१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पवन बराइली काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रंगमञ्चमा बढ्दै छ आकर्षण

Read Time : > 2 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo

संगीता थापा पछिल्लो ६ वर्षदेखि रंगकर्ममा सक्रिय छिन् । अहिलेसम्म उनले १८ वटा नाटकमा अभिनय गरिसकेकी छिन् । सुरुमा उनलाई गायिका बन्ने रहर थियो । तर, ‘जोखाना’ नामक नाटकमा गरेको  अभिनयबाट प्रशंसा कमाएपछि रंगमञ्चमै रमाइन् । ‘दर्शकको राम्रो प्रतिक्रिया आयो । त्यसपछि नाटकमै कोसिस गरौँ न त भन्ने सोच आयो । एकपछि अर्काे नाटकमा काम पाउन थालेँ, अहिले यसैमा रमाइरहेकी छु,’ उनले भनिन् । 

विगत १० वर्षदेखि नाट्य क्षेत्रमा सक्रिय इंगिहोपो कोइच सुनुवारले अहिलेसम्म दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । सानैदेखि साहित्यमा रुचि राख्ने कोइचले जीवनको खुसी खोज्न कलेज जीवनदेखि नै रंगकर्ममा लागेको बताए । उनले अभिनयसँगै विभिन्न नाटकको परिकल्पना र निर्देशनसमेत गरिसकेका छन् । पछिल्लो समय उनको निर्देशनमा बनेको ‘दमिनी भिर’ चर्चामा थियो । 

उनी भन्छन्, ‘अब नाटकलाई छोड्न सक्दिनँ । यसबाट टाढा बस्नै सकिँदैन ।’जुम्ला घर भई हाल काठमाडौंमा बस्दै आएका गोविन्द सुनार फ्रिलाइन्सरको रूपमा विभिन्न थिएटरमा काम गर्दै आइरहेका छन् । जुम्ला हुँदै पनि उनले सडक नाटकमा अभिनय गर्थे । अहिलेसम्म उनले दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । उनी भन्छन्, ‘रंगमञ्चमार्फत मैले आफ्नो समुदायको कुरालाई प्रत्यक्ष रूपमा आममान्छे माझ भन्न सक्छु भन्ने आँट भयो । रंगमञ्च मेरो आवाज सुनाउने ठाउँ हो जस्तो लाग्यो । असमानताविरुद्ध आवाज उठाउने गतिलो ठाउँ हो ।’उनी भन्छन्, ‘मैले म्युजिक भिडियो र फिल्ममा पनि काम गरेको छु । जसले गर्दा मेरो जीवन चल्छ । नाटक गरेर मात्रै बाँच्न गाह्रो छ । वर्षमा २÷३ वटा नाटकमा काम गर्छु ।’ 

एक्टर्स स्टुडियोबाट अभिनय प्रशिक्षण लिएकी रोशनी स्याङ्बो पनि नाटकसँगै म्युजिक भिडियो र विज्ञापनमा अभिनय गर्छिन् । उनी भन्छिन्, ‘नाटकले कामप्रति इमानदारी बन्न र धैर्य गर्न सिकायो । अहिले नाटकसँगै विज्ञापन र म्युजिक भिडियो पनि गर्ने गर्छु । यसले आर्थिक रूपमा पनि सहयोग पुर्‍याएको छ ।’

पछिल्लो केही वर्षयता  नेपाली रंगमञ्चमा नयाँ पुस्ताको आकर्षण बढेको नाट्यकर्मी विमल सुवेदी बताउँछन् । उनी भन्छन्, ‘युवाको उपस्थिति बाक्लो देखिन्छ । यो रंगकर्मका लागि सुखद पक्ष हो ।’नाट्यकर्मी केदार श्रेष्ठका अनुसार पछिल्लो पाँच/सात वर्षयता युवा रंगकर्मीको संख्या ह्वात्तै बढेको छ । ‘१९–३० वर्ष उमेर समूहका नयाँ पुस्ताका युवामा पनि आकर्षण बढ्दो छ । निर्देशन गर्न चाहनेको संख्या पनि बढेको छ । उनी भन्छन्, ‘नाटक हेर्न आउने दर्शक पनि युवा पुस्ता बढी छन् । यसले रंगमञ्चको विकास लागि सघाइरहेको छ ।’

फरक–फरक विधामा नाटक बनिरहेको पनि उनले बताए । ‘नाटकको विभिन्न विधाको अभ्यास पनि भइरहेको छ । यसले थिएटरलाई समृद्ध बनाउन पनि सघाउ पुगेको छ । संख्याको हिसाबले नाटक हेर्न सुविधा पनि छ ।  व्यावसायिक हिसाबले पनि सहयोग गरेको छ,’ नाट्यकर्मी श्रेष्ठ भन्छन्, ‘नयाँ पुस्ताले गुणस्तरमा पनि सोच्नुपर्ने भएको छ । अभिनयमा, कन्टेन्ट, प्रस्तुति शैलीजस्ता कुरामा निखारता ल्याउन जरुरी छ ।’ 

नाट्यकर्मी विजय बराल सिनेमामा भविष्य खोज्ने सोचसहित नाट्य प्रशिक्षण लिन आउनेको संख्या पनि ठूलो रहेको बताउँछन् । ‘सिक्न आउनेको संख्या बढ्दो छ । थिएटरबाट सिनेमामा राम्रो काम गरिहेको देखेर नाटक सिक्न आउने संख्या बढ्दो छ । थिएटरले  सिनेमामा जान सजिलो हुन्छ भन्ने सोचले आएको देखिन्छ,’ उनले भने ।  

युवा नाट्यकर्मीले ध्यान दिनुपर्ने पक्ष
नेपाली रंगमञ्चमा नयाँ पुस्ताको आकर्षण बढेको छ । युवाहरू हाबी भएपछि जुनसुकै प्रोफेसन पनि समृद्ध भएर अगाडि जान सक्छ । उनीहरूसँग ऊर्जा हुन्छ । युवा पुस्ताले सिकाइको प्रक्रियालाई सँग–सँगै लैजान सक्यो भने अझै राम्रो हुने थियो । रुचि र सहभागिता आफैँमा सकारात्मक पक्ष भयो । हाम्रो आर्ट क्षेत्रमा आफ्नोबारे थाहा नहुनु, आफ्नो समाजको बारेमा थाहा नहुनु ।

क्राफ्टिङ गर्ने विषयमा अलि ज्ञान नहुनुचाहिँ कमजोरी हो । किनकि, जुन व्यक्तिले  आफँैलाई बुझेको हुँदैन । उसलाई कुनै काम किन गरिहेको छु भन्ने पनि थाहा हुँदैन । उसले बाँचेको समाज, त्यसको इतिहास, त्यसको भौगोलिक परिवेश, विश्व राजनीति तथा सामाजिक परिस्थिति कहाँ कनेक्ट हुन्छ भन्ने कुराको बुझाइ हुनुपर्छ । यी कुरा नबुझी तपाईंले गरेको कलाले अर्थ राख्दैन । मनोरञ्जन दिन सकिएला, इन्गेजमेन्ट पनि हुन्छ, चर्चित पनि हुन्छ । तर, त्यसले कतिको अर्थ राख्छ भन्ने प्रमुख कुरा हो । 

त्यसैले, व्यक्तिले आफूलाई र आफ्नो समाजलाई बुझ्नुपर्छ । नयाँ पुस्ताले सिक्न–बुझ्न जरुरी छ । कतिपय अवस्थामा जराविहीन भएर हुर्किरहेको महसुस हुन्छ, मलाई । हाम्रो समाजको एनाटोमी, समाजको शरीर राजनीति, इतिहासको चेतना, समाजशास्त्रको चेतना कम भएकाले हो भन्ने पनि लाग्छ । जरालाई समातिएन भने लामो यात्रा गर्न सजिलो हुँदैन । तर, युवा पुस्ता आउनु आफैँमा सुन्दर कुरा हो । यो चिज सही दिशामा गइरहेको छ । नयाँ समाजलाई फराकिलो गरी हेर्न सक्नुपर्छ । 

ad
ad