बच्चाहरू चकचक गरिरहन्छन् । त्यसक्रममा आगो, तातोपानी, तातो खोलेलगायतले उनीहरूलाई पोल्न सक्छ । उनीहरू घरमा बिजुलीको प्लगमा औँला छिराउने पनि गर्छन् । यसले पनि उनीहरूलाई करेन्ट लागेर पोल्छ, जसलाई लो भोल्टेज जलन भनिन्छ ।
पोलेको वेलामा धेरै दुख्छ । त्यस्तो वेलामा नदुख्ने सुई लगाउन सकिन्छ । पोलेको बिरामीमा संक्रमण हुन्छ । जसले गर्दा नियमित ड्रेसिङ गर्न आवश्यक हुन्छ । गर्मीको दाँजोमा जाडो मौसममा पोल्ने (अग्नि जलन) धेरै हुने गरेको पाइएको छ । नवजात शिशुदेखि ठूला बालबालिकामा पनि यस्तो जोखिम रहन्छ । गाउँघरमा बच्चालाई तताउन बन्द कोठामा आगो बालिन्छ । जसले गर्दा निसासिएर ज्यान पनि जान सक्छ ।
भर्खर जन्मिएको बच्चालाई आगोमा सेक्ने गरिन्छ, यस्तो अवस्थामा पनि जोखिम रहन्छ । बच्चाको छाला एकदमै कलिलो हुन्छ । धेरै तातोमा तताउँदा पोल्न सक्ने भएकाले बच्चालाई सेकाउँदा धेरै ध्यान दिनुपर्छ ।
ठूलो बच्चाको हकमा हात–खुट्टा चलाउन थाल्छन् । गाउँघरमा दाउराको चुलो हुन्छ । तसर्थ, हिँड्ने उमेरका बच्चालाई आगोको चुलोनजिक जान दिनुहुँदैन । धेरै बच्चा दाउराको चुलोमा हात–खुट्टा पोलेका घटना सुन्नमा आएका छन् ।
बच्चालाई तातो पार्नलाई हट ब्यागको प्रयोग गर्छौँ । तर, त्यो पनि जोखिमयुक्त छ । हट ब्याग राम्रोसँग कसिएन भने पानी लिक भएर पोल्न सक्छ । यसमा पनि सावधान हुन जरुरी छ । अर्को केमिकल जलन हुन सक्छ । बाथरुम सफा गर्ने केमिकलले बच्चाको छाला भेट्यो भने छाला डढ्न सक्छ । यसतर्फ पनि सचेत रहनुपर्छ ।
जाडो मौसमा बिहानको घाममा राख्नु राम्रो हुन्छ । बच्चालाई बिहानीको घाममा राखेर मसाज ग¥यो भने भिटामिन डीको मात्रा पुग्छ । तर, दिउँसोको चर्काे घाम राख्नु हुँदैन ।
कुनै आगो वा पानीले पोल्दा गोलभेँडा, टुथपेस्ट आदि लगाउने चलन छ । तर, यस्तो गर्नुहुँदैन । बरु १५ मिनेटसम्म सफा चिसो पानीमा भिजाउँदा घाउ धेरै बढ्न पाउँदैन । बच्चामा समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजान सकिन्छ । समयमै उपचार गरियो भने विभिन्न समस्याबाट जोगाउन सकिन्छ ।