१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
विदुर पौडेल सिन्धुली
२०८० पौष १० मंगलबार ०६:३०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पिँढीको खाँबो र बिजुलीको पोलमा तीन दिन बाँधेर महिलामाथि निर्घात कुटपिट

Read Time : > 3 मिनेट
विदुर पौडेल, सिन्धुली
२०८० पौष १० मंगलबार ०६:३०:००

ऋण नतिरेको भन्दै सिन्धुली ढकालगाउँकी शारदा थापामाथि गरिएको अत्याचारको अभियोगमा सातजना पक्राउ

ऋण नतिरेको भन्दै सिन्धुलीमा एक महिलालाई तीन दिनसम्म पिँढीको खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट गरिएको छ । कमलामाई नगरपालिका– ४, ढकालगाउँकी शारदा थापालाई स्थानीय केही युवाले गत शुक्रबार बिहानदेखि आइतबार अपराह्नसम्म मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । 

उनकै घरको आँगनछेउ बिजुलीको पोलमुनि अचेत भई लडिरहेको अवस्थामा प्रहरीले उनको उद्धार गरेको छ । उद्धारका गर्दा पनि शारदाको शरीरको आधा भाग पोलको डोरीमै बेरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । 

‘मेरै नेतृत्वमा प्रहरी टोली आइतबार अपराह्न ४ बजे शारदाको घरमा पुग्दा आँगनमा बिजुलीको पुलमुनि अचेत अवस्थामा डोरीमै बेरिएको भेटिइन् । हामीले उद्धार गरेर सिन्धुली अस्पताल पुर्‍याएपछि होस खुलेको छ । अहिले नगरपालिकाको महिला सेफ हाउसमा सुरक्षित राखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले भने, ‘घटना बुझ्दा पीडित महिलालाई तीन दिनसम्म यातना दिइएको पाइएको छ । लेनदेनको विषय जे भए पनि महिलालाई बन्धक बनाएर कुटपिट गर्नु आपराधिक र निन्दनीय कार्य हो ।’ चिकित्सकले शारदाको टाउकोमा चोट लागेको हुन सक्ने भएकाले एमआरआई गर्न भनेको छ । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको छ । उनीहरूसँगै श्रीमान् सन्तोष थापालाई पनि हिरासतमा लिएको छ । ईश्वरकुमार, मिलन, निकेश र लक्ष्मीविरुद्ध पीडितले किटानी जाहेरी नै दिएकी थिइन् । उनीहरूले बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरेको शारदाले प्रहरीलाई बयान दिएकी छिन् । 

पीडितले प्रहरीलाई दिएको बयान, स्थानीयको भनाइ र प्रहरी अनुसन्धानअनुसार कुटपिटको घटना शुक्रबार (६ पुस) देखि सुरु भएको थियो । पीडितको बयान उद्धृत गर्दै एसपी सिलवालले भनेअनुसार सोही दिन बिहान स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटालगायत घरमा आई पिँढीको खाँबामा बाँधेर कुटपिट गरेका थिए । सोही दिन १० बजे शारदा र सन्तोष डिभोर्स प्रक्रियाअन्तर्गत रहेको सुनुवाइका लागि जिल्ला अदालत सिन्धुली पुग्नुपर्ने थियो । स्थानीयले बन्धन खोलिदिएपछि उनीहरू अदालत पुगेको, तर त्यहीँबाट एकाएक श्रीमान् गायब भएको भन्दै शारदा ‘श्रीमान् खोजिपाऊँ’ भन्दै जिल्ला प्रहरी कार्यालय आइपुगेको एसपी सिलवालले बताए । त्यसपछि अदालत फर्किएकी उनले आफूलाई ‘ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाललगायतले जबर्जस्ती गाडीमा राखेर घर पुर्‍याएको, साँझ फेरि पिँढीकै खाँबोमा बाँधेर मुक्का, लात्ती, लौरोले कुटपिट गरेको, रातभर र शनिबार दिनभर पनि बाँधेर यातना दिएको’ बयान दिएकी छिन् 

यता शनिबार श्रीमान् सन्तोषलाई प्रहरीले सिन्धुलीमाडीमै फेला पारेको थियो । त्यतिवेला पटक–पटक प्रयास गर्दा पनि शारदालाई फोन नलागेपछि प्रहरीले सन्तोषलाई घर पठाइदिएको थियो । ‘शनिबार साँझ श्रीमान् घर आइपुग्नुभयो । त्यसपछि हामी दुवैलाई एउटै खाँबोमा बाँधेर कुटे । राति श्रीमान्लाई फुकाइदिए, मलाई भने आँगननजिकैको बिजुलीको पोलमा लगेर बाँधे । कुटपिटबाट कतिवेला अचेत भएँ थाहा भएन, होस खुल्दा त अस्पतालको बेडमा रहेछु,’ शारदाको भनाइ उद्धृत गर्दै एसपी सिलवालले भने । 

के हो लेनदेनको विषय ?
एसपी सिलवालका अनुसार शारदाका श्रीमान् सन्तोषले आफूहरूले स्थानीयसँग एक करोड २५ लाख ऋण लिएको बयान दिएका छन् । बयानअनुसार थापादम्पतीले काठमाडौंमा जग्गा किन्ने क्रममा उक्त ऋण लिएका थिए । तर, उनीहरूले ऋण तिर्न सकेका थिएनन् । यसै क्रममा सन्तोष र शारदा भने सम्बन्धविच्छेदको प्रक्रियामा प्रवेश गरेको पाइएको छ । सन्तोषले जग्गा बेचेर ऋण तिर्न खोजे पनि शारदाले नमानेको भन्नेजस्ता विषय पनि आएकाले यसबारे गहिरो अनुसन्धान हुने एसपी सिलवालले बताए । ‘श्रीमान्सँग डिभोर्स गरेपछि जायजेथा बिक्री गर्नुपर्दैन भन्ने आशय पनि हुन सक्छ, त्यसमा अनुसन्धान हुनै बाँकी छ,’ उनले भने । 

जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले भने– अचेत अवस्थामा मैले नै शारदाको उद्धार गरेको हुँ, आपराधिक कार्य भएको छ
शारदाले शुक्रबार श्रीमान् (सन्तोष थापा) हराएको उजुरी गरेपछि प्रहरी खोजीमा लाग्यो । शनिबार उनी सिन्धुलीमाडीमै सकुशल भेटिए । श्रीमान् भेटिएको जानकारी दिन शारदालाई फोन गर्दा उठेन ।

त्यसपछि हामीले सन्तोषलाई घर जान भनेर पठाइदियौँ । शारदालाई पटक–पटक फोन गर्दा पनि सम्पर्क नभएपछि कतै उजुरी नै गलत त होइन भन्ने शंका लाग्यो । त्यसपछि आइतबार मेरै नेतृत्वमा प्रहरी टोली उनको घर गयो । त्यहाँ पुग्दा उनी बिजुलीको पोलनजिकै अचेत भएर लडिरहेको अवस्थामा भेटिइन् । उनको शरीरसँगै डोरी पनि बेरिएको थियो ।

हामीले आइतबार अपराह्न ४:३० बजे उद्धार गरेर अस्पताल पुर्‍यायौँ । होस खुलेपछि अहिले महिला सेफ हाउसमा सुरक्षित राखिएको छ । अहिले स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्का तथा उनका श्रीमान् सन्तोष थापालाई पनि हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ । सन्तोषले आफूहरूले स्थानीयसँग एक करोड २५ लाख ऋण लिएको वयान दिएका छन् । लेनदेनको विषय जे भएपनि महिलालाई बन्धक बनाएर कुटपिट गर्नु कानुनविपरित र निन्दनीय कार्य हो ।

नगरपालिकाको महिला सेफ हाउसमा राखिएकी शारदा थापाले प्रहरीलाई दिएको बयान
ऋण नतिरेको भन्दै गत शुक्रबार (६ पुस) बिहान स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटालगायत मेरो घरमै आई समातेर पिँढीको खाँबामा बाँधेर कुटपिट गरे । त्यही दिन म र श्रीमान् (सन्तोष थापा) डिभोर्स मुद्दाको सुनुवाइका लागि १० बजे जिल्ला अदालत सिन्धुलीमा उपस्थित हुनुपर्ने थियो । त्यसका लागि उनीहरूले फुकाइदिए । हामी जिल्ला अदालत गयौँ । तर, त्यहाँ पुगेपछि एकाएक श्रीमान् हराउनुभयो । उनीहरूले अपहरण गरेको आशंका लागेपछि ‘श्रीमान् खोजिपाऊँ’ भनेर तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुर गरेँ । त्यसपछि फेरि अदालत फर्किएँ । त्यहीँबाट ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेलले जबर्जस्ती गाडीमा राखेर घर पुर्‍याए । साँझ फेरि पिँढीकै खाँबोमा बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरे । रातभरि र शनिबार (७ पुस) दिनभर पनि खोलिदिएनन् । शनिबार साँझ श्रीमान् पनि घर आइपुग्नुभयो (प्रहरीले सिन्धुलीमाडीमा फेला पारेर पठाएको थियो) । त्यसपछि हामी दुवैलाई एउटै खाँबोमा बाँधेर कुटे । राति श्रीमान्लाई फुकाइदिए, मलाई भने आँगननजिकैको बिजुलीको पोलमा लगेर बाँधे । कुटपिटबाट कतिवेला अचेत भएँ थाहा भएन, होस खुल्दा त अस्पतालको बेडमा रहेछु ।