१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभर । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o८:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चक्रपथमा बन्ने चार फ्लाई ओभरमध्ये एकमा ललितपुर महानगरले लगानी गर्ने

ग्वार्को फ्लाई ओभर निर्माण ३० प्रतिशत मात्रै, आगामी असारमा सक्ने लक्ष्य

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:१७:oo

ललितपुर महानगरपालिकाले चक्रपथमा बन्न लागेको चारवटा फ्लाई ओभर वा अन्डरपासमध्ये एउटामा लगानी गर्ने भएको छ । चक्रपथको विभिन्न खण्डमा केन्द्र सरकारले बनाउन लागेको अन्डरपास र फ्लाई ओभरमध्ये एउटामा ललितपुरले ४० करोड रुपैयाँ ससर्त लगानी गर्न लागेको हो । 

चारवटा इन्टरसेक्सनमध्ये हाल ग्वार्को चोकमा सडक विभागले फ्लाई ओभर निर्माण गरिरहेको छ । बाँकी तीनवटा इन्टरसेक्सन (सातदोबाटो, एकान्तकुना र सानेपा)मा भने काम नै सुरु भएको छैन । यस्तै, सानेपामा फ्लाई ओभर वा अन्डरपास के बनाउने भन्नेबारे अध्ययन नै भएको छैन । सातदोबाटो र एकान्तकुना चोकमा भने अध्ययन भइसकेको छ । यी ठाउँमा फ्लाई ओभर तथा अन्डरपास बनाउन सकिने अध्ययनले देखाएको सडक विभागले जनाएको छ । 

काम सुरु गर्न बाँकी तीनमध्ये एउटा इन्टरसेक्सनमा महानगरले लगानी गर्ने महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । केन्द्र सरकारको लगानीमा बन्ने यस्ता ठूला योजनामा ढिलासुस्ती हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । ललितपुरवासीले केन्द्र सरकारको ढिलाइका कारण सास्ती नपाउन भनेर लगानी गर्न लागेको उनले बताए । सोही कारण ससर्त लगानी गर्न लागेको मेयर महर्जनको भनाइ छ ।

चारवटै संरचना तीन वर्षमा सक्नुपर्ने सर्त छ । ‘एउटा फ्लाई ओभर तथा अन्डरपास निर्माणमा करिब ४० करोड लाग्छ, त्यसमध्ये एउटामा हामीले लगानी गरिदिन्छौँ, तर केन्द्र सरकारले हामीले तोकेको समयमा काम गर्नुपर्छ,’ उनले भने, ‘फ्लाई ओभरको लगानी हाम्रो भए पनि सम्पूर्ण डिजाइन र प्राविधिक सहयोग केन्द्र सरकारकै हुन्छ । यसले गर्दा काम छिटो–छरितो सम्पन्न हुन्छ ।’ ग्वार्कोमा फ्लाई ओभर निर्माण सुरु भएसँगै ललितपुरमा अत्यधिक जाम भइरहेकोमा सडक विभाग संयमित हुनुपर्ने पनि बताए । 

 स्थानीय तहलाई लगानी गर्न नदिने सोचमा केन्द्र सरकार
ललिपुर महानगरले लगानी गर्ने घोषणा गरे पनि केन्द्र सरकारले भने ठूला योजनामा स्थानीय तहलाई मिसाउने–नमिसाउनेबारे निर्णय गरेको छैन । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग मेयर महर्जनले आफूले लगानी गरिदिनेबारे छलफल मात्रै गरेका हुन् । उनले केन्द्रको कार्यक्रम र मोडालिटीमा स्थानीय तहले लगानी गर्ने वा नगर्नेबारे छलफल भएपछि मात्रै महानगरलाई जिम्मेवारी दिन सकिने बताए । त्यसो त एउटा फ्लाई ओभर तथा अन्डरपासमा लगानी गर्ने तयार रहेको भन्दै ललितपुर महानगरपालिकाले विभागलाई पत्र काटिसकेको छ । तर, त्यसको जवाफ भने विभागले दिएको छैन । 

महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्वार्कोमा मात्रै फ्लाई ओभर निर्माण सकाएर ललितपुरको जाम अन्त्य नहुने बताए । उनले सातदोबाटो, कोटेश्वरतर्फ पनि व्यापक जाम बढ्न थालेकोले यी ठाउँहरूमा पनि एकैपटक विकल्प खोज्नुपर्ने जानकारी दिए । 

महानिर्देशक ढकालले केन्द्र सरकारको योजना भएकाले स्थानीय सरकारको बजेट लिने वा नलिने भन्नेबारे प्रस्ट छलफल भइनसकेको बताए । ग्वार्को चोकमा बन्दै गरेको फ्लाई ओभर असारसम्म सकिने दाबी गर्दै उनले त्यसपछि सडक विभागले नै सानेपा, एकान्तकुनालगायत ठाउँमा काम थाल्ने बताए । तीनवटै ठाउँमा एकैपटक काम गर्दा सवारी आवागमनमा सास्ती हुने भन्दै सडक विभागले सर्वप्रथम ग्वार्कोमा काम थालेको थियो । तर, ग्वार्को फ्लाई ओभरको डिजाइन र फाउन्डेसनमा त्रुटि हुँदा केही समय काम प्रभावित बनेको थियो । तर, पछिल्लो समय दु्रत गतिमा काम भइरहेको विभागको दाबी छ । 

 ग्वार्को फ्लाई ओभर निर्माण ७० प्रतिशत बाँकी
फाउन्डेसन तथा डिजाइनमा त्रुटि भएको भन्दै केही समय अन्योल बनेको ग्वार्को फ्लाई ओभर निर्माणले पछिल्लो समय तीव्रता पाएको छ । शुक्रबारसम्ममा सातदोबाटोतर्फ र कोटेश्वरतर्फको फाउन्डेसनको ‘पाइल क्याप ढलाइ’ सकिएको छ । सबस्टरचर र तीवटा मुख्य बिम (गर्डर)को डन्डी बाँध्ने काम सुरु भएको छ । त्यस्तै, एप्रोच सकडको काम पनि एक सातापछि सुरु हुँदै छ भने हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । सबैतिर जगको काम सकिएकाले अबको काममा ढिलाइ नहुने सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले जानकारी दिए । उनका अनुसार मुख्य ओभरपासको जगको काम पनि सम्पन्न भइसकेको छ । 

 

ad
ad