
इजरायलको लगातारको आक्रमणले गाजामा ठूलो मानवीय संकट उत्पन्न भइरहेका वेला अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका छन् ।
प्यालेस्टिनी नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतंककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरूबारे छलफल केन्द्रित गरेका थिए । राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्वमा विशेष जोड दिएको बताइएको छ ।
उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् । ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ ।’
बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)लाई हमास आतंककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिअनुसार उनले युवती (महिला) नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ । दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ । (एजेन्सी)