१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ज्यान मार्ने कसुरमा फरार अभियुक्त पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५८:oo

घरधनीलाई आगो लगाएपछि आफ्नो शरीरमा समेत आगो लगाएका, तर पछि अदालतले ज्यान मार्ने कसुरमा सजाय सुनाएका एकजनालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका– ६ घर भई हाल पोखरा– १३ काहुँखोला बस्ने वर्ष ४४ का कृष्णबहादुर क्षेत्री रहेका छन् । कास्की जिल्ला अदालतले १८ भदाै ०८० मा क्षेत्रीलाई ज्यानसम्बन्धी कसुरमा १० वर्ष कैद र एक लाख चार हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।

नौ वर्ष ११ महिना १८ दिन कैद र एक लाख चार हजार जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका थापालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हाे । पक्राउ पछि क्षेत्रीलाई अदालतमा पेस गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

यस्तो छ घटना   

१५ माघ ०७९ का दिन पोखरा महानगरपालिका– १३ काँहुखोलास्थित एक घरमा भाडामा बस्नेले बाथरुमभित्र गएर आफ्नो शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेको र शरीरमा तेल खन्याएर जल्दै गरेको अवस्थामा देखेपछि उनलाई बचाउन गएकी घरधनी गरी दुईजना घाइते भएको भन्ने घटना सार्वजनिक भयो । 

घरधनी थिइन् ४० वर्षीया संगीता सापकोटा । सापकोटाको घर भाडामा लिएर स्टेसनरी पसल सञ्चालन गर्दै आएका थिए कृष्णबहादुर क्षेत्री । जलेर घाइते भएका उनीहरूलाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । 

अस्पताल लगेपछि क्षेत्रीको सर्जिकल वार्ड र सापकोटाको आइसियूमा राखेर उपचार सुरु गरिएको थियो । आगोका कारण संगीताको शरीरमा ८५ प्रतिशत र क्षेत्रीको २५ प्रतिशत शरीर जलेको थियो । 

क्षेत्रीको हात र खुट्टामा आगोले असर गरेको थियो भने संगीताको पूरै शरीरमा आगोले क्षति पुगेको थियो । उपचारको क्रममा संगीताको भोलिपल्ट अर्थात् १६ माघमा मृत्यु भयो । क्षेत्री भने केही समयमको उपचारपछि निको भए । 

घटना शंकास्पद रहेको देखेपछि संगीताको परिवारले केही दिनपछि क्षेत्रीका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले आवश्यक अनुसन्धान गरेपछि प्रहरीमार्फत मुद्दा कास्की अदालतमा पुगेको थियो । मुद्दापछिको बयानका क्रममा आफूले आगो लगाएको र संगीता आफूलाई बचाउन आएको र सोही क्रममा जलेको क्षेत्रीले बताउँदै आएका थिए । 

अदालतले सुरुमा उनलाई धरौटी तारेखमा छाडेको थियो । धरौटी तारेखमा छुटेका क्षेत्री त्यसपछि फरार भएका थिए । फरार रहेकै अवस्थामा अदालतले क्षेत्रीलाई दोषी ठहर गर्दै १८ भदाै ०८० मा ज्यानसम्बन्धी कसुरमा १० वर्ष कैद र एक लाख चार हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । फरार रहेका क्षेत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

 

 

ad
ad