१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
टेकराज थामी काठमाडाैं
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

युवा संघ र प्रसाईं समूहको उपत्यकामा प्रदर्शन

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३२:oo

बल्खुमा झडप हुँदा १५७ राउन्ड अश्रुग्यास र पाँच राउन्ड रबर बुलेट प्रहार, प्रदर्शनकारीतर्फ २३ र पाँच सुरक्षाकर्मी घाइते

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह र युवा संघले गरेको भिन्दाभिन्दै प्रदर्शनमा सामान्य तनाव भएको छ । प्रसाईंले नेतृत्वका प्रदर्शनकारी र प्रहरीबीच बिहीबार झडप भएको छ । प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ अघि बढ्न थालेपछि दुई पक्षबीच झडप भएको थियो । 

प्रसाईं नेतृत्वको बल्खु क्षेत्रमा भएको प्रदर्शनमा उत्तेजित प्रदर्शनकारी कुलेश्वर र सानेपातर्फबाट चक्रपथभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । सोही क्रममा दुई पक्षबीच झडप भएको थियो । भिड नियन्त्रण गर्न प्रहरीले एक सय ५७ सेल अश्रुग्यास प्रहार गरेको थियो । भिड अझ अनियन्त्रित बन्न थालेपछि प्रहरीले रबरको गोलीसमेत प्रहार गरेको थियो । प्रहरीका अनुसार भिड नियन्त्रणका लागि ५ राउन्ड रबरको गोली प्रहार गरिएको छ । यस क्रममा प्रहरीले ‘वाटर क्यानन’ पनि प्रहार गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेश मैनालीले भिड निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि प्रहरीबाट बल प्रयोग भएको बताए । ‘बिहीबार बल्खुमा भएको प्रदर्शनमा प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न अघि बढे । उनीहरूले प्रहरीलाई इँटा र ढुंगा प्रहार गर्न थाले । भिड अनियन्त्रित बनेपछि प्रहरीले बल प्रयोग गरेको छ । यस क्रममा एक सय ५७ राउन्ड अश्रुग्यास र ५ राउन्ड रबरको गोली प्रहार गरिएको छ,’ उनले भने । 

बुल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयअघि प्रसाईंका लागि कार्यक्रमस्थल तोकिएको थियो । कार्यक्रममा प्रसाईंको सम्बोधनपछि भिड बल्खु पुलतर्फ अघि बढेको थियो । उनीहरू कालीमाटी हुँदै त्रिपुरेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरी अवरोधमा उत्रिएको थियो । आक्रोशित प्रदर्शनकारी त्यसपछि ढुंगामुढामा उत्रिएका थिए । जवाफमा प्रहरीले लाठी चार्ज गरेको थियोे । त्यसबाट पनि भिड नियन्त्रण नभएपछि ‘वाटर क्यानन’ प्रयोग गरिएको थियो । भिड अझ उत्तेजित भएपछि प्रहरी अश्रुग्यास र रबर बुलेट प्रहारमा उत्रिएको थियो । 

कालीमाटीतर्फबाट अघि बढ्न नसकेपछि प्रदर्शनकारी सानेपातर्फबाट  थापाथली प्रवेश गर्न अघि बढेका थिए । प्रहरीले त्यहाँ पनि बल प्रयोग गरेको थियो । दोहोरो झडपमा प्रदर्शनकारीतर्फ २३ जना घाइते भएका छन् । जसमध्ये १७ जना सामान्य उपचारपछि घर फर्किएका छन् । त्यस्तै, प्रहरीतर्फ ५ सुरक्षाकर्मी घाइते भएका छन् । उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरीका ३ वटा मेघाफोन, ११ वटा सिल्ड, ३ वटा हेल्मेट र वाटर क्याननमा क्षति पुगेको छ । 

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मैनालीले दोहोरो झडपमा प्रहरी र प्रदर्शनकारी दुवै पक्षका घाइते भएको बताए । ‘उनीहरूकोे अवस्था सामान्य छ । जसमध्ये केही उपचारपछि घर फर्किसकेका छन् । ढुंगा प्रहारबाट प्रहरीका ३ वटा मेघाफोन, ११ वटा सिल्ड, ३ वटा हेल्मेट र वाटर क्याननमा क्षति पुगेको छ ।’

यता एमालेनिकट युवा संघले आयोजना गरेको तीनकुनेको प्रदर्शन भने शन्तिपूर्ण भएको थियो । प्रदर्शन हिंसात्मक हुन सक्ने आकलनपछि प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर(जेओसिसी) गठन गरेको थियो । 

उपत्यकाभित्रका तीनवटै जिल्ला सम्मिलित जिल्ला सुरक्षा समितिको निर्देशनपछि प्रहरीले कमान्ड सेन्टर गठन गरेको थियो । त्यसबाहेक तीनवटै जिल्लामा जिल्ला सुरक्षा समितिको कमान्ड पोस्ट पनि स्थापना गरिएको थियो । प्रहरीका अनुसार कमान्ड सेन्टर र कमान्ड पोस्ट प्रदर्शन जारी रहेसम्म कायम रहनेछ । प्रसाईं नेतृत्वको प्रदर्शन शुक्रबार पनि जारी रहने भनिएको छ । सेन्टरमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सात उच्च अधिकारी सहभागी रहेका थिए । दुवै प्रदर्शनमा सहभागी सुरक्षाकर्मी सेन्टरकै कमान्डमा परिचालन भएका थिए । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिएका थिए । 

प्रदर्शनको सुरक्षार्थ प्रहरीले प्रहरी प्रधान कार्यालयबाट थप सुरक्षा दस्ता परिचालन गरेको थियो । त्यसबाहेक उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका सुरक्षाकर्मी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित करिब १० हजार सुरक्षाकर्मी सुरक्षार्थ परिचालन गरिएका थिए । हाल जिल्ला प्रहरीपरिसर काठमाडौं मातहत पाँच हजार, ललितपुर परिसरमातहत एक हजार पाँच सय र भक्तपुर परिसरमातहत एक हजार सुरक्षाकर्मी कार्यरत छन् । 

प्रदर्शनको सुरक्षार्थ प्रविधिकोसमेत उच्चतम प्रयोग गरिएको थियो । प्रदर्शन हुने स्थानको सुरक्षार्थ ड्रोन क्यामेरा परिचालन गरिएका थिए । नाराजुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन गरिएका थिए । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नाराजुलुस निगरानीमा रहेका थिए । कार्यक्रमस्थलमा सादा पोसाकका सुरक्षाकर्मी पनि  खटिएका थिए । सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि समर्थकसँगै खटिएका थिए । 

युवा संघको प्रदर्शन शान्तिपूर्ण
तीनकुनेमा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रमका सहभागी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एमालेको युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको नेतृत्वमा आयोजित प्रदर्शन बिहीबार कोटेश्वरको तीनकुनेमा सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा तथा भ्रष्टाचार, अनियमितता र अराजकताविरुद्ध भनिएको प्रदर्शन शान्तिपूर्ण रह्यो । प्रदर्शनमा एमालेसम्बद्ध युवा–विद्यार्थीसहित जनसंगठन र पार्टीका कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । प्रदर्शनकारीले कोटेश्वर हुँदै तीनकुनेलाई एक चरण परिक्रमा गरेका थिए । त्यसलगत्तै सभा र सांस्कृतिक कार्यक्रमसहित दुई घन्टामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमलाई एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले सम्बोधन गरे । ढकालले सरकारकै कारण गणतन्त्रविरुद्ध अराजकतावादीहरूले अराजकता फैलाउने मौका पाएको भन्दै तत्काल नियन्त्रण नगरे एमाले चुप लागेर नबस्ने चेतावनी दिए । नेता बस्नेतले गणतन्त्रमाथि औँला उठ्दा एमाले अग्रपंक्तिमा उभिएर प्रतिरोधमा उत्रिने चेतावनी दिए । उनले दुर्गा प्रसाईंले फैलाएको अराजक प्रवृत्तिलाई एमालेका युवाहरूले परास्त गरेरै छाड्ने प्रतिबद्धतासमेत बताए । अनेरास्ववियुका अध्यक्ष बडालले अहिलेको गणतान्त्रिक व्यवस्था ल्याउन जेलनेल खेपेर आन्दोलनमा रगत बगाएकाले व्यवस्थाको रक्षार्थ जस्तोसुकै कुर्वानी गर्न पनि तयार रहेको प्रतिबद्धता जनाए । 

प्रसाईं समूहले प्रदर्शनलाई निरन्तरता दिने 
बल्खुमा दुर्गा प्रसाईं समूहले आयोजना गरेको जनप्रदर्शनमा विभिन्न जिल्लाबाट आएका सर्वसाधारण । तस्बिर : संजित परियार/नयाँ पत्रिका

दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहले बिहीबार बल्खुमा प्रदर्शन गरेको छ । प्रदर्शन सकिएपछि पत्रकार सम्मेलन गरेका प्रसाईंले प्रदर्शनलाई निरन्तरता दिने घोषणासमेत गरेका छन् । बल्खुको प्रदर्शनमा सहभागी हुन उपत्यकाका विभिन्न सात स्थानबाट र्‍याली निकालिएका थिए । प्रदर्शनमा राष्ट्रिय झन्डा र धार्मिक झन्डासहित सहभागिता जनाएका थिए । प्रदर्शनका क्रममा बल्खुमा निषेधित क्षेत्र तोड्न खोज्दा र युवा संघसँगको झडप हुँदा बल्खु क्षेत्रमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रसाईंले झडपका क्रममा आफ्नो समूहबाट २६ जना घाइते भएको बताए । प्रदर्शनमा सम्बोधन गरेका प्रसाईं ले सरकार जनसरोकारका विषय सम्बोधन गर्न असफल भएको भन्दै आन्दोलनको विकल्प नरहेको बताएका थिए । प्रसाईं ले प्रदर्शनलाई जनविद्रोहको सुरुवात भएको जिकिर गरेका थिए । 

कार्यक्रममा राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसमेत सहभागी भएका थिए । शाहीले राजतन्त्रको वकालत गर्ने सबै शक्तिको आन्दोलनमा आफ्नो नैतिक समर्थन रहने बताएका थिए । शुक्रबारबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईंको भनाइ छ । साथै, उनले आन्दोलनलाई देशव्यापी बनाउने बताएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर रहन्छ,’ प्रसाईंले भने । 

मानव अधिकार आयोगको अनुगमन
बिहीबारको प्रदर्शनलाई मानव अधिकार आयोगले समेत अनुगमन गरेको थियो । आयोगले प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन एवं संविधान पालनामा संवेदनशील हुन आग्रह गरेको छ । आयोगले अनुगमनको क्रममा तीनकुनेमा युवा संघको प्रदर्शन शान्तिपूर्ण भएको बताएको छ । 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं समूहबीच झडप भएको साथै प्रहरीको सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको उल्लेख गरिएको छ । ‘अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पाइएको छ । बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इँटा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सोक्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ ।

ad
ad