सडकको पहुँच नै नपुगेको म्याग्दीको दुर्गम बस्ती गुर्जामा साइकलयात्रीहरू पुगेका छन् । धवलागिरि गाउँपालिका– १ मा अवस्थित गुर्जा गाउँमा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका हुन् । गाउँपालिकाको केन्द्र मुनादेखि लुलाङसम्म सडकको पहुँच पुगे पनि त्यहाँदेखि एक दिनको पैदलदूरीमा सडकको ट्रयाक खनिएको छैन ।
६ स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा गुर्जा एक मात्रै सडकको पहुँच नपुगेको वडा हो । सडकको पहुँच नै नपुगेको गुर्जा लुकेको गाउँको नामले परिचित छ । सडक नपुगेको र एक दिनको पैदलदूरीलाई साइकलयात्रा गर्दै श्रेष्ठ र पुन पहिलोपटक गुर्जा पुगेका छन् । समुद्री सतहदेखि करिब दुई हजार सात सय मिटर उचाइमा रहेको गुर्जामा साइकलयात्री आउँदा स्थानीयवासी उत्साहित बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
छन्त्याल समुदायको बाहुल्य रहेको गुर्जा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको र साहसिक साइकलयात्रीमार्फत लुकेर रहेको पर्यटकीय सम्भवना उजागर हुने अपेक्षा गरिएको वडाध्यक्ष छन्त्यालले बताए । गत आइतबार बिहान पोखराबाट यात्रा सुरु गरेका श्रेष्ठ र पुन पाँच दिनकाे साइकलयात्रापछि गुर्जा पुगेका छन् । पोखराबाट पहिलो दिन मालढुंगा, दोस्रो दिन म्याग्दीको ताकम, तेस्रो दिन लुलाङ, चौथो दिन देउराली र पाँचौँ दिन गुर्जा पुगेको साइक्लिस्ट दीपक श्रेष्ठले जानकारी दिए । सडक नै नभएको, घना जंगल, उकाली, ओरालीको लुलाङदेखि गुर्जासम्मको साइकलयात्रा रोचक र अविष्मरणीय भएको उनले बताए ।
सन् १९८५ देखि माउन्टेन साइकलमा यात्रा गर्दै आएका श्रेष्ठले नेपालका ग्रामीण बस्तीको यात्रालाई निरन्तरता दिँदै आएको बताए । श्रेष्ठसँगै साइकलयात्रामा रहेकी म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँ पुर्ख्यौली घर भई हाल काठमाडाैंमा बस्ने कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरे पनि अन्य ठाउँमा सहजै तरिकाले गुर्जासम्म साइकलयात्रा गर्न सफल भएको बताइन् । श्रेष्ठ र पुनको साइकलयात्रा टोली गुर्जाबाट रुघाचौर हुँदै ढोरपाटन पुगेर बुर्तिवाङ, गलकोट हुँदै बागलुङ पुग्ने जनाइएको छ ।