मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २३ सोमबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका रुकुम पश्चिम
२o८o पौष २३ सोमबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १३:२७:oo

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ। पालिकामा हालसम्म एक सय सात भूमिहीनलाई निस्सा वितरण गरिएको हो। 

गाउँपालिको कार्यालयमा २३ भूमिहीन दलित, दुई सकुमवासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए।

‘निस्सा जग्गा प्राप्तिको पहिलो आधार हो। जग्गा उपलब्ध गराउन प्रक्रियाको थालनी भएको छ,’ उनले भने। भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन दिएपछि निस्सा वितरण थालिएको हो। अब चाँडै जग्गा नापजाँच गरिने सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गरिने विज्ञ सदस्य विष्टले जानकारी दिए।

भूमिहीनले जग्गा पाउने निश्चित भएपछि उनीहरूलाई जग्गा उपलब्ध गराइनेछ। भूमिहीन दलित तथा सुकुमवासीलाई आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटिर जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए।

छनोटमा परेका लाभग्राहीलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँको जग्गा दिने तथा त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने उनको भनाइ छ।

जिल्लामा एक हजार आठ सयभन्दा बढीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन्। निस्सा वितरण कार्य जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिने आयोगले जनाएको छ।