१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनको राजधानीसहित विभिन्न सहरमा व्यापक हवाई आक्रमण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३१:oo

रुसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न सहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो। किभ सहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिए। 

युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँचवटा अन्य सहरमा पनि हवाई आक्रमण गरिएको सहरका मेयर र प्रहरीले बताएका छन्।

खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, ‘शत्रुले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त सहरमा आक्रमण गरेका छन्। खार्किभमा १० वटा विस्फाेट भएका छन्, तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन्।’

सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ। दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको सहरका मेयरले बताएका छन्।

‘शत्रुको अर्को आक्रमणको परिणामस्वरूप, एक अग्लो भवनमा क्षति पुगेको छ,’ मेयर गेन्नाडी ट्रुखानोभले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आक्रमणपछि लागेको आगो तत्काल नियन्त्रणमा लिइएको छ।’

क्रेमलिनले मंगलबार युक्रेनी आक्रमणले क्रिमियाको कब्जामा रहेको फियोडोसिया बन्दरगाहमा रहेको एक युद्धपोतमा क्षति पुगेको स्वीकार गरेपछि युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रहरूले रुसी नौसेनाका लागि ठूलो धक्का भएको बताएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा आफ्नो वायुसेनाले नोभोचेरकास्क अवतरण गर्ने जहाजमाथि आक्रमण गरेको बताएका थिए। रुसको रक्षा मन्त्रालयले उक्त जहाजलाई निर्देशित हवाई क्षेप्यास्त्रले क्षति पुर्‍याएको जनाएको थियो। 

युक्रेनको सेनाले पूर्वी क्रिमियाली बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरी रुसी नौसैनिक जहाज ध्वस्त पारेको जनाएको छ। बिहीबार जेलेन्स्कीले युक्रेनका लागि उपलब्ध हतियारको अन्तिम बाँकी प्याकेज जारी गरेकोमा संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिएको छ। 

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म राष्ट्रपति जो बाइडेन, अमेरिकी संसद् र अमेरिकी जनताप्रति २५ करोड अमेरिकी डलरको सैन्य सहायता प्याकेजका लागि धन्यवाद दिन्छु।’

‘युक्रेन र युरोपमा मात्र होइन, संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न हामीले जारी रुसी आक्रमणको जवाफ दिइरहनुपर्छ,’ उनले भने। रासस 

ad
ad