१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड : दश हजार धरौटी, सबै सम्पत्ति विवरण पनि बुझाउनुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१५:oo

निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि आवश्यक मापदण्ड सार्वजनिक गरेको छ । आयोगका अनुसार २३ पुसमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । आयोगले बुधबार मनोनयनपत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिकाबमोजिम १८ प्रकारका कागजात पेस गर्नुपर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार उम्मेदवार बन्ने व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा बुझाउनुपर्नेछ । त्यस्तै, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर दिनुपर्नेछ । यद्यपि, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ । साथै, आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र पनि बुझाउनुपर्नेछ ।

दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र दिनुपर्नेछ । साथै,  दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा दिनुपर्नेछ । 

अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले अधिकारप्राप्त निकायले दिएको अपांगताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा दिनुपर्ने आयोगले जनाएको छ । 

त्यस्तै, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण दिनुपर्नेछ । मतदाता नम्बरका साथै घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण पनि बुझाउनुपर्नेछ । 

कुनै संघीय कानुनले अयोग्य नभएको भनी गरेको स्वघोषणा–पत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणा–पत्र पनि उम्मेदवारका लागि आवश्यक पर्नेछ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा पनि आवश्यक पर्नेछ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि, ऐनअनुसार कुनै अयोग्यता नभएको स्वघोषणा–पत्र, उम्मेदवार आफैँ वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयन–पत्र र उम्मेदवारले ऐनअनुसार प्रतिनिधि मुकर्रर गरी मनोनयन–पत्र दर्ता गराउन सक्नेछ । 

दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीलाई तोकिएको पत्रको प्रतिलिपि चाहिनेछ । उम्मेदवार बन्न ऐन, नियमावली र निर्देशिकामा उल्लिखित अन्य प्रावधान र कार्यविधि पूरा गरेको हुनुपर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
 

ad
ad