Skip This
एनआरएनए चुनावमा प्रविधिको दुरुपयोग गरी म्यानुपुलेसन भएको पुष्टि : सिआइबी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Friday, 26 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o मङ्सिर १२ मंगलबार o८:४७:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एनआरएनए चुनावमा प्रविधिको दुरुपयोग गरी म्यानुपुलेसन भएको पुष्टि : सिआइबी

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार o८:४७:oo

नेपालमा रहेका व्यक्तिले विदेशबाट इन्ट्री गरेर भोट हालेको सिआइबीको प्रतिवेदनमा उल्लेख

गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत कात्तिकमा भएको निर्वाचनमा धाँधली भएको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निष्कर्ष निकालेको छ । करिब एक महिना लगाएर गरिएको अनुसन्धानबाट एनआरएनएको निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने सिआइबीले निष्कर्ष निकालेको छ । सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले छानबिन गरेर प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको जानकारी दिइन् ।

सिआइबी स्रोतका अनुसार चुनावमा धाँधली भएको छानबिनमा प्रस्ट भएको छ । ‘नेपालमा रहेका व्यक्तिले विदेशबाट इन्ट्री गरेर भोट हालेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारीले भने, ‘ठ्याक्कै कति त्यस्तो भयो भन्न सकिँदैन, तर प्रविधिको दुरुपयोग गरी म्यानुपुलेसन भएको पुष्टि भयो ।’

प्रतिवेदनअनुसार ग्लोबलबाट मतदान गर्ने विश्व बराल र टीका कार्कीले मतदान नगर्दै मतदान गरेको म्यासेज प्राप्त भएको थियो । त्यसबारे सम्बन्धित व्यक्तिहरूले उजुरी गरेपछि उनीहरूको नामबाट नेपालमा मतदान गरिसकेको पाइएको थियो । त्यसपछि पहिलाको मतदान रद्द गरी उनीहरूले नै पुनः मतदान गरेका थिए । यसबाट सम्बन्धित व्यक्तिको नामबाट नेपालमा मतदान गर्ने व्यक्तिहरू आधिकारिक मतदाता हुन् वा अन्य व्यक्तिहरू हुन् भन्ने प्रस्ट हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालबाट मतदान गर्नुपर्ने नौजनाको समेत ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको र पाँचजनाको दुवै स्थानबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको पाइएकाले निर्वाचन निष्पक्ष तवरबाट नभई हेरफेर भएको देखिएकाले कानुनी रूपमा भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसनबाट मतदानस्थल निर्क्योल गर्नुपर्ने सिआइबीको प्रतिवेदनमा उल्लेख छ । 

संघ र भेरोबीच भएको सम्झौताअनुसार चुनाव हुनु पाँच दिनअघि नै मतदाता नामावली उपलब्ध गराउनुपर्ने थियो । तर, दुई दिनअगाडि मात्रै पठाइएको पाइएको प्रतिवेदनमा छ । मतदान परिणाम प्रकाशनको समयमा प्रथमपटक भेरोबाट उपाध्यक्षको उम्मेदवार केशव पौडेलले प्राप्त गरेको मत परिणाममा नेपालबाट शून्य र ग्लोबलबाट १,२४४ मत परिणाम गरी जम्मा १,२४४ मत प्राप्त गरेर पराजित भएको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

तर, क्षेत्रगत रूपमा प्राप्त मतपरिणामको योगफल १६ सय देखिएको पाइएको छ । प्रतिवेदनअनुसार पुनः प्राप्त मतपरिणाममा नेपालतर्फ ३५६ र ग्लोबलबाट १२४४ गरी १६ सय तथा रिजनतर्फको योगफल पनि १६ सय भएको र विजय भएको पाइयो । नेपालबाट मतदान गर्न रजिस्टर ८२६ जनामध्ये जम्मा मत ७९१ खसेकोमा नेपालबाट मतदान गर्न पाउने नौजनाको समेत ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको पाइएको प्रतिवेदनमा छ ।

सोही नौमध्येबाट पाँचजनाको नेपाल तथा ग्लोबल दुवै स्थानमा ग्लोबल फेसियल भेरिफिकेसन बाइपास भएको पाइएको सिआइबीको निष्कर्ष छ । नेपालबाट ९६ जनाको ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको र ग्लोबलबाट मतदान गर्नेहरूमध्ये १२८ जनाको ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

संघका अध्यक्ष डा. बद्री केसीले भने सिआइबीको सतही रिपोर्ट आउने अपेक्षा नगरिएको बताए । हेरफेर भएकोे सम्भावना छ भने सिआइबीले थप अनुसन्धान गरोस् भन्ने आफूहरूले चाहेको उनको भनाइ छ । ‘इन्टरपोल लगाएर अस्ट्रेलियाको भेरोको अफिसमा छापा मारेर सेटिङ र ह्याकिङको पुष्टि गरोस् । दोषीलाई अदालतको कठघरामा उभ्याओस् र जेल चलान गरोस्,’ उनले भने, ‘तर त्यो अवस्था नआउन्जेल हामी निर्वाचित समितिलाई प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र राज्यसत्ताको दुरुपयोग गरी सामाजिक सद्भाव खलबल्याउनेबाट कुनै अवरोध नआओस् ।’ विवादकै कारण एनआरएनए संस्था नवीकरणसमेत परराष्ट्र मन्त्रालयमा होल्डमा छ ।

दुवै पक्ष आ–आफ्नै अडानमा
एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले पुनः निर्वाचनको माग गरेको छ भने संस्थापन पक्षले हार स्वीकार गर्न नसकेको आरोप लगाइरहेको छ । निर्वाचनको परिणाममा त्रुटि भेटिएपछि संघभित्र बेमेल सिर्जना भएको हो । त्रुटिका विषयमा अनलाइन मतदान प्रणाली भेरोले स्पष्टीकरणसमेत दिइसकेको छ । तर, पूर्वअध्यक्षबीच भएको सहमतिविपरीत कार्यकारी अध्यक्ष डा. बद्री केसीले शपथ लिएकोप्रति असुन्तष्ट पक्षले आपत्ति जनाएको छ । 

पूर्वअध्यक्ष कुल आचार्य, रविना थापा र डा.केसीले अर्को निर्णय नहुँदासम्मका लागि सबै कार्यक्रम रद्द गर्ने सहमति गरेको असन्तुष्ट पक्षका आरके शर्माले दाबी गरेका छन् । सहमतिमा हस्ताक्षर गर्नेमध्येका एक डा.केसीले नै सुटुक्क शपथग्रहण गरेको उनको भनाइ छ ।

तर, केसीले भने सहमतिअनुसार ३ कात्तिकका कार्यक्रम मात्रै स्थगित गरिएको बताएका छन् । अन्य दिनका कार्यक्रम भने सुचारु नै हुने सहमतिको आशय भएको उनले बताए । निर्वाचनको परिणामको विषयमा निर्वाचन कमिटीले मात्रै बोल्न सक्ने भएकाले उसकै निर्णयअनुसार शपथ लिइएको उनले दाबी गरे । निर्वाचन प्रक्रियामा कुनै त्रुटि नभएकै कारण असन्तुष्ट पक्ष अनुगमनमा सहभागी हुन नखोजेको उनले दाबी गरे ।

अध्यक्षमा पराजित आरके शर्माले भने अनुसन्धानको घेरामा संस्थापन पक्ष पर्ने बताए । उनीहरूकै मातहतमा बनाएको अनुगमन समितिले स्वच्छ अनुगमन कदापि गर्न नसक्ने दाबी गरे । ‘सबै अनुसन्धानको घेरामा आउँछन्,’ उनले भने । निर्वाचन कमिटीका संयोजक यादव ढुंगानाले भने भेरोको स्पष्टीकरणपछि निर्वाचनमा कुनै त्रुटि नभएको स्पष्ट भएको बताए । विधानबमोजिम नै कमिटीले शपथ खुवाएको उनको दाबी छ ।

तर, कानुन व्यवसायी दिनेश त्रिपाठी भने निर्वाचनमा गम्भीर त्रुटि देखिएपछि अनुसन्धान गर्नुपर्ने बताउँछन् । सर्वमान्य हुने गरी निकास निकालेर मात्रै शपथग्रहण गर्नुपर्ने उनले बताए । २ कात्तिकमा भएको गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रियामा गम्भीर गल्ती भएको निर्वाचन अनुगमन समितिले सिफारिस गरेको पाइएको छ ।

निर्वाचन प्रक्रिया विवाद सृजना भएपछि अनुगमन समितिले अध्ययन गरेको थियो । अनुगमनपछि पेस गरिएको प्रतिवेदनले निर्वाचन प्रक्रियामा भएका अनुचित हस्तक्षेपलगायत गम्भीर दुरूपयोग गरेको पाइएको उल्लेख गरेको छ । निर्वाचन समिति भेरो भोटिङ र एकजना अध्यक्षका उम्मेदवारले अस्वाभाविक समन्वय (सेटिङ) देखिएकाले यो निर्वाचनलाई स्वीकार गर्न नसकिने निष्कर्ष निकालिएको प्रतिवेदनमा उल्लेख छ । ‘साथै, मतदान प्रक्रिया खारेज गर्न तथा निर्वाचन समिति फेरबदल गरी नयाँ प्रक्रिया प्रारम्भ गर्न सुझावसहित उच्चस्तरीय निर्वाचन अनुगमन समिति सिफारिस गर्दछ,’ प्रतिवेदनमा भनिएको छ । समितिले उम्मेदवारहरू र मतदाताहरूसँग सोधपुछ, निर्वाचन समितिका क्रियाकलापको अनुगमन, उपलब्ध कागजातको अध्ययन गरी प्रतिवेदन तयारी पारिएको जनाएको छ । 

निर्वाचन कमिटीका संयोजक यादव ढुंगानाले यस विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए । ‘अनुगमन समितिले हामीसँग कुनै समन्वय गरेको छैन । मलाई कसैले यसबारेमा जानकारी पनि दिएनन् । मैले पनि मिडियाबाटै थाहा पाएको हो,’ उनले भने । संयोजक दुर्गा आचार्यले भने विधिपूर्वक अध्ययन गरी प्रतिवेदन पेस गरिएको दाबी गरेका छन् । 

नारामा एकता, व्यवहारमा तीन कित्ता
एनआरएनएको चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारको चुनावी एजेन्डाको पहिलो बुँदा संघभित्रको एकता थियो । तर, व्यावहारिक रूपमा भने संघ तीन कित्तामा विभाजन भइसकेको छ । संघ सामाजिक संस्थाभन्दा पनि नेपालका राजनीतिक पार्टीका भ्रातृसंगठनजस्तो भएको संघभित्रै चर्चा छ । पछिल्लो समयमा एनआरएनको नेतृत्वमा आफूले नै जित्नुपर्छ भन्ने मानसिकता मौलाएको संघका पूर्वअध्यक्ष कुमार पन्त बताउँछन् । संघभित्र चरम राजनीति भित्रिएको गैरआवासीय नेपाली संघ अमेरिकाका संरक्षक तिलक केसी बताउँछन् । यसअघिको महाधिवेशनमा पनि संघभित्र निकै विवाद चर्किएको थियो । राजनीतिक र आर्थिक शक्तिको जुधाइमा संस्था दुई टुक्रा भयो । दुई टुक्रा भएको संस्थामा पनि तीनजना अध्यक्ष निर्वाचित भए । संघका पूर्वअध्यक्ष शेष घलेले कोरियाका विनोद कुँवरलाई अध्यक्ष बनाई नयाँ संघ खोले । त्यसपछि भने संघभित्रको अराजकता छताछुल्ल भएको थियो ।