राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी मुलुक चीनले सुरु गरेको परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)का बारेमा भ्रमपूर्ण प्रचार गर्ने प्रयत्न भइरहेको बताएका छन्।
साउथ एसिया फोरम अफ प्रोभर्टी रिडक्सन एन्ड डेभलपमेन्ट कर्पोरेसनले आज काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बिआरआईबारे छरिएका भ्रमहरूलाई चिर्दै सफल कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।
‘बिआरआईको कार्यान्वयनमा कमी–कमजोरी देखिए सच्याउने, विभिन्न देशका आफ्नै परिस्थितिअनुकूल हुने गरी सञ्चालन गर्न र ती देशका जनताले अधिकतम लाभ लिन सक्ने गरी परियोजना अगाडि बढाउन जरुरी छ,’ उनले भने, ‘गरिबी न्यूनीकरण तथा विकास साझेदारीका लागि यो परियोजना महत्वपूर्ण कडीको रूपमा रहनेछ।’
चीन सरकारको अत्यन्त महत्वकांक्षी दूरगामी महत्वको परियोजना भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले परियोजनाले चीनलाई मात्र नभई ठीक ढंगले सञ्चालन गर्दा विश्वका राष्ट्र र जनताले राम्रो लाभ लिन सक्ने धारणा राखे।
अध्यक्ष तिमिल्सिनाले बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत नै दक्षिण एसियामा गरिबी निवारण र विकासमा साझेदारी तथा सहयोग आदान–प्रदान गर्ने उद्देश्य रहेको बताउँदै गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलता चीनका लागि मात्र नभएर विश्वका लागि नै महत्वपूर्ण र अनुकरणीय रहेको बताए।
उनले एक असल छिमेकीका रूपमा आफ्ना सफल अभ्यासहरूलाई नेपालजस्ता दक्षिण एसियाली मुलुकमा प्रयोग गर्न प्रोत्साहन गर्ने चीन सरकारको अग्रसरताको उच्च प्रशंसा गर्दै यसबाट दक्षिण एसियाली मुलुकलाई उनीहरूको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुगेको बताए।