दिदी–बहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामनासहित कात्तिक शुक्ल द्वितीयादेखि पूर्णिमासम्म मनाउने सामा–चकेवा पर्वको समापनको अवसरमा सोमबार सिराहाको लहानमा र्याली निकालिएको छ।
लहान क्षेत्रका थारू युवायुवती, किशोरकिशोरीहरूको समूहले सामा-चकेवा समापनमा लहान बजारमा र्याली गरेका हुन्। र्यालीमा सहभागीहरू थारू भेषभूषा र पहिरनमा सजिएका थिए।
कात्तिक शुक्ल द्वितीया तिथिदेखि दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा- चकेवालगायतका पात्रहरूको माटोको स–साना मूर्ति बनाएर खेल्ने गर्छन्। कात्तिक शुक्ल पूर्णिमाका दिन सामा-चकेवालाई अर्को वर्ष आउनु भन्दै विसर्जन गर्ने चलन छ।
सामा-चकेवा सुरु भएपछि माटोले बनाइएको सामा (स्त्री) र चकेवा (पुरुष), चुगला, ढोलिया, भरिया, सतभइया, खन्जनचिडैया, वनतितर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्रको मूर्तिलाई चौरमा राखी गोलाकार रूपमा बसेर महिलाहरूले दाजुभाइको प्रशंसा र चुगला भन्ने पात्रलाई गाली गर्दै गीत गाउने गर्छन्।