१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मेसीको सन्न्यासपछि १० नम्बर जर्सी अरूले प्रयोग गर्न नपाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo

फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका मेसीको सम्मानमा १० नम्बर जर्सीलाई रिटायर्ड दिने निर्णय भएको बताए

अर्जेन्टिनी फुटबल महासंघले लियोनल मेसीको सम्मानमा १० नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको छ । मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनदेखि नै लागू हुने महासंघले जनाएको छ । महासंघले यसलाई ‘१० नम्बर जर्सी रिटायर्ड’ भनेको छ । अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएको र वर्तमान समयकै उत्कृष्ट खेलाडीको सम्मानमै उनले लगाउने गरेको १० नम्बर जर्सीलाई रिटायर्ड दिन लागेको बताएका छन् । 

‘हामीले अब अर्जेन्टिनी राष्ट्रिय टोलीको १० नम्बरको जर्सीले कसैले प्रयोग गर्न नपाउने निर्णय गरेका छौँ, यो एक किसिमको सम्मान हो,’ ग्लाउडियोले भने, ‘मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनबाट लागू हुनेछ ।’ गत वर्ष कतारको दोहामा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले तीन दशकपछि विश्वकप उपाधि उचालेको थियो । सो विश्वकपमा मेसीले प्रेरणादायी खेल प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको हो । 

अर्जेन्टिनी फुटबल महासंघले सन् १९८६ मा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका डिएगो म्याराडोनाले प्रयोग गरेका १० नम्बर जर्सी पनि अन्य खेलाडीलाई प्रयोग गर्न नपाउने भनेको थियो । तर, महासंघले यो निर्णय लागू गर्न सकेन । ‘यसअघि पनि १० नम्बर जर्सीलाई रिटायर्ड दिने भनिएको थियो, त्यसवेला विविध कारणवश निर्णयलाई कार्यन्वयन गर्न हामीले सकेनौँ,’ अध्यक्ष क्लाउडियोले भने, ‘यसपटक हामी हाम्रो निर्णय कार्यान्वयन गर्नेछौँ, मेसीको जर्सीलाई संग्रहालयमा राख्छौँ ।’ 

अक्सर फुटबलमा १० नम्बरको जर्सी लगाउने खेलाडी टोलीकै उत्कृष्ट खेलाडीका रूपमा हेरिने गर्छ । अर्जेन्टिनामा जुआन रोमान रिक्वेल्मे तथा रिकार्डो बोचिनीले पनि १० नम्बरकै जर्सी लगाएका थिए । यी दुवै खेलाडी अर्जेन्टिनी राष्ट्रिय टोलीका महान् खेलाडीका रूपमा हेरिने गरेको छ ।

 फिफाको नियम बाधक 
अर्जेन्टिनी फुटबल महासंघले १० नम्बरको जर्सीलाई रिटायर्ड दिने भने पनि फिफाको नियमअनुसार कार्यान्वयन हुन कठिन देखिन्छ । फिफाले राष्ट्रिय फुटबल टोलीबाट प्रतिस्पर्धा गर्ने खेलाडीलाई १ देखि २३ नम्बरसम्म लगाउनु पर्ने नियम बनाएको छ । १ वा १० नम्बर जर्सीबाहेक अन्य कुनै पनि नम्बरको जर्सी खेलाडीले छनोट गर्न पाउँछन् । सन् २००२ मा पनि महासंघले म्याराडोनाले प्रयोग गरेको जर्सी नम्बर सम्मान गर्दै अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको थियो । त्यसवेला फिफाले नै यो निर्णय कार्यान्वयन नगर्न पत्र काटेको थियो । 

 सचिन र धोनीका जर्सी रिटायर्ड
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आफ्ना पूर्वकप्तानहरूको सम्मानमा उनीहरूले लगाउने गरेको जर्सीलाई रिटायर्ड दिएको छ । बिसिसिआईले सचिन तेन्दुलकर र महेन्द्रसिंह धोनीले राष्ट्रिय टोलीबाट खेलिरहँदा प्रयोग गरेका जर्सी नम्बर अन्य खेलाडीलाई प्रयोग गर्न दिएको छैन । सचिनले १० नम्बर र धोनीले सात नम्बरको जर्सी लगाउँथे । धोनीले सात नम्बरको जर्सीमा भारतलाई सन् २००७ को पहिलो संस्करणको टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी दिलाएका थिए । 

ad
ad