पुसको पहिलो हप्ताबाट सर्लाहीमा किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ । मुख्य गरेर तरुलको पर्वको रूपमा मनाइने माघेसंक्रान्तिलाई लक्षित गरेर किसानले धमाधम तरुल खन्न सुरु गरेका हुन् ।
जिल्लाको बागमती र बरहथवालगायतका स्थानमा ठूलो मात्रामा तरुलखेती हुँदै आएको छ । राम्रो उत्पादन तथा मूल्यसमेत राम्रो हुने भएपछि किसान तरुलखेतीतर्फ आकर्षित हुने गरेका छन् ।
तरुल लगाउने किसानले अन्तरबालीको रूपमा मकैसमेत फलाउने गरेका छन् । अन्तरबालीबाट समेत फाइदा हुने र तरुलबाट समेत प्रतिकट्ठा १२ हजारदेखि ३५ हजारसम्म आम्दानी हुने गरेको बागमती नगरपालिका– ५ का किसान कर्णबहादुर लामाले बताए ।
यस वर्ष पाँच कट्ठामा तरुल लगाएका उनले प्रतिकट्ठा २० हजारको दरले पैसा लिएको बताए । राम्रो उत्पादन हुँदा मूल्य पनि राम्रो पाइने र सजिलै ठेक्का लाग्ने गरेको उनको भनाइ छ । तरुल खन्ने सिजनमा व्यापारीहरू गाडी लिएर खेतमै पुग्ने गर्छन् । उत्पादन हेरेर प्रतिकट्ठा १२ देखि ३५ हजारसम्म तिरेर आफैँले खनेर लैजाने गरेको व्यापारी बागमती नगरपालिका– ५ का बाबुराम लामाले बताए ।
किसानबाट किनेको तरुल स्थानीय बजारलगायत काठमाडाैं, पोखरा, विराटनगर, हेटौँडाका मुख्य बजारसम्म पुर्याएर बेचबिखन हुने गर्छ । माघेसंक्रान्तिको समयमा बजार पुर्याएको तरुल राम्रो भाउमा बिक्री हुने गरेको किसानको भनाइ छ ।
तरुल हलुका र खुकुलो माटोमा राम्रो उत्पादन हुने गर्दछ । समयमा मल पानी राखेको अवस्थामा प्रतिकट्ठा एक क्विन्टलसम्म तरुल उत्पादन हुने कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिए । तरुलले १२ महिनै बजार पाउने गरे पनि विशेष गरी माघेसंक्रान्तिमा मात्र बजार पाउने गरेको छ ।
बगरको तरुलखेतीबाट मनग्य आम्दानी
जिल्लाको बागमती नगरपालिकाको धेरै तथा बरहथवा नगरपालिकाका केही स्थानमा तरुलखेती हुँदै आएको छ । विशेष गरेर बागमती नदी किनारस्थित बागमती बगर क्षेत्रमा किसानले तरुलखेती गर्दै आएका छन् । व्यावसायिक रूपमा उन्नत बिउबिजनको उपलब्धता तथा उत्पादन नभए पनि स्थानीयले आफैँले फलाएको तरुललाई बिउको रूपमा प्रयोग गरेर रातो र सेतो गरी दुई जातको तरुल उत्पादन गर्दै आएका छन् । रातो तरुलको उत्पादन कम हुने तथा खान मिठो हुने गरेकाले धेरै उपभोक्तानको रोजाइमा पर्ने गरेको छ ।
यसको मूल्यसमेत महँगो हुने गरेको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए । सेतो भने उत्पादन अत्यधिक हुने भए पनि खान त्यति मिठो नहुने उपभोक्ताको भनाइ छ । खुकुलो माटो चाहिने भएकाले बलौटे माटो अर्थात् बगरमा तरुलको उत्पादन राम्रो हुने गरेको किसानको भनाइ छ । विगतको भन्दा उत्पादनमा कम हुँदै गए पनि तरुलखेती बालुवामा सुन बनेको बागमती नगरपालिका– ६ का किसान रामपुकार रायले बताए ।
यहाँ तरुल फागुन–चैतदेखि जेठ–असारसम्म रोप्ने गरिन्छ । तरुलका लागि थांग्रा अनिवार्य चाहिने भएकाले मकैसँगै तरुल रोप्ने चलन छ । मकै उम्रिनका लागि चिसो चाहिने भएकाले वर्षात् भएपछि मात्र तरुल तथा मकै रोप्ने गरिन्छ । कहिलेकाहीँ वर्षात् ढिलो हुँदा तरुल रोप्नसमेत ढिला हुने गरेको किसानको भनाइ छ । यसले गर्दा उत्पादनमा समेत गिरावट आउने गरेको छ ।
बलौटे माटोमा अन्य बाली नहुने तथा जंगली जनावरले समेत नोक्सान नगर्ने भएका कारण तरुल बगरको सुन बनेको स्थानीय किसान सोमबहादुर तामाङले जानकारी दिए । बागमती र बरहथवा नगरपालिकास्थित बगर क्षेत्रमा धेरै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । बर्सेनि ७० देखि ८० बिघा क्षेत्रफलमा तरुल उत्पादन भइरहेको तथ्यांक छ ।
प्रतिकिसानले तीन सय ५० देखि हजार क्विन्टलसम्म तरुल उत्पादन गरेको पाइएको छ । यसरी उत्पादन भएको तरुल किसानले प्रतिकिलो ३० देखि ४० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री गर्ने गरेका छन् ।