१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकै दिन तीनपटक ‘सर्किट ब्रेक’ दुई वर्षपछि १११ अंकले बढ्यो नेप्से

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१३:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार अवधिअगावै बन्द भएको हो । दुई वर्षपछि सेयर बजार उच्च अंकले बढेको हो । बजार खुलेदेखि नै उत्साहजनक रूपमा बढेपछि तीनपटकसम्म सर्किट ब्रेक लागेको थियो । नेप्से सूचक एक सय ११ दशमलव २० अंकले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ विन्दुमा पुगेको छ ।

बजार खुलेको पाँच मिनेटमै ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजारमा कारोबार सुरु भएको एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढेमा २० मिनेट ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशत बढे ४० मिनेटका लागि ब्रेक लाग्छ । जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ । दुई वर्षअघि २८ मंसिर ०७८ मा नेप्से सूचक एक सय ३७ दशमलव १८ अंक अर्थात् ६ दशमलव शून्य १ प्रतिशतले बढेको थियो । 

आइतबार कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूहको सूचक ८ दशमलव ६३ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स समूह र होटेल तथा पर्यटन समूह तथा लगानीगत समूहको सूचक ६ दशमलव ४९ प्रतिशतदेखि ६ दशमलव ७२ प्रतिशतले बढेको छ । 

 ६ कम्पनीको सेयर मूल्यमा सर्किट 
रिलायन्स फाइनान्स, जोशी हाइड्रो डेभलपमेन्ट कम्पनी, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, शुभम् पावर, कालिञ्चोक दर्शन, इन्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । छोटो समयमै बन्द भएको बजारमा १३ लाख ६७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा माउन्टेन इनर्जी, सोनापुर मिनरल्स एन्ड आयल, नेपाल इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको एक करोड ७५ लाख रुपैयाँदेखि तीन करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ बनाएको थियो । यससँगै लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको देखिएको छ । लगानीकर्ता छोटेलाल रौनियारले मौद्रिक नीति समीक्षाले लगानीकर्ताको मनोबल उच्च रहेको हुँदा बजार सकारात्मक बनेको बताए । उनले भने, ‘बजारमा सर्किट ब्रेक लाग्नुको अर्थ लगानीकर्ताको मनोबल उच्च रहेको छ भन्ने देखिन्छ, लगानी गर्ने सही समय हुँदा बजार आगामी दिनमा सकारात्मक बन्नेछ ।’

‘सर्किट ब्रेक’ अस्वाभाविक 
विज्ञहरू भने नेप्से परिसूचकमा यस्तो वृद्धि अस्वाभाविक भएको बताउँछन् ।  अहिले नेप्से परिसूचक बढ्नुको कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई लिइएको छ । मौद्रिकमा केही लचिलो नीति ल्याएको त छ । तर, यो दरमा सेयर बजार बढ्ने आधार भने नभएको नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी बताउँछन् । हिजोआज अर्थतन्त्रमा कुनै उलेख्य परिवर्तन पनि नआएको हुनाले यसलाई स्वाभाविक मान्न नहुने उनको भनाइ छ । राष्ट्र बैंकको नीतिले सेयर कर्जा लिँदा हुने खर्च मात्रै घटाउने हो, त्यसले सूचीकृत कम्पनीको कार्यसम्पादनमा कुनै असर नगर्ने उनको भनाइ छ । उनले भने, ‘तसर्थ, लगानीकर्ता सचेत हुनुपर्छ ।’

मौद्रिक नीतिले ब्याजदर घटाउने नीति पनि ल्याएको छ । तर, बैंकहरूले लामो समय अवधिको मुद्दती निक्षेप राखिरहेको हुनाले त्यसको असर तत्काल देखिने अवस्था छैन । समग्रमा सेयरमा सर्किट ब्रेक नै लाग्ने अवस्था नभएको उनको भनाइ छ । तर, अब सेयर बजार बढने वेला आएको एक विश्लेषकले बताए । ‘अब करिब–करिब बियरिस समय सकिँदै छ । बैंकिङ क्षेत्रमा बढ्दै छ भने ब्याजदर पनि घटेको छ । सेयर कर्जासम्बन्धी नीति खुकुलो हुँदै गएको छ । त्योअनुसार बजार बढ्ने आधार तय हुन लागेको छ,’ उनले भने, ‘तर, अर्थतन्त्र भने शिथिल नै छ । तसर्थ, सामान्य नीतिगत परिवर्तन हुँदैमा यो स्तरको उग्र हुनुहुँदैन ।’

 मौद्रिक नीति र सेयर बजारको सम्बन्ध 
सेयर बजार र मौद्रिक नीति अर्थात् राष्ट्र बैंक फरक–फरक क्षेत्र हुन् । तर, व्यावहारिक रूपमा भने मौद्रिक नीति र सेयर बजार एक–आपसमा अन्तरसम्बन्धित छन् । मौद्रिक नीतिले समग्र अर्थतन्त्रको विकासबारे विभिन्न नीति ल्याएको हुन्छ । पुँजी बजार पनि अर्थतन्त्रको एउटा अंग हो, त्यो अवस्थामा मौद्रिक नीतिबाट पुँजी बजार कुनै न कुनै रूपमा प्रभावित हुन्छ । साथै, ब्याजदर र पुँजी बजार पनि एक–आपसमा अन्तरसम्बन्ध हुन्छ । 

ब्याजदर बढी हुँदा लगानीकर्ताले सेयर बिक्री गरेर मुद्दती निक्षेपमा राख्ने प्रवृत्ति छ । ब्याजदर कम हँुदा बैंकको पैसा झिकेर सेयर बजार, घरजग्गा, सुन तथा सट्टेबाजीजस्ता छोटो समयमै प्रतिफल दिने ठाउँमा लगानी गर्ने प्रवृत्ति अन्तर्राष्ट्रिय बजारमा छ । मौद्रिक नीतिले ब्याजदर घटाउने कि बढाउने भनेर पनि ठोस नीति ल्याउने गर्छ । त्यसले गर्दा पनि सेयर बजार र मौद्रिक नीति एक–आपसमा अन्तरसम्बन्धित हुन्छन् ।

ad
ad