Skip This
यू–१९ को कप्तानी देवले गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १३ बुधबार o६:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ को कप्तानी देवले गर्ने

देव खनालको कप्तानीमा नेपालले ८ डिसेम्बरदेखि युएईमा सुरु हुने एसिया कपमा प्रतिस्पर्धा गर्नेछ । नेपालले उपाधि दाबेदार भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o६:१८:oo

नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने एसिसी यू– १९ एसिया कपका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक जगत टमाटाको सिफारिसमा क्यानले मंगलबार तीनजना अनुभवी खेलाडीलाई बाहिर राखेको छ ।

सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट यसै वर्ष एकदिवसीय विश्वकप छनोट र प्रिमियर कप खेलेका मिलन बोहरा, दीपक बोहरा र दुर्गेश गुप्ताले एसिया कपका लागि घोषित टोलीमा स्थान बनाउन सकेनन् । उनीहरूको स्थानमा राष्ट्रिय टोलीका अलराउन्डर गुलसन झा, स्पिनर तिलकराज भण्डारी र बायाँहाते ब्याट्सम्यान विपिन रावल टोलीले स्थान बनाएका छन् । 

नेपालले एसिसी प्रिमियर कपको विजेताका रूपमा यू– १९ एसिया कपमा स्थान पक्का गरेको थियो । नेपालले युएईलाई फाइनलमा हराएको थियो । यू– १९ टोलीमा स्थान बनाएका तिलकले बागमतीबाट प्रतिस्पर्धा गरेका थिए । विपिनसँग कर्णालीको सिनियर टोलीको अभुनव छ । यू– १९ मा यसपटक गुल्सन झा र देवमध्ये एक कप्तानी बन्ने निश्चित थिए । राष्ट्रिय टोलीमा नेपालका लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेका गुल्सनको सम्भावना धेरै थियो । 

तर, उमेर समूहमा नियमित कप्तान देवले जिम्मेवारी पाउन सफल भए । एसिया कपको छनोटस्वरूप मलेसियामा भएको यू–१९ प्रिमियर कप आयोजना भएको थियो । नेपालले सेमिफाइनलमा जापानलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । प्रतियोगिता नियमअनुसार फाइनल पुग्ने दुवै टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । एसिया कपमा नेपाललाई पुर्‍याएका प्रज्वलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, दुर्गेश गुप्ता, मिलन, बोहरा यसपटक टोलीमा रहेनन् । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म युएईमा हुँदै छ ।

भारत र पाकिस्तानसँग खेल्ने
युएईमा अर्को महिनादेखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’मा छ । नेपालले आफ्नो समूह यू– १९ कै बलियो र उपाधि दाबेदार मानिने भारत, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग २२ मंसिरमा दुबईको आइसिसी एकेडेमी ओभल–२ मा खेल्नेछ । २४ मंसिरमा नेपालले अफगानिस्तानविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग २६ मंसिरमा भिड्नेछ । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र जापान छन् ।

समूहका दुई शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनल १ पुसमा हुनेछ । यसअघि एसिया कप पाकिस्तानमा हुने भनिएको थियो । तर, भारत पाकिस्तानमा गएर प्रतिस्पर्धा नगर्ने घोषणा गरेपछि एसियन क्रिकेट काउन्सिल (एसिसी)ले युएईमा प्रतियोगिता सारेको हो । यसअघि सिनियर टोलीबीच हुने एसिया कप पनि पाकिस्तान र श्रीलंकामा भएको थियो । 
दुई दशकपछि एसिया कपमा स्थान सुरक्षित गर्दा सिनियर नेपाली टोलीले पाकिस्तान र श्रीलंकामा प्रतिस्पर्धा गरेको थियो । नेपालले पाकिस्तानमा पाकिस्तानसँग खेल्यो । श्रीलंकामा नेपाल भारतविरुद्ध भिडेको थियो । 

नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलसन झा, दीपेश कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।