानकारी मन्त्री भुसालले दिएका थिए । सभापति राणाले संविधानको भावना र भोगाइबाट सिकेर ओएमएन गर्न अनुरोध गरिन् । ‘प्राविधिक नियामक विज्ञहरू केन्द्रबाट हुने र सेवा प्रवाह प्रदेश र स्थानीय तहबाट हुने गरी व्यवस्थापन होस्,’ उनले भनिन् । 

मन्त्री भुसालले १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र पाइपबाट नदी प्रणाली जोड्नुपर्ने धारणा राखेका थिए । सभापति राणाले बाँझो जमिनमा गाँजाखेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राखेकी थिइन् । ‘बाँझो जमिनमा के गर्ने भन्ने कुरामा गाँजामा अनुसन्धान गर्नेहरूले प्रस्ताव गरिरहेका छन् । समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ । केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौँ,’ उनले भनिन् । 

बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सकलाई भारत पठाइने
कृषि समितिले किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सकलाई भारत पठाउने भएको छ । यसका लागि सभापति राणाले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन् । भारतीय दूतावासले समितिको अनुरोध स्वीकार गर्दै हिमाञ्चल प्रदेशमा बाँदर नियन्त्रणको प्राविधिक उपाय र बाँदरको बन्ध्याकरणबारे नेपाली भेटेरेनरी डाक्टरलाई तालिम दिने भएको हो । 

‘किसानको बाली र उत्पादन नष्ट गर्ने बाँदरलाई व्यवस्थापन गर्न नेपालका १० जना भेटेरेनरी डाक्टरलाई मास्टर तालिम र पाँचदेखि १० जना रेन्जर र वन्यजन्तु स्काउटलाई तालिमका लागि भारतको हिमाञ्चल प्रदेश पठाउँछौँ,’ सभापति राणाले भनिन्, ‘यसका लागि पशुपक्षी सचिव र वन मन्त्रालयको सचिवसँग कुरा भइसकेको छ । एक डेढ महिनाभित्रै टोली पठाउँछौँ ।’ 

विधेयकको दफावार छलफल समितिमै
समितिले प्रतिनिधिसभाबाट आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा दफावार छलफल मूल समितिमै गर्ने निर्णयसमेत गरेको छ । २५ भदौमा गठन भएको उपसमितिको समय सकिँदा पनि दफावार छलफल नभएपछि बुधबारको बैठकले मूल समितिमै छलफल अगाडि बढाउने निर्णय गरेको समिति सचिव शिवदत्त बरालले जानकारी दिए । 
 

टीकापुरमा अनुसन्धान केन्द्र
बैठकमा कृषिमन्त्री भुसालले माटो, बिउ, बाली र कृषि उपजको अनुसन्धानका लागि टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गरिने बताए । सांसद रूपा सोशी चौधरीले कृषिमा अनुसन्धान नहुँदा उत्पादन असर गरिरहेको भन्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा टीकापुरमा अनुसन्धान केन्द्र स्थापना गर्न माग गरेकी थिइन् ।

‘सुदूरपश्चिमको भूगोल उत्पादनको हिसाबले प्राकृतिक छ, तर राज्यको ध्यान पुगेन,’ उनले भनिन्, ‘कुन भूभागमा के फल्छ भनेर अनुसन्धान नहुँदा समस्या छ । उत्पादनमा असर परेको छ ।’ जवाफमा मन्त्री भुसालले टीकापुरमा अनुसन्धान केन्द्र खोल्ने गरी कार्ययोजना अगाडि बढिरहेको बताए । ‘जमिन पहिचान र वर्गीकरणका लागि ऐनमै व्यवस्था गर्न लागिरहेका छौँ,’ उनले भने ।

मन्त्री भुसालले पहिला खान पुग्ने गरी देशलाई उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । ‘त्यसपछि निर्यात गर्ने पाटो छँदै छ । कृषिलाई प्राथमिकता भन्ने, तर बजेट नदिँदा समस्या आयो । पहिलो प्राथमिकता उत्पादन नै हुनुपर्छ,’ उनले भने । 

बजेट बढाउन मद्दत गर्छौँ
डा. आरजु राणा देउवा सभापति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति 

कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । पाँच रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ । कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेका छन्, त्यसका लागि कम्तीमा पनि पाँच प्रतिशत बजेट सुनिश्चित गर्नुपर्छ र यसका लागि समितिबाट लबिङ गर्छाैँ । समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ । 
 

ad
ad