१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिँजा क्षेत्रमा घाम लागे मात्रै टेलिफोनको नेटवर्क 

३८ हजार बढी जनसंख्या सञ्चार सेवाबाट बञ्चित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४२:oo

सिँजा क्षेत्रमा घाम लागे मात्रै टेलिफोनको नटवर्क आउने गरेको छ । यो क्षेत्रमा झन्डै एक दर्जनजति टेलिफोनका टावर रहेका छन् ।  टेलिफोनका टावर भए पनि घाम लागेको समयमा मात्रै नेटवर्क आउने गरेको छ । घाम गएपछि र आकाशमा बादल भएपछि सबैका हातहातमा स्मार्ट मोबाइल सेट भए पनि नेटवर्क हुँदैन ।

जसका कारण खबर आदान–प्रदान नै हुन सकेको छैन । यो क्षेत्रका टावर सबै वैकल्पिक ऊर्जा सोलार प्रणालीबाट सञ्चालित छन् । दुई वर्षदेखि सोलारका ब्याट्री फेरिएका छैनन् । सबै सोलार ब्याट्री डाउन भइसकेकाले घाम लागे मात्रै नेटवर्क आउने गरेको हो । सिँजा क्षेत्रमा तीन गाउँपालिका रहेका छन् । हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक हरेक दिन झन्डै १२ घन्टा सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् । 

कनकासुन्दरीमा १३ हजार ६२५ जना, सिँजामा १२ हजार ५५६ जना र हिमा गाउँपालिकामा १२ हजार १९१ जना जनसंख्या सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् । अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पुर्‍याउन मान्छे नै दगुराउनुपर्ने अवस्था छ । घरनजिक टावर ठड्याएको वर्षौँ हुँदा पनि आफूहरू सञ्चारको पहुँचबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । ‘अहिले पनि हामीले देश २१औँ शताब्दीमा पुगेको अनुभूति गर्न पाएका छैनौँ । खबर आदान–प्रदानमा उस्तै कठिनाइ छ,’ सिँजा गाउँपालिका– ३ का पूर्वडाध्यक्ष लिताचन्द्र चौलागाईंले भने, ‘अकस्मात् कोही बिरामी हुँदा एम्बुलेन्सलाई खबर गर्नसमेत नसक्ने अवस्था भोग्दै आएका छौँ ।’

राज्य पुनर्संरचनापछि गाउँमा ‘सिंहदरबार’ पुगे पनि अत्यावश्यक टेलिफोन, इन्टरनेटजस्ता पूर्वाधारको सहज पहुँच नहुँदा नागरिकको दैनिकी उस्तै रहेकोमा उनले असन्तुष्टि पोखे । उनले सिँजा क्षेत्रमा बिजुलीको राष्ट्रिय प्रसारणलाइन पुगेको तर अग्ला डाँडामा राखिएका टेलिफोनका टावरसम्म प्रसारणलाइन नपुगेको बताए । 

टेलिकमको आन्तरिक समस्या जे भए पनि नागरिकले चुस्त रूपमा प्रभावकारी सेवा पाउनुपर्ने हो । नेपाल टेलिकमको साबिक कर्णाली अञ्चल कार्यालय जुम्लामा छ । जुम्लाबाटै मुगु, डोल्पा र हुम्ला जिल्ला हेरिन्छ । डोल्पाका लागि जुम्लाको चिमारा मालिका लेकमा रिपिटर टावर जडान गरिएको छ । मुगुका लागि डाँफे लेक हुँदै मुगु र हुम्लामा पनि यहीँबाट लिंक लाइन गएको छ । यति धेरै कार्यक्षेत्र र काम भए पनि जुम्लामा भने टेलिकम शाखाको कमजोरी रहेको छ । हिमाली क्षेत्रमा रहेका कुल जनसंख्याको ९५ प्रतिशत नागरिकले नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गरे पनि सेवाको गुणस्तरीयतामा भने ध्यान दिइएको पाइँदैन ।

नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सूर्य यादवका अनुसार यो समस्याका विषयमा जानकारी भएकाे छैन । सिँजाको नराकोटमा नेटवर्क समस्या नहुनुपर्ने हो । टावरमा स्थानीय साना जलविद्युत् आयोजनाको लाइन लगिएको छ । यस विषयमा थप बुझेर समस्या आएको भए तुरुन्त समाधान गर्ने उनले बताए । 
 

ad
ad