१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरु पाल्ने किसानलाई सम्मानस्वरूप हलो उपहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२५:oo

मान्छे बर्सेनि दोब्बर संख्यामा पहाडबाट बसाइँसराइ सरेर मधेश झरेका छन् । गुल्मीका ग्रामीण बस्तीहरूमा मान्छे बस्नेभन्दा नबस्ने घरहरू धेरै हुन थालेका छन् । मलिला खेत र बारीहरू बाँझिँदै गएपछि हरियाली देखिने पखेराहरू पनि उराठ छन् । जिल्लाबाट सबैभन्दा बढी युरोप छिर्ने स्थानीय तह मुसिकोट हो । तर, मुसिकोट नगरपालिका– ८ ले वडाले कृषि कर्म गरिरहेकाहरूलाई प्रोत्साहन गर्न गोरु पाल्ने किसानहरूलाई हलो उपहार प्रदान गरेको छ।

मुसिकोट नगरपालिका– ८ का ४० जना किसानलाई हलो, फाली, कराह र क्याल्सियम प्रदान गरिएको मुसिकोट नगरपालिका– ८ का वडा सचिव प्रदीप पौडेलले जानकारी दिए । गाउँमा व्यावसायिक खेती गर्नेभन्दा जीविकोपार्जनकै लागि कृषि कर्म गर्नेहरू बढी छन्। धेरैले गोरु पाल्न छोडे । गाउँमा ट्रयाक्टर वा मेसिनको कम प्रयोग गरिन्छ । जोत्ने गोरुहरूको अभाव किसानहरूले झेलिरहेका छन् । 

जसका कारण गोरु पाल्ने किसानको सम्मानका लागि हलो प्रदान गरिएको वडाध्यक्ष रमेश विकले बताए । मुसिकोट नगरपालिका– ८ का कृषक ४७ वर्षीय हिराबहादुर नेपाली १५ वर्षदेखि गोरु पालेका छन् । उनले छिमेकी चारजना घनश्याम सापकोटा, भक्त केसी, गुञ्जबहादुर केसी र कृष्ण विकको खेतबारीमा ठेक्कामा काम गरेका छन् । छिमेकीहरू बसाइँ सरेर बामी र तराई झरे । हातमा बल र सीप भएका नेपालीले धान, मकै र गहुँ तीन बाली भित्र्याउँछन् । आफ्नो काम सकेर गाउँमा पनि गोरु पुर्‍याउँछन् । एक हल गोरु र हलीको एक हजार पाँच सय रुपैयाँ पारिश्रमिक छ । गाउँमा गोरु पाल्नेहरू निकै कम हुँदै गएको वेला वडाले गरेको सम्मानले ऊर्जा मिलेको नेपालीले बताए । ‘गाउँमा मेसिन नपुग्ने खेतबारी बाँझै बसे । बडो मुस्किलले गोरु पाइन्छ,’ उनले भने, ‘जनशक्ति नहुँदा हलो पनि पाइँदैन ।’

मुसिकोट नगरपालिकाले कृषि, पर्यटन र उद्योगलाई प्रमुख समृद्धिको आधार मानेको छ । जसका लागि व्यावसायिक कृषि गर्ने किसानलाई अनुदान, प्रविधि सहयोग र सीप विकासमार्फत उद्यम सिर्जनाका काम गरिरहेको छ भने पर्यटन पूर्वाधार निर्माणमा पनि नगरले जोड दिइरहेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । खरेलले यो वर्षबाट बाँझो रहेका जग्गा भूमि बैंक स्थापना गरी नगरले लिएर काम गर्ने युवा उद्यमीहरूलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

त्यस्तै, नगरले बजारीकरणतर्फ कृषि उपजको बिक्री सुनिश्चित गर्न इकाइ स्थापना र मूल्य तोकेर कृषकको बजारमा नबिकेका कृषि उपज खरिद गरेर किसानलाई घाटाबाट जोगाउने काम पनि गरिरहेको खरेलले जानकारी दिए । उनले बिस्तारै नगरले आफैँ वा सहकारीमार्फत व्यावसायिक फर्महरू बनाएर कृषि मजदुर नियुक्त गर्ने र उत्पादन वृद्धि गर्ने तथा ठूलो प्लटमा काम गर्नेहरूलाई अनुदान सहयोगलगायतको कृषि योजना बनाएको बताए ।

ad
ad