१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार पर्यटक भित्रिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२४:oo

पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त संख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।

‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले भने, ‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ।’ 

सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए।

अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेको ‘एक्याप’को तथ्यांकमा उल्लेख छ। सन् २०१९ मा ‘सार्क’ क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गत वर्ष जम्मा ९४ हजार चारजनाले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिए। 

उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार ६ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका ६ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्यांक छ। 

कोभिड– १९ महामारीका वेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानै लय समातेको हो। उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए। 

आयोजना प्रमुख डा. कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्या घटेको बताए। ‘सडकमार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व संकटमा परेको छ, जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटनसम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ।’

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ। ‘आन्तरिक पर्यटकको संख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको संख्या उल्लेख्य रहेको हुन्छ,’ प्रमुख डा. कडरियाले भने, ‘असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ।’ 

सात हजार ६ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ। तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको थियो। गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्व थप चुलिएको थियो। 

त्यसबखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अदभूत रहेको बताए। अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए। 

ad
ad