१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : राजा र आँपको वृक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o१:oo

उहिल्यै एक राजा थिए । उनी जनताका दुःखपीडामा साथ दिने न्यायप्रेमी राजाका रूपमा परिचित थिए । उनी आफ्ना जनताका सुख–दुःखमा जहिल्यै साथ दिन्थे । जनता पनि उनलाई आफ्ना अभिभावकसरह मान्थे । 

एक दिन राजा भेष बदलेर सहरमा घुम्दै थिए । उनले एक वृद्धले खाली जमिनमा बिरुवा रोप्दै गरेको देखे । जिज्ञासावश राजा वृद्धको नजिकै गए र सोधे– बाबा, तपाईं यो केको बिरुवा रोप्दै हुनुहुन्छ ? वृद्धले सानो स्वरमा जवाफ दिए– आँपको । राजाले यसो विचार गरे र हिसाब लगाए । बिरुवा ठूलो भएर फल लाग्न कति वर्ष लाग्छ भन्ने उनले अनुमान लगाए ।

केहीबेरको मौन हिसाब–किताबपछि राजाले भने– बाबा, यो बिरुवा ठूलो भएर फल दिने समय हुन्जेल के तपाईं रहनुहोला र यसको फल सेवन गर्न पाउनुहोला त ? सायद राजा यी वृद्धले बेकारमा श्रम गरिरहेका छन्, यिनले यी बिरुवा ठूला भएर दिने फल सेवन गर्ने मौका पक्कै पाउनेछैनन् भन्ने सोचिरहेका थिए ।

भेष बदलेका राजाको प्रश्न सुनेपछि वृद्धले उनलाई पुलुक्क हेरे र जवाफ दिए– सायद तपाईंलाई लागिरहेको होला, म पागलपन देखाइरहेको छु । जुन कामबाट कसैलाई फल प्राप्त हुँदैन त्यो काममा मिहिनेत गर्नु बेकार हो भन्ने तपाईंलाई लागेको हुन सक्छ । तर, अरूहरूले यसैगरी लगाएर छाडेका बिरुवाको फल मैले अहिलेसम्म कति खाएँ होला ?

जब अरूले लगाएका बिरुवा बढेपछि तिनको फल मैले सेवन गर्न पाएँ भने मैले अहिले लगाएका बिरुवा बढेर दिने फल अरूहरूले पनि त सेवन गर्लान् नि, होइन ? के हामीले केवल आफ्ना लागि मात्र सोच्नुपर्ने हो र ? के स्वार्थ छाडेर अरूका लागि पनि काम गर्नु मनुष्यको जिम्मेवारी होइन र ? वृद्धको यस्तो जवाफ सुनेपछि राजा प्रसन्न भए । उनले आज निकै ठूलो र गहन शिक्षा प्राप्त गरे ।

ad
ad