Skip This
कला, संस्कृति झल्कने चित्रले रंगिँदै धनगढीका पर्खाल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
तस्बिर : धनगढी रंगशालाको पर्खालमा कोरिएका चित्र।
२o८o मङ्सिर २१ बिहीबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कला, संस्कृति झल्कने चित्रले रंगिँदै धनगढीका पर्खाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १६:१९:oo

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक पर्खालमा सुदूरपश्चिमका पर्यटकीय गन्तव्य तथा यहाँको कला, संस्कृति, वेशभूषा झल्कने चित्रहरू कोर्न थालेको छ।

सहरी सौन्दर्य बढाउन र कला संस्कृतिको जगेर्ना गर्न वालहरूमा चित्र कोर्न थालिएको उपमहानगरले जनाएको छ।

धनगढी पार्क क्षेत्र र रंगशालाका पर्खालमा थारू समुदायको सखिया नाच, सुदूर पहाडमा प्रख्यात भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र कोरिएका छन्।

खप्तड, बडिमालिका, दोधारा–चाँदनी जोड्ने झोलुंगे पुललगायत यहाँका प्रमुख पर्यटकीय गन्तव्य तथा प्रसिद्ध मठमन्दिरलगायत धार्मिक क्षेत्रका चित्रहरू पनि पर्खालमा देख्न सकिन्छ। 

सहरी सौन्दर्य बढाउनेसँगै यहाँका विभिन्न समुदायका कला, संस्कृति, वेशभूषा, रहनसहन चिनाउन पर्खालहरूमा चित्र बनाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताएका छन्। ‘बाहिरबाट धनगढी आउने मान्छेलाई यहाँको कला, संस्कृति, वेशभूषा, रहनसहन कस्तो छ भनेर देखाउन खोजेका हौँ,’ उनले भने। सुदूरपश्चिमको समग्र संस्कृतिलाई वालमा झल्काइने हमालले बताए।

जनजीवनमा हिजो प्रयोग भएका र आज लोप भएका संस्कार, संस्कृतिलाई चित्रमा भए पनि जीवन्त राख्न खोजिएको उनको भनाइ छ । पर्खालमा कोरिने यहाँका पर्यटकीय तथा धार्मिक गन्तव्यका तस्बिरले नगरको सौन्दर्यसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने नगरपालिकाको विश्वास छ।  

उपमहानगरपालिका क्षेत्रका सडकछेउका पर्खालहरूमा पनि सुदूरपश्चिमका संस्कृति, परम्परा, वेशभूषा, परिकार, कला, तीर्थस्थल र पर्यटनकीय स्थलका तस्बिरहरू कोरिने उपमहानगरले जनाएको छ। 

नगरप्रमुख हमालले यहाँको वेशभूषा, संस्कृति तथा हिजोका दिनमा प्रयोग भएका, तर अहिले लोप भएका चालचलनका तस्बिरहरू उपलब्ध गराएर सहयोग गरिदिन सबैलाई आग्रह गरिएको बताए। राजनीतिक नाराहरू लेखिएका पर्खालमा चित्रहरू ‘पेन्टिङ’ गर्दा यहाँको कला, संस्कृति, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै सहरी सौन्दर्य पनि बढ्ने नगरवासीले बताएका छन् ।