१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय विदेशमन्त्री जयशंकर भोलि आउँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२२:oo

परराष्ट्रमन्त्री साउदले लिए सुझाव, संयुक्त आयोगको बैठक र उच्चस्तरीय भेटवार्ता तय

नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बस्दै छ । बैठकका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर दिल्लीबाट आउँदै छन् । संयुक्त आयोगको बैठक तथा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी साउदसँग बिहीबारै भेट सकेर उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ । 

शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयमा भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालय उद्घाटन गरेर जयशंकर स्वदेश फर्किनेछन् । ‘राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग उहाँको भेटघाट र संयुक्त आयोगको बैठक बिहीबारै हुनेछ । रात्रिभोजमा त्यही दिन प्रमुख पार्टीका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीसँग उहाँको भेट हुनेछ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । 

०४४ मा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो । बैठकको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री साउदले मंगलबार पूर्वपरराष्ट्रसचिवहरू तथा भारतका लाग पूर्वराजदूतहरूसँग सुझाव लिएका छन् । छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव प्राप्त भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूले सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाब दिएका थिए । 

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू भरतराज पौड्याल, मधुरमण आचार्य, अर्जुनबहादुर थापा, दुर्गाप्रसाद भट्टराई तथा पूर्वराजदूत डा. दुर्गेशमान सिंह सहभागी थिए । 

दुई देशबीच बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापार थप विस्तार गर्नुपर्ने, सीमापार पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा सम्झौता भएका योजना कार्यान्वयन गर्नुपर्ने, विगतमा सुरु भएका विकास आयोजना समयबद्ध रूपमा सम्पन्न हुनुपर्ने सुझाव दिएका थिए । उनीहरूले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश अनुमतिका लागि प्रयास गर्नुपर्ने, इपिजी प्रतिवेदन बुझ्ने वातावरण बनाउनुपर्ने, सीमालगायत विषयमा छलफल गर्न गठित स्थापित संयन्त्रलाई सक्रिय बनाउनुपर्ने सुझाब दिएका थिए । 

‘दुई देशको बीचमा अविश्वासको तह बढेको छ । विगतका प्रतिबद्धता कार्यान्वयनमा भारत मात्र होइन, हामी पनि गम्भीर छैनौँ, यसमा ध्यान दिनुपर्छ,’ बैठकमा सहभागी एक पूर्वकूटनीतिज्ञले भने, ‘पारस्परिक सुरक्षा चासो सम्बोधन गरेर अघि बढ्नुपर्छ । सम्बन्धका विषयलाई राजनीतीकरण गर्नुहुँदैन ।’ अधिकांशले सर्वपक्षीय सहमतिका आधारमा छिमेकी भारत र चीन तथा बाह्य मुलुकसँग सम्बन्ध सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । अर्का सहभागी कूटनीतिज्ञले क्षेत्रीय संगठन सार्क र बिमस्टेकको भविष्य, इपिजी प्रतिवेदनको भविष्य के हुने भन्नेमा पनि ठोस छलफल गर्नुपर्ने सुझाव दिएको बताए । परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्रीको भ्रमण र संयुक्त आयोगको बैठकका एजेन्डाबारे बताएनन् । उनले सुझाव मात्रै सुनेका थिए । 

भारतीय विदेशमन्त्री जयशंकरले ४ भदौ ०७७ मा काठमाडौंमा भएको पाँचौँ बैठक, त्यसपछि दिल्लीमा भएको छैटौँ बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए । नेपालबाट पाँचौँ र छैटौँ बैठकको नेतृत्व तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए भने अब परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्दै छन् । 

बैठकमा प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायत विषयले पनि प्रवेश पाउनेछ । सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी)का बारेमा पनि छलफल हुनेछ । बिडब्लुजीको बैठक चार वर्षदेखि बस्न सकेको छैन । ०२२ मा त्यसको अवधि सकिएकोमा अब के गर्ने भन्ने विषयमा छलफल हुनेछ । 

चिनियाँ प्रतिनिधिमण्डल पनि आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सी युङगाङ

चीनको युनान प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सी युङगाङ तीनदिने भ्रमणका लागि बिहीबार नै काठमाडौं आउन लागेका छन् । कूटनीतिक स्रोतका अनुसार यो उनको पूर्वनिर्धारित भ्रमण हो । शनिबारसम्म नेपालमा रहँदा उनको उपराष्ट्रपति रामसहायप्रसाद यादव, पर्यटनमन्त्री सुदन किराँती, कृषिमन्त्री बेदुराम भुसाललगायतसँग भेटवार्ता तय भएको कूटनीतिक स्रोतले जनाएको छ ।

ad
ad