१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकामा उच्च सुरक्षा सतर्कता 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:o८:oo

तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै डिआइजीको नेतृत्वमा जेओसिसी गठन, करिब दश हजार सुरक्षाकर्मी परिचालन हुने

एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार आयोजना गर्ने प्रदर्शनमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै सरकारले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ । 

सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी रहेका छन् । 

संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । दुवै क्षेत्रमा सेन्टरकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरि करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिदैछन् । यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।

एसएसपी दिनेशराज मैनाली, प्रवक्ता, उपत्यका प्रहरी कार्यालय काठमाडौं
बल्खु र तीनकुनेमा हुने प्रदर्शनलाई मध्यनजर गरेर डिआइजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट कमान्ड सेन्टर गठन गरिएको छ । जसमा सेना, दुवै प्रहरी र गुप्तचरका उच्च अधिकारी पनि सहभागी छन् । उनीहरूकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । सुरक्षाको सबै प्रबन्ध तयार भएको छ ।

उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी दिनेश मैनालीले तीनकुने र बल्खुमा हुने प्रदर्शनको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन भइसकेको र सोही प्रयोजनका लागि डिआइजीको नेतृत्वमा जेओसिसी गठन भएको बताए । ‘बिहीबार बल्खु र तीनकुनेमा प्रदर्शन हुने तय भएको छ । यसको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् । डिआइजी लालमणि आचार्यको कमान्डमा कमान्ड सेन्टर गठन गरिएको छ,’ उनले भने, ‘सेन्टरमा सेना, प्रहरी, सशस्त्र र गुप्तचरका उच्च अधिकारी पनि सहभागी छन् । उनीहरूकै कमान्डमा सुरक्षार्थ सुरक्षाकर्मी परिचालन हुनेछन् । सुरक्षाको सबै प्रबन्ध तयार भएको छ ।’

ड्रोनबाट पनि गरिनेछ निगरानी

प्रवक्ता मैनालीले प्रदर्शनको सुरक्षार्थ प्रविधिको समेत उच्चतम प्रयोग गरिने जानकारी दिए । उनका अनुसार प्रदर्शन हुने स्थानको सुरक्षार्थ ड्रोन क्यामेरा परिचालन गरिनेछन् । नारा–जुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन हुनेछन् । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नारा–जुलुस निगरानीमा रहनेछन् । 

उनले भने, ‘दुवै ठाउँमा हुने प्रदर्शनको सुरक्षार्थ प्रविधिको उच्चतम प्रयोग गरिनेछ । कार्यक्रमस्थल ड्रोन क्यामेराबाट निगरानीमा रहनेछ । नारा–जुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन गरिनेछ । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेराबाट समेत नारा–जुलुसको निगरानी गरिनेछ ।’

कार्यक्रमस्थलमा र नारा–जुलुसमा सहभागी हुने समर्थकसँगै सादा पोसाकका सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरूले प्रत्येक समर्थकको गतिविधि निगरानी गर्नेछन् । अवाञ्छित गतिविधि हुने सुइँको पाउना साथ उनीहरूलाई प्रहरीले पक्राउ गर्नेछ । सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचार पनि समर्थकसँगै खटिनेछन् । पोसाकसहित खटिएका सुरक्षाकर्मी सुरक्षाका अग्रपंक्तिमा खटिनेछन् । हतियारसहित खटिने उनीहरूले कार्यक्रममा सहभागी हुने भिभिआइपीको सुरक्षा गर्नछन् । 

उपत्यका प्रहरी कार्यालय काठमाडौंका अनुसार सादा पोसाकका सुरक्षाकर्मी बुधबार नै समर्थक बस्ने होटेल, गेस्ट हाउस तथा पार्टी प्यालेसमा खटिइसकेका छन् । उनीहरूले होटेल, गेस्ट हाउस तथा पार्टी प्यालेसमा रहेका प्रदर्शनकारीको सूक्ष्म निगरानी गरिरहेका छन् । सँगै प्रहरीले उपत्यका भित्रिने सबै नाकाको सुरक्षालाई पनि कडा तुल्याएको छ । उपत्यका भित्रिने यात्रुको खनतलासी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रण गर्नेलगायतका काम प्रहरीले मंगलबारबाटै सुरु गरेको छ ।

आज युवा संघ र प्रसाईंको प्रदर्शन
एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको अभियानले बिहीबार काठमाडौंमा शक्ति प्रर्दशन गर्दै छन् । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

राष्ट्रिय युवा संघले तीनकुने क्षेत्रमा विरोध र्‍याली र प्रदर्शन गर्ने तयारी गरेको छ । संघले अनेरास्ववियुसहित एमालेसम्बद्ध जनवर्गीय संगठनहरूको सहयोगमा भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको हो । 

प्रदर्शनको प्रचारका सिलसिलामा युवा संघ र अनेरास्ववियुले बुधबार काठमाडौं, भक्तपुर र ललितपुरको एक दर्जनभन्दा बढी स्थानमा साँझ मसाल जुलुस प्रदर्शन गर्दै सहभागिताका लागि अपिल गरेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि संघको अगुवाइमा बालकुमारी क्षेत्र, जडीबुटी क्षेत्र, बानेश्वर क्षेत्र र एयरपोर्ट क्षेत्रबाट छुट्टाछुट्टै र्‍याली निकाली केहीबेर तीनकुने–कोटेश्वर क्षेत्रमा प्रदर्शन हुने संघका प्रवक्ता निरोज पौडेलले बताए । त्यसलगत्तै तीनकुनेस्थित चौरमा विरोधसभा आयोजना गरिने पनि उनले जानकारी दिए । 

सभालाई एक एमाले शीर्ष नेतासहित स्थायी समिति सदस्य भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत, अहिलेका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल र अहिलेका अध्यक्ष समिक बडाल तथा एकजना महिला प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा–विद्यार्थीले कम्तीमा ३ हजार स्वयंसेवक परिचालन गर्दै छन् । दुवै संगठनले काठमाडौं उपत्यकासहित बागमती क्षेत्रबाटसमेत पार्टीसम्बद्ध कमिटीका नेता–कार्यकर्तालाई पनि परिचालन गरेका छन् । 

प्रसाईंको संयोजकत्वमा ‘नेपालीहरूको मुक्तिको दिन’ नारासहित आज काठमाडौंकेन्द्रित प्रदर्शन हुन लागेको हो । ‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको प्रदर्शनमा सहभागी हुन देशभरबाट नागरिकको सहभागिता हुने दाबी गरिएको छ । 

प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका मुद्दासहित अभियान सुरु गरेको बताएका छन् । ‘अहिलेको व्यवस्था परिवर्तन नभइन्जेलसम्म यो प्रदर्शन जारी रहन्छ,’ नयाँ पत्रिकासँग प्रसाईंले भने, ‘बिहीबार काठमाडौंमा उद्घाटन मात्रै हो । यहाँबाट घन्टी मात्रै बजाउने हो, त्यसपछि देशैभर यो प्रदर्शन जारी रहन्छ । सरकारको रबैया हेरेर थप कदम चालिनेछ । ’ 

प्रदर्शनका लागि देशभरबाट कम्तीमा पाँच लाख नागरिकको उपस्थिति हुने अनुमान गरिएको प्रसाईंले दाबी गरे । विभिन्न स्थानबाट समूह बनाएर बल्खु आइपुग्ने कार्यक्रम रहेको र देशका स्वतन्त्र व्यक्तिले सम्बोधन गर्ने प्रसाईंले दाबी गरे । अभियानका लागि राष्ट्रप्रेमी राजनीतिक दल, धार्मिक संघसंस्था, विभिन्न गुरुकुल, आश्रमहरू, विभिन्न धर्मका धर्म गुरूहरू, कर्मचारी संघ संगठनहरू, पूर्वसुरक्षाकर्मी संघसंगठनहरू, पेसागत संघसंगठनहरूलगायत ४६ वटा संघ संस्थाले समर्थन र ऐक्यबद्धता जनाएको प्रसाईंले दाबी गरे । 

अभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ ।

ad
ad