१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मध्यपुरमाथि गरिएको कारबाही सच्याउन माग

निर्णय फिर्ता नभए एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने बी डिभिजन लिगमा आबद्ध १४ मध्ये १३ क्लबको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१७:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनमाथिको अनुशासन कारबाही सच्याउन माग राखेको छ । बी डिभिजनमा आबद्ध क्लबहरूले बिहीबार एन्फालाई कारबाही फिर्ता गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । बी डिभिजन क्लबका संयोजक तथा रानीपोखरी कर्नर टिम (आरसिटी)का अध्यक्ष कुमार राजभण्डारीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, सहायक महासचिव अरुणमान जोशी र दामोदर बद्री भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

अध्यक्ष राजभण्डारीले पूर्वाग्रही हिसाबले कारबाही गर्न नहुने र निर्णय उल्ट्याउनुपर्ने बताएका छन् । ‘अहिले एन्फाले पूर्वाग्रही रूपमा मध्यपुरमाथि कारबाही गरेको देखिन्छ, अनुशासन कमिटीले यसअघि के गरेको थियो ?’ उनले भने, ‘अहिलेसम्म अनुशासन कमिटीबाट केही पनि निर्णय आएको छैन ।’ 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई कार्यक्रममा सहभागी हुन साउदी अरेबियामा छन् । बी डिभिजनका संयोजक राजभण्डारीले सम्बन्धित निकायले आफूहरूको माग सुनुवाइ नगरेको अवस्थामा सर्वत्र यसको विरोध हुने जनाए । ‘एन्फा नेतृत्वले हाम्रो अनुरोध सुन्नुपर्छ, यदि उनीहरूले सुनेनन् भने जहाँ जानुपर्छ सबैतिर जान्छौँ ।’ एन्फाको २ पुसमा भएको कार्यसमिति बैठकले छानबिन प्रक्रिया पूरा नभएसम्म मध्यपुर युथलाई कुनै कार्यक्रममा सहभागी नगराउने निर्णय गरेको थियो । 

‘विधानविपरीत कार्य गरेको कारण थप अनुसन्धान र छानबिन गर्न एन्फा अनुशासन समितिमा पठाउने त्यस सम्बन्धमा निर्णय नभएसम्मका लागि फुटबल गतिविधिमा मध्यपुरलाई सहभागी नगराउने निर्णय भएको छ,’ एन्फाले निर्णयमा भनिएको छ । यद्यपि, एन्फाको पछिल्लो बैठकलाई कार्यसमितिका नौ सदस्यले अवैधानिक रहेको आरोप लगाएका छन् । 

एन्फाको कार्यक्रममा सहभागी नहुने धम्की
२३ कात्तिक मकवानपुरमा भएको एन्फाको विशेष साधारण सभा रोक्न मध्यपुर युथका एक पदाधिकारी अदालत पुगेका थिए । अदालतले अन्तरिम आदेश दिएन । अध्यक्ष नेम्वाङले हेटौँडामा विश्वासको मत पाएपछिको पहिलो बैठकबाटै मध्यपुरलाई कारबाही गरेका हुन् । यसको विरोधमा सहभागी १४ मध्ये १३ क्लब देखिएका छन् । उनीहरूले यो निर्णय फिर्ता नलिए एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने धम्की दिएका छन् । 

उनीहरूले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘मध्यपुर युथ एसोसिएसनलाई एन्फाद्वारा आयोजना गरिने सम्पूर्ण गतिविधिमा सहभागी नगराउने निर्णयप्रति बी डिभिजन क्लबहरूको बसेको बैठकले उक्त निर्णय यथाशीघ्र सच्याउनका लागि हार्दिक माग गर्दछ ।’ बी डिभिजन क्लबका प्रतिनिधिले निर्णय फिर्ता नलिएसम्म एन्फाद्वारा आयोजना हुने सम्पूर्ण गतिविधिमा आफूहरू सहभागी नहुने स्पष्ट पारेका छन् । 

संयुक्त हस्ताक्षरमा ब्रिगेड ब्वाइज, नयाँ बस्ती युथ, श्रीकुमारी, सरस्वती युथ, टुसाल युथ, आरसिटी, ब्वाइज युनियन, च्यासल युथ, वीरगन्ज युनाइटेड, झापा एफसी, श्री भगवती युवा र बाँसबारी युथ छन् । एन्फा उपाध्यक्ष दावा लामाको प्लानिङ ब्वाइज क्लबले ऐक्यबद्धता जनाएन । 

ad
ad