१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Tuesday, 15 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २४ मंगलबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरियन्ट जेएन.वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार o६:o७:oo

पछिल्लो समय विश्वभर फैलिइरहेको ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.वान नेपालमा पनि पुष्टि भएको छ । देशका विभिन्न भागबाट संकलन गरिएका १६ वटा पिसिआर तथा एन्टिजेन पजिटिभ नमुना परीक्षण गर्दा सात नमुनामा जेएन.वान देखिएको हो । 

छिमेकी भारतमा जेएन.वान धेरै फैलिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षण गरेको थियो । नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सीमा प्रवेश विन्दुमा स्क्रिनिङ र निगरानी बढाउन हेल्थ डेस्क र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको जनाएको छ । स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई पनि उपचार व्यवस्थापनको तयारीका लागि मन्त्रालयले आग्रह गरेको छ ।   

संक्रमण र संक्रमणको फैलावट रोक्न भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न–गराउन पनि सम्बन्धित निकायलाई जानकारी गराइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । ‘कोभिडविरुद्धको खोप नलगाएका व्यक्ति, गर्भवती, दीर्घरोगी र अन्य विभिन्न कारणले प्रतिरोधी क्षमता कम भएका व्यक्ति संक्रमणको जोखिममा छन् । छिमेकी मुलुकमा पनि अहिलेको भेरियन्टले संक्रमण बढाइरहेकाले फेरि संक्रमण फैलिन नदिन सचेत हुनुपर्ने समय आएको छ,’ प्रवक्ता बुढाथोकीले भने । 

गत सेप्टेम्बरमा अमेरिकामा पहिलोपटक देखिएको जेएन.वान पछिल्लोपटक महामारीको रूप लिएको ओमिक्रोनको सबभेरियन्ट हो । सुरुवाती दुई महिना संक्रामक नदेखिए पनि डिसेम्बरपछि यो भाइरस तीव्र रूपमा फैलिन थालेको हो । वृद्धवृद्धामा जोखिम मानिएको जेएन.वान पछिल्ला अन्य भेरियन्टहरूको तुलनामा संक्रामक मानिए पनि अस्पताल भर्नादर र मृत्युदर भने निकै न्यून छ ।  

जेएन.वान हाल भारत, चीन, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा तीव्र रूपमा फैलिइरहेको छ । यसबाहेक अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपियन देश डेनमार्क, स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्यान्डमा बढिरहेको छ । पछिल्लो समयमा सार्स संक्रामक रोगमध्ये सबैभन्दा बढी प्रभावित गरिरहेको ‘जेएन.वान’ पनि रहेको इन्फ्लुएन्जा डाटा साझा गर्ने ग्लोबल डाटाबेस ग्लोबल इनिसिएटिभले देखाएको छ ।

हाल अमेरिकामा सबैभन्दा बढी फैलिइरहेका कारण सिडिसीले निरन्तर यसको असरबारे निरीक्षण गरिरहेको जनाएको छ । सिडिसीका अनुसार जेएन.वान भाइरस संक्रमणका लक्षणसमेत अन्य कोभिडसँग मिल्दाजुल्दा छन् ।