१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले सचिवालयमा झुलाघाट–चिवाभञ्ज्याङ अभियानको समीक्षा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१६:oo

‘राजावादीको चलखेल र नयाँ शक्तिको भाष्य निस्तेज बनायौँ’

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालित १८ दिने अभियानले राजवादी र पहिचानवादीको चलखेल र षड्यन्त्र निस्तेज बनाएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा बुधबार सम्पन्न केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले अभियानको समीक्षा गर्दै त्यस्तो निष्कर्ष निकालेको हो । 

१४ मंसिरमा झुलाघाटबाट सुरु भएको अभियान १ पुसमा चिवाभञ्ज्याङ पुगेर समापन भएको थियो । अभियान सकेर काठमाडौं फर्किएपछि अध्यक्ष ओलीले पदाधिकारी सम्मिलित सचिवालयको अनौपचारिक बैठक बोलाएर छलफल गरेका हुन् । ‘राजवादीहरू सलबलाएर राजा आऊ देश बचाऊ भन्दै हल्ला फैलाउँदै थिए, परिवर्तनकामी एमालेजस्ता पार्टीलाई पुरानो कित्तामा हालेर अब नयाँ पार्टीले गर्छ भन्ने जे भाष्य खडा गर्न खोजिँदै थियो, हाम्रो अभियानले राजावादी, पहिचानवादी, नयाँ पार्टी भनिने सबैका भ्रम, चलखेल र षड्यन्त्रलाई निस्तेज गरेको निष्कर्ष निकालेका छौँ,’ सचिव पद्मा अर्यालले नयाँ पत्रिकासँग भनिन्, ‘अभियानमा देखिएको जनसहभागिता र जागरणले एमाले अरूभन्दा फरक र जनआधारित पार्टी हो, जनताको आशा र भरोसा एमालेमाथि नै छ भन्ने तथ्यलाई पुनः एकपटक प्रमाणित गरेको छ ।’

सबै भ्रम, चलखेल, षड्यन्त्र निस्तेज भए : पद्मा अर्याल, एमाले सचिव
राजवादीहरू सलबलाएर राजा आऊ देश बचाऊ भन्दै हल्ला फैलाउँदै थिए, यस्तै परिवर्तनकामी एमालेजस्ता पार्टीलाई पुरानो कित्तामा हालेर अब नयाँ पार्टीले गर्छ भन्ने जे भाष्य खडा गर्न खोजिँदै थियो, हाम्रो अभियानले सबैका भ्रम, चलखेल र षड्यन्त्रलाई निस्तेज गरेको निष्कर्ष निकालेका छौँ

बैठकमा अध्यक्ष ओलीले अभियानको निष्कर्षबारे उपाध्यक्षसहित पदाधिकारीसँग सुझाव लिएका थिए । अभियानले जनतामा जागरण र उत्साह पैदा गरेको र कार्यक्रम पूर्ण रूपमा सफल रहेको पनि एमाले निष्कर्ष छ । निष्कर्ष सार्वजनिक गर्न एमालेले ८ पुसमा बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । अध्यक्ष ओलीले अभियानको निष्कर्ष सार्वजनिक गर्नेछन् ।  

उपमहासचिव प्रदीप ज्ञवालीले समृद्धिका लागि संकल्प यात्रा अभियानले राष्ट्रिय अभियानको स्वरूप ग्रहण गरेको निष्कर्ष निकालिएको जानकारी दिए । ‘अभियान राम्रो, भव्य र उपलब्धिपूर्ण रह्यो, यो अभियान एमालेको मात्र होइन, राष्ट्रिय अभियानजस्तै बन्यो,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘सबै निष्कर्षलाई लिपिबद्ध गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछौँ ।’ अध्यक्ष ओलीलाई जिल्ला–जिल्लामा सबै राजनीतिक दलले स्वागत गरेर साझा र सर्वदलीय मागपत्र र ज्ञापनपत्र बुझाएको र कार्यक्रममा पनि सबै राजनीतिक दल र सर्वपक्षीय भेटघाट र अन्तत्र्रिmया भएका कारण अभियानले राष्ट्रिय स्वरूप ग्रहण गरेको एमालेको निष्कर्ष छ ।

अर्को अभियान चलाउने
आगामी ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउनुअघि नै एमालेले झुलाघाट–चिवाभञ्ज्याङजस्तै अर्को राष्ट्रिय अभियान आयोजना गर्ने भएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्ष प्रवेशमा एमालेले कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेदेखि चौथो महाधिवेशनस्थल सिराहामा संग्रहालय निर्माण गर्ने, कम्युनिस्ट आन्दोलनको पुस्तक प्रकाशन र डकुमेन्ट्री निर्माण गर्नेलगायत तयारी गरिरहेको छ । त्यसअगावै तराईकेन्द्रित गरेर हुलाकी राजमार्गकेन्द्रित छुट्टै अभियान सञ्चालन गरिने महासचिव शंकर पोखरेलले मंगलबार घोषणा गरेका थिए ।

सचिव अर्यालले पनि पार्टी स्थापना दिवसअगावै समृद्धिका लागि संकल्प यात्राजस्तै तराईमा हुलाकी राजमार्गकेन्द्रित या काठमाडौं उपत्यकाकेन्द्रित राष्ट्रियस्तरकै अभियान सञ्चालन गर्ने गरी पार्टीले तयारी गरिरहेको बताइन् । अब बस्ने सचिवालय र स्थायी समिति बैठकमा त्यसबारे छलफल गर्ने एमालेको तयारी छ ।

ad
ad