१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पाटनको दत्तात्रय मन्दिर ललितपुर महानगरले नै पुनर्निर्माण गर्ने 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५५:oo

पुरातत्व विभागले ०७९ मा विनियोजन गरेको डेढ करोड बजेट विवादका कारण फ्रिज भएको थियो 

आठ वर्षअघि गएको भूकम्पले जीर्ण बनेको ललितपुर पाटन दरबार क्षेत्रस्थित दत्तात्रय मन्दिर पुनर्निर्माण हुने भएको छ । उक्त मन्दिर ललितपुर महानगरपालिकाले नै पुनर्निर्माण गर्न लागेको हो ।

यसअघि स्थानीय, पुरातत्व विभाग र महानगरबीच कुरा नमिल्दा मन्दिर पुनर्निर्माण हुन सकेको थिएन । मन्दिरको एकातर्फ निजी घर रहेकाले समेत पुनर्निर्माणमा समस्या भइरहेको थियो । महानगरपालिकाले उक्त घर खाली गर्न घरधनीलाई निर्देशन दिएको छ । हाल अमेरिकामा बस्दै आएका घरधनीसँग कुरा मिलिसकेकाले अब पुनर्निर्माण अघि बढ्ने महानगरले जनाएको छ । यसका लागि करिब एक करोड लागत लाग्ने र आगामी माघदेखि नै पुनर्निर्माण थाल्ने महानगरको तयारी छ । 

पुनर्निर्माण यसै वर्ष सकिन्छ : चिरिबाबु महर्जन मेयर, ललितपुर महानगरपालिका 
पाटन क्षेत्रका सबैजसो सम्पदा पुनर्निर्माण गरिसक्यौँ । तर, दत्तात्रय मन्दिर भने बाँकी छ । विवाद मिलिसकेकाले अब यसै वर्ष मन्दिर पुनर्निर्माण हुन्छ । 

महानगरपालिका मेयर चिरिबाबु महर्जनले उक्त मन्दिरको एकातर्फको भाग स्थानीयको घरसँग जोडिएकाले उक्त भाग खाली गर्न निर्देशन दिइसकेको बताए । ‘पाटन क्षेत्रका सबैजसो सम्पदा पुनर्निर्माण गरिसक्यौँ । यही दत्तात्रय मन्दिर मात्रै बाँकी छ । घरधनीसँग कुरा मिलिसकेको छ,’ उनले भने, ‘उहाँहरूले मन्दिरसँग जोडिएको भाग खाली गरिदिने सहमति गर्नुभएको छ, यसै वर्ष मन्दिर पुनर्निर्माण हुन्छ, उपत्यकाका तीनवटा दत्तात्रय मन्दिरमध्ये यो पनि एक हो ।’ यसअघि ०७९ मा स्थानीय, पुरातत्व विभाग र महानगरबीच मन्दिर पुनर्निर्माण कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा ढिलाइ भएको थियो । साथै, मन्दिरसँग घर जोडिएको घरधनी अमेरिकामा बस्ने भएकाले पनि सबै पक्षसँग कुरा मिलाउन गाह्रो भएको मेयर महर्जनको भनाइ छ ।

यो मल्लकालीन मन्दिर हो । ०७२ सालको भूकम्पबाट भत्किएका यहाँका कृष्ण मन्दिर, भीमसेन मन्दिर, चार नारायण मन्दिर, विश्वरूपा मन्दिर, दुईवटा मल्लकालीन पाटी पुनर्निर्माण भइसकेका छन् । दरबार क्षेत्रमै अवस्थित भाइदेग मन्दिर (१९९० सालको भूकम्पमा भत्किएको) पनि ७० प्रतिशतभन्दा बढी पुनर्निर्माण कार्य भइसकेको छ । 

मंगलबजारका राजु ताम्राकारका अनुसार स्थानीयको घरले समेत मन्दिरको केही भाग अतिक्रमण गरेकाले त्यसलाई हटाउन पहल हुँदै आइरहेको बताए । दत्तात्रय मन्दिर स्थानीय व्यक्तिले बनाएको घरको चेपुवामा परेको छ,’ उनले भने, ‘घरधनीले मन्दिरको एकापट्टिको छानोसमेत भत्काएका छन्, यसलाई पुरानै अवस्थामा लैजान आवश्यक छ ।’ महानगरपालिकाले अतिक्रमण गरेको मन्दिरको भाग खाली गरिदिन निर्देशन दिएपछि स्थानीय व्यक्ति सहमत भइसकेका छन् । हाल मन्दिरमा रहेको महादेवको मूर्तिलाई जस्तापाताले छोपिएको छ ।

मन्दिर परिक्रमा गर्ने बाटो पनि बन्द छ । सामुन्ने अग्ला घर ठडिएका छन् । रेखदेख नहुँदा मन्दिरमा प्रयोग भएका कामसूत्रका टुँडाल चोरी भएको स्थानीय ताम्राकारको भनाइ छ । स्थानीय सुदर्शन महर्जनका अनुसार मल्लकालीन समयताका मठमन्दिर संरक्षणका लागि यहाँ पुरी समुदायलाई राखिएको थियो । तर, अहिले तिनै समुदायका व्यक्तिले बनाएको घरले मन्दिरको छानो खसेको छ । यो मन्दिरको नजिकै एउटा मल्लकालीन पाटी पनि थियो । तर, त्यो पाटी भएको ठाउँमा व्यक्तिको घर बनेको छ । हरेक वर्ष ३ पुसमा दत्तात्रय मन्दिरमा स्थानीयवासीले धूमधामसँग पूजाआजा गर्ने चलन पनि छ । 

त्यसो त पुरातत्व विभागले मन्दिर पुनर्निर्माणका लागि भनेर ०७८/७९ मा डेढ करोड बजेट छुट्याएको थियो । तर, उक्त बजेटसमेत फ्रिज भयो । विभागका अनुसार मन्दिर स्थानीय, उपभोक्ता, उद्योग वाणिज्य संघ, ललितपुर महानगरमध्ये कसलाई पुनर्निर्माणको जिम्मेवारी दिने भन्नेबारे विवाद भएपछि उक्त बजेट फ्रिज भएको थियो । यस वर्ष भने पुरातत्वले सो बजेट कटौती गरेको छ । 

ad
ad