Skip This
तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले गरे पेनडाउन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ७ बिहीबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले गरे पेनडाउन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १६:१७:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू तलब र भत्ताबापतको भुक्तानी नपाएको भन्दै पठनपाठन बन्द गरेर विरोधमा उत्रिएका छन्।

प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत प्राध्यापकहरूले विगत चार महिनादेखि तलब, भत्ताबापतको भुक्तानी नपाएको भन्दै पठनपाठन बन्द गरेर विरोध जनाएको प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले जानकारी दिए।

अध्यक्ष सापकोटाका अनुसार प्रतिष्ठानले विगत चार महिनादेखि २४ जना प्राध्यापकको तलबभत्तालगायतका सुविधाको रकम भुक्तानी रोकेको हो । उनले कात्तिक २२ गतेदेखि आफूहरूले पाउनुपर्ने भुक्तानीको माग राख्दै पेनडाउन गरेको बताए। 

‘चालू आर्थिक वर्षको पहिलो महिना (साउन)को तलबभत्ताबापतको रकम भुक्तानी गरेको थियो । त्यसपछि २४ जना प्राध्यापक कसैले पनि त्यसयताको तलबभत्ता पाउन सकेको छैन,’ उनले भने। पटकपटक पहल गर्दा पनि तलबभत्ता भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको अध्यक्ष सापकोटाले गुनासो गरे।

यता प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुदर्शन शेरचनले भने प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन नसकिएको बताए।

उनका अनुसार चिकित्सा शिक्षा आयोगको नीतिअनुरूप कुल विद्यार्थी संख्याको ७५ प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने नियमानुसार सोबापतको रकम प्रतिष्ठानले नपाउँदा समस्या भएको दाबी गरे।

‘प्रदेश सरकारले गत आर्थिक वर्षदेखि नै उक्त छात्रवृत्तिबापत प्रतिष्ठानले पाउनुपर्ने रकम रोकेको छ। तोकिएको रकम प्रतिष्ठानले नपाउँदा प्राध्यापकहरूको तलबभत्तालगायतका सुविधाबापतको रकम भुक्तानी गर्न नसकेका हौँ,’ उनले भने। मन्त्रालयले छात्रवृत्तिबापतको रकम भुक्तानी नगरेसम्म पठनपाठन सञ्चालन हुन सक्ने अवस्था नरहेको उनको भनाइ छ।
 
प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगबाट अनुमतिप्राप्त स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्याबरोटरी गरी चारवटा विषयमा अध्यापन गराउँदै आएको छ। प्राध्यापकहरूको पेनडाउनका कारण विद्यार्थीहरू भने मर्कामा परेका छन्।