१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:३३:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चाडबाडले उकासेको आयात फेरि घट्यो

असोजसम्मको आयात १.६९ प्रतिशतले बढेको थियो भने कात्तिकसम्म ३.७९ प्रतिशतले घटेको छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३३:oo

चाडबाडले असोजमा उकासेको वस्तु आयात कात्तिक लागेपछि फेरि घट्न थालेको छ । नेपालका प्रमुख चाडपर्वले चालू आवको तीन महिनाको आयातमा सुधार देखिए पनि चौथो महिना घटेकाले अर्थतन्त्र अझै शिथिल अवस्थामा रहेको प्रमाण दिएको अर्थशास्त्री डा. पारस खरेलले बताए ।

उनले भने, ‘चाडबाडले गर्दा तीन महिनाको तथ्यांकमा सुधार देखिए पनि त्यो क्षणिक बनेको छ । चौथो महिनामा आएको गिरावटले चार महिनाकै आयात घटेको देखिएको छ । यसको मतलब अर्थतन्त्र अझै शिथिलतामा छ ।’ भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ३.७९ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको चार महिनामा पाँच खर्ब ३२ अर्बको वस्तु आयात भएको थियो । चालू आवको सोही अवधिमा पाँच खर्ब १२ अर्बको वस्तु आयात भएको विभागको तथ्यांक छ । 

असोजसम्मको आयात भने गत आवको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढेको थियो । चालू आवको असोजसम्म चार खर्ब सात अर्बको वस्तु आयात भएको थियो । तर, गत आवको सोही अवधिमा चार खर्ब ९९ करोड मात्रै वस्तु आयात भएको थियो । यो समयमा दसैँ–तिहारकेन्द्रित वस्तुको माग बढेकाले आयातमा वृद्धि भएको थियो । तर, कात्तिक लागेसँगै आयात खस्किएको हो । 

 पेट्रोलियमको मूल्यमा आएको गिरावटको असर
गत आवको पहिलो चार महिनाको तुलनामा यो वर्ष पेट्रोलियमको आयातमा नौ अर्ब ५९ करोडले गिरावट आएको छ । गत वर्ष ९५ अर्ब आठ करोडको पेट्रोलियम आयात भएकोमा चालू आवको कात्तिकसम्म ८५ अर्ब ४८ करोडमा सीमित छ । पेट्रोलियमको मूल्य घट्दा परिमाणमा बढी देखिए पनि रकम घटेको हो ।

चार महिनामा ६ लाख ४५ हजार किलोलिटर (केएल)बराबरको डिजेल, पेट्रोल र हवाई इन्धन आयात भएको छ । गत वर्ष ६ लाख २९ हजार केएल मात्रै आयात भएको थियो । त्यसबाहेक खाना पकाउने ग्यास आयातको परिमाणमा समेत वृद्धि भएको छ । चालू आवको चार महिनामा १६ करोड ७९ लाख ९४ हजार सात सय ५६ किलो एलपिजी ग्यास आयात भएको छ । पोहोर सोही अवधिमा १६ करोड ७१ लाख ८१ हजार एक सय ३६ किलो आयात भएको थियो ।  

 २० अर्बले घट्यो कच्चा खानेतेलको आयात
पछिल्ला वर्षहरूमा निर्यात हुने वस्तुहरूको सूचीमा अग्रता कायम राख्दै आएको खानेतेलको कच्चा तेलको आयात खस्किएको छ । गत वर्षको तुलनामा चालू आवको चार महिनामा कच्चा तेल २० अर्ब ३५ करोड रुपैयाँले घटेको छ । चालू आवको चार महिनामा १५ अर्ब ७२ करोडको आयात भएको कच्चा तेल गत वर्ष ३६ अर्ब आठ करोडको आएको थियो । मूल्यमा मात्र नभई परिमाणमा समेत कच्चा खानेतेलको आयात घटेको छ । पोहोर १८ करोड ४२ लाख लिटर कच्चा तेल आयात भएको थियो । यसपालि ११ करोड ४१ लाख लिटर आयात भएको छ । 

 महँगा वस्तुको आयात बढ्यो
गत आर्थिक वर्षमा सरकारले महँगा मोबाइलको फोन आयातमा प्रतिबन्ध लगाएकाले स्मार्ट फोनको आयात बढ्न सकेको थिएन । विभागका अनुसार चार महिनामा एक अर्ब ४२ करोडको सात लाख ७१ हजार तीन सय २६ थान स्मार्ट फोन सेट आयात भएका छन् । गत वर्ष यही अवधिमा सात लाख २९ हजार तीन सय ९५ स्मार्ट फोन आयात भएका थिए । त्यस्तै, आठ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सुनको आयात भएको छ । गत वर्ष सात अर्ब ९५ करोडबराबर सुन आयात भएको थियो । त्यस्तै, परिमाणमा भने यसपालि सुनको आयात घटेको छ । यसपालि पोहोरको तुलनामा एक सय १६ किलो कम सुन आयात भएको छ ।  

 निर्यातसमेत खस्कियो
चालू आर्थिक वर्षको कात्तिकसम्म आइपुग्दा निर्यातसमेत अघिल्लो वर्षको भन्दा ७.६८ प्रतिशतले घटेर ५० अर्बमा सीमित भएको छ । अघिल्लो वर्षको कात्तिकसम्ममा ५४ अर्बको निर्यात भएको थियो । निर्यातसँगै आयात पनि घटेकाले मुलुकको व्यापार घाटा पनि कम हुँदै गएको छ । 

अघिल्लो वर्ष चार खर्ब ७७ अर्बले व्यापार घाटा रहेकामा यस वर्ष यस्तो घाटा चार खर्ब ६१ अर्ब रुपैयाँमा सीमित भएको छ । मुलुकको व्यापार घाटा अन्तर बढ्दै गएको छ । अर्थात् अहिले मुलुकबाट एक रुपैयाँको निर्यात हुँदा १० रुपैयाँ १४ पैसाबराबरको आयात भएको छ । अघिल्लो वर्ष यस्तो अन्तर कम थियो । अघिल्लो वर्ष यही अवधिमा एक रुपैयाँबराबरको निर्यात हुँदा नौ रुपैयाँ ७३ पैसाबराबरको आयात भएको थियो ।

विद्युत् निर्यात ६४ प्रतिशत वृद्धि, चार महिनामा साढे १२ अर्बको भारतमा बिक्री
चालू आर्थिक वर्ष (आव) ०८०/८१ को पहिलो चार महिनामा भारततर्फको विद्युत् निर्यात ६४ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालबाट १२ अर्ब ५० करोड आठ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । गत आवको चार महिनामा सात अर्ब ६३ करोड ६४ लाखको विद्युत् निर्यात भएको थियो । 

परिमाणका आधारमा समीक्षा अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात भएको छ । गत आवको सोही अवधिमा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात भएको थियो । प्राधिकरणले चालू आवमा १५ अर्ब रुपैयाँ हाराहारीमा विद्युत् निर्यात हुने अनुमान गरेको छ ।  यो वर्ष २८ जेठबाट भारतीय बजारमा प्राधिकरणले विद्युत् बिक्री गरेको हो ।  जेठदेखि कात्तिकसम्ममा भने एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट देशको विदेशी मुद्रा सञ्चिति बढाउन तथा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए । प्राधिकरणले आइएक्सको डे–अहेड बजार र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ । यसैगरी, मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्री अनुमति दिइएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।  

प्राधिकरणले कात्तिक ०७८ देखि भारतीय बजारमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्दै आएको छ । यद्यपि, प्राधिकरणले स्वदेशी माग धान्न सन् १९७१ देखि नै भारतबाट विद्युत् आयात गर्दै आएको थियो । नेपालमा उत्पादन बढ्दै गएपछि प्राधिकरणले पहिलो चरणमा इनर्जी बैंकिङ (पैँचो)का रूपमा भारतको बिहार राज्यलाई बिक्री गर्दै आएको थियो । पछि हिउँदमा निर्यात भएबराबरको विद्युत् आयात गरिन्थ्यो र बढी भएमा शुल्क भुक्तानी गरिन्थ्यो । प्राधिकरणले कात्तिक ०७८ देखि भने भारतको इनर्जी एक्सचेन्ज मार्केटमा व्यापारिक रूपमा नै विद्युत् बिक्री गर्दै आएको छ । 

ad
ad