१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २२:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुटु र फोक्सोको गति बन्द भएर हुने मृत्यु रोक्न सिपिआर तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २२:५८:oo

फोक्सो वा मुटुको गति रोकिएर मानिस जुनसुकै वेला पनि मृत्युको मुखमा पुग्न सक्छ । त्यस्ता मानिसलाई बचाउने उपाय हो, कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) । तत्कालै सिपिआर दिइयो भने मानिस बाँच्ने सम्भावना हुन्छ । तर, त्यसवेला स्वास्थ्यकर्मी नहुन पनि सक्छन् । यस अवस्थामा सिपिआर बुझेका व्यक्तिले सिपिआर गरेर पनि बिरामीलाई बचाउन सक्छ । 

मुटु वा फोक्सो बन्द भएर हुने त्यही मृत्युलाई रोक्न काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका केही कर्मचारीलाई तालिम प्रदान गरेको छ । महानगरका एक दर्जनभन्दा बढी कर्मचारीले सिपिआरको आधारभूत तालिम लिएका छन् । यससम्बन्धी सीप विकासका लागि आयोजना गरिएको तीनदिने तालिम १७ मंसिरमा सम्पन्न भएको छ । 

महानगरको विपत् व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडासचिव, इन्जिनियर र विपतका समयमा सक्रिय हुनुपर्ने विभागहरू (प्रशासन, लेखा)का अधिकारीको सहभागिता थियो । 

तालिमका प्रशिक्षक डा. श्रीराम शर्माले सबै कार्य स्वास्थ्य संयन्त्रबाट मात्रै सम्भव नभएको भन्दै अन्य मानिसले पनि सिक्नुपर्ने बताए । 

‘सबै काम एउटै संयन्त्रबाट सम्भव हुँदैन, महानगरपालिका र आमनागरिकले पनि नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘सिपिआर बुझेका व्यक्तिले गर्दा व्यक्तिको जीवन बाँच्न सक्छ ।’ उनले नसर्ने रोगले व्यक्तिहरूले मृत्युवरण गरिरहेको सन्दर्भमा आफैँले कम गर्न सक्ने जोखिमप्रति आफैँ संवेदनशील हुनुपर्ने बताए । 

विभागका प्रमुख गंगाधर गौतमले नागरिकका सम्भावित खतरा कम गराउन कर्मचारी र महानगरपालिकाको संस्थागत क्षमता बढाउन आवश्यक रहेको बताउँदै तालिम आयोजना गरिएको जानकारी दिए । उनले तालिम लिएको जनशक्ति यस्ता समस्यामा खटिने बताए । 

महानगरका मानव संसाधन महाशाखा प्रमुख प्रवीण प्याकुरेलले वडामा विपत् जोखिमको शिक्षा लिएका, तालिम लिएका वा जोखिमका समयमा काम गर्न सक्ने व्यक्तिको पहिचान गरेर समूह निर्माण गरिने बताए । 

‘यो समूहलाई क्षमता विकास गराउनुपर्छ, आपतका समयमा व्यक्तिको ज्यान बचाउने यही समूहको भूमिका सबैभन्दा प्रभावकारी हुन्छ,’ उनले भने, ‘तालिमप्राप्त व्यक्ति आइपुगुन्जेलमा उनीहरूले धेरै व्यक्तिलाई मृत्यु हुनबाट जोगाइसकेका हुन्छन् ।’ 

उनका अनुसार स्थानीयवासीको जनजीवनसँग पालिका जत्तिको नजिक सरकारी अन्य संयन्त्र हुँदैन । यसकारण पालिकाले विपत् व्यवस्थापनलाई प्रभावकारी सम्पादन गर्न सक्छन् । 

तालिममा ६ वटा कार्यपत्र (आधारभूत सैद्धान्तिक पक्षमा एक, आगलागी विषयमा एक, विद्युतजन्य गडबडीबाट सिर्जना हुने विपतमा एक, भूकम्पमा एक, सडक दुर्घटनामा एक र विपतजन्य स्वास्थ्य जोखिममा एउटा) प्रस्तुत गरिएको थियो । 

सहभागीले सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारमा रहेको आगलागी नियन्त्रण, बाढीपहिरो तथा सडक दुर्घटना व्यवस्थापन प्रयोग गरिने प्रविधि तथा उपकरण र तिनको प्रयोग अवलोकन गरेका थिए । 

कसरी गर्ने सिपिआर ?
तालिमका प्रशिक्षक नवराज भण्डारीका अनुसार मुटु वा फोक्सो बन्द हुने अवस्थामा पुगेको थाहा पाएपछि सिपिआर गर्नुपर्छ । मुटु वा फोक्सोले निकै कम काम गरेको छ भने पहिले छातीमा हर्कुच्चाले थिच्नुपर्छ । 

त्यसपछि घाँटीमा केही अड्किएर वा घाँटी बांगिएर सास फेर्ने बाटो रोकिएको हेरेर त्यस्तो भए खुलाउनुपर्छ । त्यसपछि मुखबाट सास दिनुपर्छ । पाँचपटक यस्तो प्रयास गर्दा व्यक्तिले पुनः जीवन पाउन सक्छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक स्थलमा हुने त्यस्ता घटना रोक्न कर्मचारीलाई सिपिआर तालिम आवश्यक हुने बताए । 

‘कस्तो अवस्थामा सिपिआर गर्ने भन्नेबारे सामान्य मानिसले पनि जान्न आवश्यक छ, तर कतिपयले सिपिआर गर्दा गल्ती गरेको पाइन्छ, अस्पतालमा त स्वास्थ्यकर्मीले जानेकै हुन्छन्,’ उनले भने, ‘कसैको नाडी छाप्दा थाहा नभए, मुटुको धड्कन र श्वासप्रश्वासमा धड्कन नभए तुरुन्तै सिपिआर गर्छन् ।’

ad
ad