Skip This
दोलखा सुन तस्कर गिरोहद्वारा चार खर्बको क्रिप्टो कारोबार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o मङ्सिर ६ बुधबार o६:३८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दोलखा सुन तस्कर गिरोहद्वारा चार खर्बको क्रिप्टो कारोबार 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार o६:३८:oo

अन्तर्देशीय र संगठित आपराधिक समूहको संलग्नता पुष्टि, राष्ट्र बैंकको सहयोग लिएर विस्तृत अनुसन्धान हुँदै

सवारीसाधनका पार्टपुर्जामा लुकाएर सुन तस्करी गर्ने गिरोहले पनि क्रिप्टोमार्फत भुक्तानी गरेको पाइएको थियो, तर यति ठूलो कारोबार भेटिएको थिएन

सुन तस्करीमा संलग्न एउटै समूहले एक वर्षमा चार खर्ब रुपैयाँभन्दा धेरै अवैध क्रिप्टो कारोबार गरेको भेटिएको छ । यसले देशमा अनौपचारिक अर्थतन्त्र कुन हदसम्म मौलाएको छ भन्ने भयानक अवस्था देखाएको छ । 

प्रहरीका अनुसार दोलखाको लामाबगर नाका हुँदै सुन तस्करी गर्ने गिरोहमाथि अनुसन्धान गर्ने क्रममा सो समूहले चार खर्ब रुपैयाँभन्दा धेरैको कारोबार क्रिप्टो करेन्सीमार्फत गरेको खुलेको हो । प्रहरीले मंगलबार सुन तस्करीको अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा बुझाएको रायसहितको प्रतिवेदनमा दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ दशमलव ७२९ युनिट युएसडिटीबराबरको कारोबार गरेको उल्लेख छ । एक युनिट युएसडिटीबराबर एक सय ४० रुपैयाँ छ । यो दर घटबढ भइरहन्छ । एक युनिट युएसडिटीबराबर एक सय ४० रुपैयाँको हिसाबले उक्त समूहबाट चार खर्ब आठ अर्बभन्दा धेरैको क्रिप्टो कारोबार भएको देखिन्छ । 

एआइजी किरण बज्राचार्य निर्देशक, सिआइबी
सुन तस्करी गर्ने समूहले खर्बौँको क्रिप्टो कारोबार गरेको पुष्टि भइसकेको छ । विगतमा यति ठूलो क्रिप्टो कारोबार देखिएको थिएन । यस विषयमा नेपाल राष्ट्र बैंकसँग समेत मिलेर विस्तृत अनुसन्धान गरिरहेका छौँ ।

‘अहिलेसम्मको अनुसन्धानमा यो समूहले खर्बौँको क्रिप्टो कारोबार गरेको पाइएको छ,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की निर्देशक एआइजी किरण बज्राचार्यले भनिन्, ‘यस विषयमा नेपाल राष्ट्र बैंकसँग समेत मिलेर  विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’ यसअघि सवारीसाधनका पार्टपुर्जामा लुकाएर सुन तस्करी गर्ने गिरोहले पनि क्रिप्टोमार्फत भुक्तानी गरेको पाइए पनि यति ठूलो कारोबार भेटिएको थिएन ।

सुन तस्करीको अनुसन्धानमा प्रहरीले पक्राउ गरेका १५ मध्ये दुईजना क्रिप्टोसँग जोडिएका व्यक्ति हुन् । गुल्मीका सनद प्रधान र रामेछापकी महिमा माझी क्रिप्टो कारोबारमा प्रत्यक्ष जोडिएका व्यक्ति हुन् । महिमाको त मोबाइल तथा ल्यापटपको फरेन्सिक रिपोर्ट अझै आइसकेको छैन । यो समूहले अझै ठूलो कारोबार गरेको प्रहरी आशंका छ । उनीहरूको १२ वटा क्रिप्टो वालेट पत्ता लगाएको छ । स्पट वालेट, ट्रस्ट वालेट तथा विनान्स एपमार्फत उनीहरूले अवैध कारोबार गरेका थिए । सुन तस्करी मात्र नभई हुन्डीलगायत अन्य कारोबारको रकमसमेत क्रिप्टोमार्फत मिलाएको प्रहरी आशंका छ ।   

सुन तस्करी तथा क्रिप्टो कारोबारमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य १२ जनालाई फरार प्रतिवादी बनाउन सिफारिस गरेको छ ।  पक्राउ परेकाविरुद्ध संगठित अपराध निवारण ऐन, २०७०, भन्सार ऐन २०६४, नेपाल राष्ट्र बैंक ऐन, २०५८, बालबालिकासम्बन्धी ऐन, २०७५ र मुलुकी अपराध संहिताको एकीकृत कसुरसम्बन्धी मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए । दोलखा प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा तस्करी गर्ने समूहमाथि विस्तृत अनुसन्धान गरेको हो । 

‘हाम्रो अनुसन्धानले यसमा २७ जनाको संलग्नता यकिन गरेको छ,’ जिप्रका दोलखाका डिएसपी खड्काले भने, ‘यसमा अन्तर्देशीय  र संगठित आपराधिक समूहको संलग्नता पुष्टि भएको छ । क्रिप्टोमार्फत ठूलो कारोबार भएको देखिन्छ ।’ 

गत ६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ५३२ ग्राम सुन प्रहरीले बरामद गरेको थियो । उनीहरूले तीन केजी सुन बिक्री गरेका सुनपसलेसमेत पक्राउ परेका छन् । बाँकी १९ केजी एक तिब्बती मूलका भारतीयलाई बिक्री गरेको बताएका छन्, तर ती व्यक्ति भने फेला परेका छैनन् । प्रहरी अनुसन्धानमा गत वर्ष असोजदेखि नै उनीहरूले सुन तस्करी गर्दै आएको पुष्टि भएको छ । 

गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । आगरका भाइबुहारी ल्हासामा रहेको र उनीहरूले नै नेपालमा सुन तस्करी गराउँदै आएका थिए । नेपालमा उनीहरूलाई सघाउने मुख्य व्यक्ति लालबहादुर तामाङ हुन् । उनी पक्राउ परिसकेका छन् । त्यस्तै, दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङले पनि सघाएका थिए । तस्करीको सुन किन्ने काठमाडौंका सुनपसले दीपेन्द्र शाक्य र तिलक विक पनि प्रहरी हिरासतमा छन् ।  चिनियाँलाई सघाउने पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये एक किशोर भने नाबालक भएकाले तारेखमा छुटेका छन् ।  

चिनियाँ गिरोहलाई ठमेल क्षेत्रका मनि चेन्जरहरूले समेत सघाएका थिए । अवैध रूपमा चिनियाँले सात लाख ६० हजार अमेरिकी डलर मनी चेन्जरबाट सटही गरेको डिएसपी खड्का बताउँछन् । साथै, यार्सा तथा कस्तुरीको बिनासमेत तस्करी गर्दै आएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

क्रिप्टो कारोबारमा जोडिएका अन्य केही व्यक्ति फरार भइरहेका छन् । जुन समूहमाथि विस्तृत अनुसन्धान हुन सकेमा देशको अर्थतन्त्रलाई नै जोखिम हुने गरी क्रिप्टोमार्फत हुने खर्बौँको कारोबार रोकिन सक्ने प्रहरी अधिकारी बताउँछन् ।  क्रिप्टो तथा हुन्डी कारोबारमा  हङकङमा रहेका धेरै नेपालीको पनि संलग्नता देखिएको छ । 

हुन्डीदेखि सुन तस्करीसम्मका घटनामा क्रिप्टोको कारोबार बढे पनि नेपाल प्रहरीसँग पनि यससम्बन्धी अनुसन्धान गर्ने सफ्टवेयर छैन । प्रहरीले सफ्टवेयर खरिदका लागि बजेट माग्दै आएकोमा सरकारले उपलब्ध गराउन सकेको छैन । जसकारण क्रिप्टो कारोबारमा विस्तृत अनुसन्धान हुन सकेको छैन ।

ठमेलका मनी चेन्जरमा सात लाख डलर अवैध सटही 
सुन तस्करी गर्ने चिनियाँले अवैध रूपमा डलर सटही गरी अवैध बाटोबाट चीन लैजाने गरेको पनि अनुसन्धानमा पत्ता लागेको छ । उनीहरूले सात लाख ६० हजार डलर साटेको अनुसन्धानबाट पुष्टि भएको दोलखाका डिएसपी दीपक खड्काले बताए । यसरी अवैध रूपमा डलर साट्ने मनी चेन्जरको पहिचान गरे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरूलाई फरार प्रतिवादीका रूपमा अभियोजन अघि बढाइएको छ । चिनियाँहरूले चलनचल्तीको दरभन्दा धेरै दिएर डलर साट्ने गरेका छन् । धेरै कमिसनको लोभमा मनी चेन्जरहरूले अवैध रूपमा डलर चिनियाँलाई दिने गरेको यसअघिका अनुसन्धानमा पनि खुलेका छन् ।