Skip This
दोस्रो एनएसएल लिगमा सबैको ध्यान विदेशी खेलाडीमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
दशरथ रंगशालामा हुने एनएसएल लिगको तयारीबारे जानकारी दिँदै आयोजक । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o मङ्सिर ७ बिहीबार o६:२६:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रो एनएसएल लिगमा सबैको ध्यान विदेशी खेलाडीमा

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार o६:२६:oo
  • १४ पुससम्म चल्ने एनएसएल विजेताले कम्तीमा ७० लाख रुपैयाँ पाउने
  • यसपटक प्रत्येक टोलीले पाँच विदेशी खेलाडी अनुबन्ध गरेका छन्

दोस्रो नेपाल सुपर लिग (एनएसएल) शुक्रबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । साथै, लिगमा सहभागी नौ टोलीले पनि आफ्नो तयारी पूरा भएको जनाएका छन् । यसपटक सहभागी क्लबले पाँच विदेशी, मार्कीसहित २३ खेलाडी एनएसएलका लागि तयार गरेका छन् । यसैको भरमा उनीहरूले उपाधि जित्ने लक्ष्य राखेका छन् । 

पहिलो संस्करणको तीन वर्षपछि दोस्रो संस्करण आयोजना हुन लागेको हो । यसअघि आ–आफ्नो अस्तित्वको विषयमा विवाद हुँदा दोस्रो संस्करणका लागि फुटबल समर्थकले तीन वर्ष प्रतीक्षा गर्नुपर्‍यो । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको आन्तरिक विवाद एनएसएलभित्र छिरेपछि यसले उग्र रूप लिएको थियो । जसका कारण चौधरी गु्रपको स्वामित्वमा रहेको आयोजकले पहिलोपटक ल्याएको फ्रेन्चाइज लिग हुने वा नहुने निष्कर्षमा पुग्न सकेन । 

प्राविधिक सहयोग गरेको एन्फा यसपटक प्रतियोगिताको मिति घोषणा गर्न सफल भयो । ८ मंसिरदेखि १४ पुससम्म चल्ने प्रतियोगिताको अक्सन १९ असोजमा भएको थियो । लिगमा सहभागी क्लबले अक्सनबाट १४ घरेलु, पाँच विदेशी र एक मार्की गरी २१ खेलाडी तय गरिसकेका छन् । पहिलो संस्करणमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र तीन खेलाडीले मैदानमा खेल्न पाउने नियम बनाइएको थियो । 

यसपटक आयोजकले पाँच विदेशी खेलाडी मैदान उतार्न मिल्ने निर्णय गरेको छ । सहभागी टोलीकै आग्रहमा पाँच विदेशी खेलाडी खेलाउने निर्णय भएको हो । घरेलु लिग खेलिरहेका ६० जनाभन्दा बढी खेलाडी यस अवधिमा अस्ट्रेलियालगायत विभिन्न देश पुगेपछि एनएसएल लिगमा विदेशी खेलाडीको संख्या बढाइएको हो । यसैअनुरूप सहभागी नौ क्लबले नै समान पाँच विदेशी खेलाडी अनुबन्ध गरेका छन् । 

 विदेशी खेलाडीले प्रतिस्पर्धा बढाउने
साबिक विजेता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जन विदेशी खेलाडी नै निर्णायक हुने मान्छन् । ‘यसपटक हरेक टोलीले पाँच विदेशी खेलाडी राख्न पाउँदा खेलमा प्रतिस्पर्धा बढ्नेछ, साथै विदेशी खेलाडी नै निर्णायक हुनेछन्,’ महर्जनले भने, ‘गत सिजनमा उपाधि जित्दा विदेशी नै निर्णायक भए ।’ पहिलो संस्करणमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं च्याम्पियन भएको थियो । 

आयोजकले यसपटक तीन नयाँ टोली थप्दै सहभागी क्लब १० बनाउने निर्णय गर्‍यो । अक्सन पनि भइसक्दा प्रतियोगिता हुन सकेन । दोस्रोपटक अक्सन गर्दा पहिलो संस्करणमा चर्चा पाएको विराटनगर सिटी एफसीले नाम फिर्ता लियो । आयोजकसँग असन्तुष्ट रहेपछि विराटनगरले नाम फिर्ता लिएको थियो । यसपटक काठमाडौं र धनगढीसँगै स्पोर्टिङ इलाम एफसी, झापा एफसी, वीरगन्ज युनाइटेड एफसी तथा बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन र पोखरा थन्डर्स छन् । 

पोखराका प्रशिक्षक नवीन न्यौपाने र इलामका प्रशिक्षक मेघराज केसीले पनि विदेशी खेलाडी नै निर्णायक हुने बताएका छन् । यद्यपि, सबै टोलीका प्रशिक्षकले तयारी अभाव भएको बताएका छन् । 

सहभागी क्लबका प्रशिक्षकको यस्ता छ रणनीति
 विदेशी खेलाडीबाट आशा छ
बालगोपाल महर्जन, प्रशिक्षक, काठमाडौं रेजर्स

मुख्य प्रशिक्षक र साबिक विजेता भएको नाताले यस वर्ष पनि उपाधि जित्ने योजना बनाएका छौँ । १ नोभेम्बरदेखि तयारी थालेका थियौँ । मार्की, विदेशी खेलाडीदेखि सबै सन्तुष्ट छन् । पाँच विदेशी खेलाडी राख्न पाउँदा प्रदर्शन अझै राम्रो गर्न सकिन्छ । यसपटक पनि लिगमा विदेशी खेलाडी नै निर्णायक हुनेछन् । गत सिजन पनि विदेशी र स्थानीय खेलाडीको भरमा जितेका थियौँ । चाडपर्व र राष्ट्रिय टोलीका खेल हुँदा समस्या भयो । क्यामरुन र उज्वेकिस्तानका खेलाडीबाट धेरै आशा गरेका छौँ । 

 स्थानीय खेलाडीलाई क्षमता देखाउने अवसर
मेहराजुद्दिन वाडु, प्रशिक्षक, एफसी चितवन  

भारतीय फुटबलमा २० वर्ष काम गरेको अनुभव छ । प्रशिक्षकका रूपमा रहेको सात वर्ष भयो । पहिलोपटक नेपालमा आउँदा मेरा लागि चुनौती छ । लिगका लागि तीन साता तयारी ग¥यौँ । आशा छ, यो सिजन राम्रो हुनेछ । एनएसएल भारतको आइएसएलजस्तै हो । एनएसएल भनेको स्थानीय खेलाडीलाई क्षमता देखाउने अवसर हो । सुरुवाती अभ्यासमा सात खेलाडी थिए । अहिले सबै खेलाडी छन् । एक दिन मात्रै सबै खेलाडी भएर अभ्यास गर्न पायौँ । घानाका चार खेलाडी हुँदा टोली राम्रो छ । 

 स्पेनिस फुटबलको झल्को देख्न सकिन्छ
ओलिओल मोहदानो सेगुरा, प्रशिक्षक, झापा एफसी

स्पेनबाट आएका कारण टिम हेर्ने समय छोटो भयो । हाम्रो अनुभव खेलाडीमा लागू गर्नुपर्नेछ । खेलाडीलाई अनुभव बाँड्दै च्याम्पियन बनाउने हो । धेरै समय तयारी गर्न अवसर पाएनौँ । एनएसएल खेल्न उत्साहित छौँ । सबैलाई चुनौती छ । लाकेनको चोटले चिन्ता बढाएको छ । उनको अवस्था के छ, सल्लाहको क्रममा छौँ । स्पेनिस फुटबलको झल्को झापामा पनि देख्न पाउँछौँ । 

 पहिलो लक्ष्य क्वालिफायर हो
नवीन न्यौपाने, प्रशिक्षक, पोखरा थन्डर्स

सबै टोलीले आजबाट मात्रै सबै खेलाडीलाई तयारी गराएका छन् । विदेशी र स्वदेशी खेलाडीको सेट मिलाउन गाह्रो छ । पोखरामा हामीसँग नेपालमै खेलिरहेका विदेशी खेलाडी रहेकाले सहज भएको छ । अक्सनबाट युवा खेलाडी लियौँ । हामीहरूको लक्ष्य क्वालिफायरमा पुग्ने हो । त्यसपछि योजना बनाएर खेल्छौँ । 

 छोटो समयको तयारी
सनोज श्रेष्ठ, प्रशिक्षक, वीरगन्ज युनाइटेड

हाम्रो तयारी आज मात्रै पूरा भएर गर्न पाएका छौँ । अक्सनबाट युवा खेलाडी र विदेशी पाँचजना गर्दा राम्रो भएको छ । छोटो समयको तयारीमा राम्रो टोली बनेको छ । पहिलो संस्करण बुटबलबाट खेल्दा र यसपटक सातदोबाटोमा खेलेका विलियम छन् । अरू विदेशी नयाँ हुन् । 

 तयारीको समय छोटो भयो
विजय महर्जन, प्रशिक्षक, बुटवल लुम्बिनी एफसी

हामीहरूको तयारी पनि छोटो नै भयो । टिम बुटवलमै छ । आज सबै जम्मा हुन्छौँ र त्यसपछि मात्रै राम्रो तयारी हुन पाउँछ । हामहरूको व्यवस्थापन राम्रो छ । मेरो लागि यो ठूलो चुनौती हो ।

 तीन साताको तयारी हो
मेघराज केसी, प्रशिक्षक, स्पोर्टिङ इलाम एफसी 

दोस्रोपटक एनएसएल हुँदै छ । हामी आफैँ यस खालको फुटबलमा सिक्दै छौँ । सिक्ने र सिकाउने जहाँ भए पनि फरक पर्दैन । तीन हप्ताको तयारी भएको छ । अहिलेको अवस्थामा फुटबल भइरहेको छ । टिममा प्रोफेसनल खेलाडी छन् । खेलाडीबीच तालमेल मिलाउन दुई हप्ता नै काफी हो । सबै खेलाडीले फिटनेसमा ध्यान दिँदा चाँडै टोली तयार हुन्छ । हामीले विदेशहरू सेनेगलको एकेडेमीका युवा खेलाडी ल्याएका छौँ । 

 हरेक खेल कठिन हुनेछ
इयान आन्द्रे गियान, प्रशिक्षक, ललितपुर सिटी एफसी

ललितपुरको प्रशिक्षक हुँदा खुसी छु । हाम्रोमा राष्ट्रिय टोलीका चार खेलाडी र पाँच विदेशी खेलाडी छन् । दुईजना यू–१९ का छन् । एक जना यू–१६ बाट परेका छन् । मलाई मात्रै होइन, हरेक प्रशिक्षकलाई दबाब हुन्छ । हरेक कोचको झैँ मेरो पनि उपाधि जित्ने लक्ष्य छ । साथै हरेक खेल कठिन हुन्छ । खेल्न सहज हुनेछैन । हामीले राम्रो गरेका छौँ । 

 स्वदेशी र विदेशी खेलाडीबीच राम्रो छ
युगलकिशोर राई, प्रशिक्षक, धनगढी
 
हामीले लिगको तयारीका रूपमा दुई मैत्रीपूर्ण खेल्यौँ । टोलीको तयारी उत्साहजनक छ । विदेशी खेलाडी र नेपाली खेलाडीबीचको तालमेल राम्रो हुँदै छ । पछिल्लोपटक उपविजेता भएकाले यसपटक विजेता बन्न प्रतिस्पर्धा गर्नेछौँ । सोहीअनुसार विदेशी खेलाडी अनुबन्ध गरेका हौँ । नेपाली खेलाडी पनि राम्रा छन् ।