बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडिको जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैली सुरु हुँदै छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सोमबारदेखि सञ्चालन गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिकाले जेब्राक्रसको छेउमा रहेका पोलमा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरेको छ । यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको छ । रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्छन् । यात्रुको चापअनुसार भोलिका दिनमा समय सेटिङमा केही फेरबदल गर्न सक्ने महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठले बताए ।
हेर्नुहाेस् भिडियाे :
‘पहिलो प्रयोगका रूपमा बबरमहलमा पोलिकन क्रसिङ लाइट जडान गरिएको छ, यो लाइट थिचेपछि ३० सेकेन्ड यात्रुले बाटो क्रस गर्न पाउँछन्,’ उनले भने, ‘त्यसपछि दुई मिनेटसम्म थिच्न मिल्दैन, उक्त समय सवारीसाधनका लागि हो । ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकताअनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ ।’
श्रेष्ठका अनुसार महानगरले बबरमहलबाहेक ३५ स्थानमा यस प्रकारका लाइट जडानको तयारी गरेको छ । ‘जहाँजहाँ बाटो काट्ने यात्रुहरूको भिडभाड हुन्छ, त्यहाँ हामी यस प्रकारको लाइट जडान गर्छौँ,’ श्रेष्ठले भने, ‘बबरमहलपछि ३५ वटा स्कुल क्षेत्रमा यो लाइट राख्दै छौँ । मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिनेछ ।’
ट्राफिक प्रहरीले सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै लाइट थिचेर सडक पार गर्न अनुरोध गरेको छ । यसो गर्दा सवारीसाधन वारपारमा पनि बाधा नपुग्ने जनाएको छ । बबरमहल क्षेत्रमा बाटो काट्ने पैदलयात्रुको संख्या अत्यधिक हुने र दुर्घटनाको जोखिम देखिएकाले सुरुमा यो क्षेत्र रोजिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलले बताए । ‘यो लाइट यात्रुहरूले थिच्ने हो, बाटो क्रम गर्दा सवारीसाधनले पेल्ने वा दुर्घटनाको जोखिम हुने अवस्थालाई यसले रोक्छ,’ उनले भने, ‘पैदलयात्रुको भिडभाड हुने ठाउँमा यस प्रकारको लाइट आवश्यक छ, तर यात्रुहरूले जथाभावी बटन नथिच्नु हुन अनुरोध पनि गर्छौँ।’
यस्तो लाइट यसअघि पनि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पसअगाडि जडान गरिएको थियो । तर, मर्मतसम्भार नगर्दा र निरन्तरता नदिँदा लाइट नटिकेको महानगरका ट्राफिकविज्ञ श्रेष्ठले बताए ।
जगतमान श्रेष्ठ, ट्राफिकविज्ञ, काठमाडौं महानगर
पहिलो प्रयोगका रूपमा बबरमहलमा पोलिकन क्रसिङ लाइट जडान गरिएको छ, यो लाइट थिचेपछि ३० सेकेन्ड यात्रुले बाटो क्रस गर्न पाउँछन् । त्यसपछि दुई मिनेटसम्म थिच्न मिल्दैन, उक्त समय सवारीसाधनका लागि हो । ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकताअनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ । जहाँजहाँ बाटो काट्ने यात्रुहरूको भिडभाड हुन्छ, त्यहाँ हामी यसप्रकारको लाइट जडान गर्छौँ । बबरमहलपछि ३५ वटा स्कुल क्षेत्रमा यो लाइट राख्दै छौँ । मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिनेछ ।