१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

शारदाले ११ जनाविरुद्ध प्रहरीमा दिइन् किटानी जाहेरी, चार फरार

महिलालाई खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट गरिएको घटना

Read Time : > 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२o:oo

शारदालाई शुक्रबार बिहानदेखि आइतबार अपराह्नसम्म बाँधेर कुटपिट गरेको घटनाबारे मंगलबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । केही समय उनका श्रीमान् सन्तोषलाई पनि बाँधिएकोमा पछि छाडिदिएका थिए । ऋण लिएर नतिरेको कारण देखाएर कुटपिट गरेको भनिए पनि सत्यतथ्यमा पुग्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तीन दिनसम्म पिँढीको खाँबो र बिजुलीको पोलमा बाँधेर मरणासन्न हुने गरी कुटाइ खाएकी सिन्धुलीको कमलामाई नगरपालिका– ४, ढकालगाउँकी शारदा थापाले शरीर बन्धक र कुटपिटमा ११ जनाविरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले कुटपिटमा मतियार बनेको आरोपमा पक्राउ परेका श्रीमान् सन्तोष थापासहित ११ स्थानीयविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिएकी हुन् । 

जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार किटानी जाहेरी परेका ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्का पनि सोमबार नै पक्राउ परेर हिरासतमा छन् । अन्य चार आरोपी भने फरार रहेकाले उनीहरूको नाम सार्वजनिक नगरिएको उनले बताए । 

‘शरीर बन्धक र कुटपिट गरेको आरोपमा उजुरी परेको छ, यसबारे प्रहरी अनुसन्धानमा छ,’ एसपी सिलवालले भने । मंगलबार सार्वजनिक बिदा भएका कारण पक्राउ परेकाहरूको म्याद थप भने हुन सकेन । बुधबार अदालत उपस्थित गराएर उनीहरूको म्याद थप गर्ने तयारी छ । 

शारदालाई शुक्रबार बिहानदेखि आइतबार अपराह्नसम्म बाँधेर कुटपिट गरेको घटनाबारे मंगलबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । केही समय उनका श्रीमान् सन्तोषलाई पनि बाँधिएकोमा पछि छाडिदिएका थिए । ऋण लिएर नतिरेको कारण देखाएर कुटपिट गरेको भनिए पनि सत्यतथ्यमा पुग्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कुटपिटमा मरियार बनेको आरोपमा पक्राउ परेका शारदाका श्रीमान् सन्तोष थापाले स्थानीयसँग एक करोड २० लाख ऋण लिएको बयान दिएको एसपी सिलवालले बताए । तर, कोसँग कति ऋण लिएको भन्नेबारे यकिन बताएका छैनन् । ‘सन्तोषले प्रहरीसमक्ष बयान दिँदा आफ्नो नाममा रहेको ढकालगाउँस्थित सात कट्ठा जमिन बिक्री गर्ने र त्यसबाट कम्तीमा पनि एक करोड ४० लाख रुपैयाँ आउँछ भनेका छन्,’ उनले भने, ‘तर, कसको कति रकम तिर्न बाँकी छ भन्ने अझै यकिन हुन सकेको छैन ।

सन्तोषको नाममा बैंकिङ कसुर र ठगी मुद्दा पनि छ । बैंकिङ कसुर मुद्दा अदालतमा पुगिसकेको छ भने ठगीसम्बन्धी उजुरी प्रहरीमा छ । ‘श्रीमान्ले गरेको कारोबारको विषयमा श्रीमतीलाई बन्धक बनाएर यातना दिनु आफैँमा निन्दनीय र गैरकानुनी कुरा हो, प्रहरी कसैलाई पनि अन्याय हुनुहुँदैन भन्ने पक्षमा छ,’ सिलवालले भने । अहिले शारदा र सन्तोषबीच सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा पनि चलिरहेको छ । 

कमलामाईका मेयर उपेन्द्रकुमार पोखरेलले कुटपिट घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘घटनाको विषयमा जानकारी पाएको र दुवै पक्षका आफन्तहरूको कुरा सुन्दा सन्तोष र शारदाले स्थानीयहरूसँग लिएको विभिन्न किसिमका सापटी तथा बैंकमार्फतका रकम तिर्न बाँकी छ भन्ने आएको छ । तर, कसैलाई पनि बन्धक बनाएर कुटपिट गर्ने र यातना दिने कार्य आफैँमा कानुनविपरीत हो,’ उनले भने । आफू सोही वडाको भए पनि केही दिन बाहिर रहेका कारण सबै जानकारी प्राप्त नभएको उनले बताए । स्थानीय भने घटनाबारे कुनै प्रतिक्रिया दिन चाहँदैनन् ।
 

ad
ad