Skip This
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार o८:४६:oo
Read Time : < 1 मिनेट
समाचार

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o८:४६:oo

नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । 

यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन् । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए ।  

शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले  जानकारी दिए । निर्माणाधीन पुलमध्ये आठवटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । ‘अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ,’ इन्जिनियर दराईले भने, ‘कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ।’  

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धि, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउनेछन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुइन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो । आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ । 

‘सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ,’ आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, ‘बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ ।’ 

यस सडकखण्डमा ०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् ।