१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यस्ताे छ अहिलेसम्मको एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५७:oo

भारतमा चलिरहेको एकदिवसीय विश्वकप १३औँ संस्करण हो । सन् १९७५ मा पहिलोपटक इंग्ल्यान्डले आयोजना गर्न अवसर पायो । सो प्रतियोगिता ६० ओभरको भएको थियो । सन् १९८७ देखि प्रतियोगिता ५० ओभरमा झारियो । एकदिवसीय विश्वकपमा ५० र ६० ओभरको विश्वकप जित्ने भारत मात्र एक्लो राष्ट्र हो । वेस्ट इन्डिज र भारतले समान दुईपटक उपाधि हात पारेका छन् । अस्ट्रेलिया सर्वाधिक ५ पटकको विजेता हो । इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक–एकपटक उपाधि जितेका छन् । तथ्यांकमा पछिल्ला १२ विश्वकप फाइनल यस्तो छ :

सन् १९७५ : विश्वकपअघि टेस्ट म्याचले क्रिकेटमा जगजगी थियो । भौतिक पूर्वाधारले सम्पन्न इंग्ल्यान्डले पहिलो संस्करण गर्‍यो । लर्डस्मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीच फाइनल भयो । वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले निराश पार्दै विश्व च्याम्पियन ट्रफी उचाल्यो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले ६० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन जोड्यो । अस्ट्रेलियाले ५८.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७४ रन जोडेको थियो । च्याम्पियन टोलीका ग्यारी गिल्मोरले सर्वाधिक पाँच विकेट लिएका थिए । 

सन् १९७९ : वेस्ट इन्डिजले ब्याक टु ब्याक विश्वकपको उपाधि उचाल्यो । आयोजक इंग्ल्यान्ड फाइनलमा पुग्दा ब्याटिङ प्रदर्शन भएको थियो । लर्डस् मैदानमा वेस्ट इन्डिजले नौ विकेट गुमाएर दुई सय ८६ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा इंग्ल्यान्ड ५१ ओभरमा एक सय ९४ रनमै समेटिँदा वेस्ट इन्डिजले फाइनल ९२ रनले जित्यो । फाइनलमा वेस्ट इन्डिजका भिभ रिचार्डले एक सय ५७ बलमा एक सय ३८ रन बनाए ।  

सन् १९८३ : इतिहासमा लगातार तेस्रोपटक विश्वकप आयोजना गर्ने राष्ट्र इंग्ल्यान्ड हो । यसपटक पनि फाइनलमा वेस्ट इन्डिज नै पुगेको थियो । तत्कालीन समयमा वेस्ट इन्डिजको ब्याटिङ र बलिङ खतरनाक मानिन्थ्यो । लर्डस् मैदानमा नपत्याउँदो रूपमा भारतले स्थान बनाएको थियो । भारतले दुईपटक साबिक विजेता वेस्ट इन्डिजमाथि ४३ रनको सनसनी जित निकाली पहिलोपटक विश्वकप उचाल्यो । कपिलदेवको कप्तानीमा रहेको भारतले पहिलो ब्याटिङ गरी ५४.४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोड्यो । मदनलाल र महिन्द्रा अमरनाथले समान तीन विकेट लिँदा वेस्ट इन्डिज ५२ ओभरमा एक सय ४० रनमै अलआउट भयो । भारतले सहजै ४३ रनले बाजी मार्‍यो । 

सन् १९८७ : भारतले आयोजना गरेको विश्वकपमा अस्ट्रेलिया नयाँ विजेता बन्यो । अस्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई सात रनको झिनो अन्तरले निराश पारेको थियो । इर्डन गार्डेन रंगशालामा अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ५३ रन जोड्यो । इंग्ल्यान्डले ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४६ रन बनायो । अस्ट्रेलियाका ओपनर डेभिड बुमले एक सय २५ बलमा ७५ रन जोडेका थिए । अस्ट्रेलियाका एलान बोर्डरले दुई र स्टिभ वाँले दुई विकेट हात पारे । 

सन् १९९२ : साबिक विजेता अस्ट्रेलियाले पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर पायो । इमरान खानको कप्तानीमा रहेको पाकिस्तानले विश्वलाई नै स्तब्ध पार्दै च्याम्पियन ट्रफी उचाल्यो । पाकिस्तानमा अलराउन्डर खेलाडीसँगै तीव्र गतिका बलर थिए । फाइनलमा पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ४९ रनको मध्य–योगफल खडा गर्‍यो । इंग्ल्यान्डले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रन बनायो । यस खेलमा इमरान खानले एक सय १० बलमा ७२ रन जोडेका थिए ।  

सन् १९९६ : भारत र पाकिस्तानले संयुक्त रूपमा आयोजना गर्दा नयाँ विजेता निस्कियो । दक्षिण एसियाली राष्ट्र श्रीलंकाले विश्वकप उचाल्यो । त्यस समयमा श्रीलंकाले ५० ओभरको फर्म्याटलाई परिवर्तन गर्‍यो । सुरुको १५ ओभरको पावर प्लेमा श्रीलंकाली ओपनर सनथ जयसूर्या र कालुविथरानाले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गरे ।  उपाधि भिडन्तमा अस्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ४१ रनको मध्यम योगफल खडा गरेको थियो । पाकिस्तानको गद्दाफी रंगशालामा श्रीलंकाले ४६.२ ओभरमा तीन विकेट गुमाएर दुई सय ४५ रन जोड्यो । 

सन् १९९९ : सन् १९८७ पछि इंग्ल्यान्ड विश्वकपको आयोजक बन्यो । आइसिसीले पहिलोपटक विश्वकपमा सुपर सिक्सको अवधारणा यसै संस्करणमा लागू गरेको थियो । बलिङका भरमा पाकिस्तान आठ वर्षपछि विश्वकपको फाइनलमा पुग्यो । फाइनलमा अस्ट्रेलियासँग पाकिस्तानको भेट भयो । वर्षाले बिथोलेको उपाधि भिडन्तमा पाकिस्तानले पहिलो ब्याटिङ गरी ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र झिनो योगफल बनायो । स्ट्रेलियाले २०.१ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ३३ रन बनाउँदै दोस्रोपटक उपाधि जित्यो ।  

सन् २००३ : दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकप आयोजनाको अवसर पाउँदा भारत र अस्ट्रेलियाबीच उपाधि भिडन्त भएको थियो । अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी दुई विकेट मात्र गुमाएर तीन सय ५९ रनको विशाल योगफल खडा गर्‍यो । कप्तान रिकी पोन्टिङले एक सय २१ बलमा एक सय ४० रन बनाए । भारतले ३९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३४ रन बनाएको थियो । यस विश्वकपमा पहिलोपटक केन्याले सेमिफाइनल स्थान बनाएको थियो । 

सन् २००७ : वेस्ट इन्डिजले विश्वकप आयोजना गरेको विश्वकपमा अस्ट्रेलियाले उपाधिमाथि ह्याट्रिक नै लगायो । अस्ट्रेलियाले फाइनलमा श्रीलंकालाई डिएल नियमअनुसार ५३ रनले निराश बनायो । अस्ट्रेलियाले ३८ ओभरमा चार विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । श्रीलंकाले ३६ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १५ रन जोड्यो । खेलमा एडम गिलक्रिस्टले अस्ट्रेलियाका लागि एक सय चार बलमा एक सय ४९ रन बटुले ।  

सन् २०११ : भारतले तेस्रोपटक विश्वकप आयोजना गर्दा उपाधि घरमै राख्यो । भारत दोस्रोपटक विश्वकप विजेता हुँदा श्रीलंकालाई ६ विकेटले परास्त गरेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले वान्खडे रंगशालामा दुई सय ७५ रनको लक्ष्य ४८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । यसै विश्वकपबाट सचिन तेन्दुलकरले अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । फाइनलमा श्रीलंकाका महेला जयवद्र्धनेले ८८ बलमा एक सय तीन रन बनाएका थिए । उपाधि दिलाउने क्रममा भारतका कप्तान धोनीले ७९ बलमा ९१ रन र गौतम गम्भीरले ९७ रन जोडे । 

सन् २०१५ :  न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा आयोजक राष्ट्र नै फाइनलमा पुगे । न्युजिल्यान्ड ४५ ओभरमा एक सय ८३ रनमै धराशायी भयो । अस्ट्रेलियाले ३३.१ ओभरमा तीन विकेट गुमाएर एक सय ८६ रन बनायो । अस्ट्रेलियाले पाँचौँपटक विश्वकप उचाल्दा डेभिड वार्नरले ४६ रन, स्टिभ स्मिथले ५६ र कप्तान माइकल क्लार्कले ७४ रन बटुले । 

सन् २०१९ : दुई दशकपछि इंल्यान्डले विश्वकप आयोजना गर्‍यो । क्रिकेट जन्म भएको राष्ट्रमा विश्वकप हुँदा इंग्ल्यान्डले पहिलोपटक उपाधि उचाल्यो । उपाधि भिडन्त न्युजिल्यान्ड र इंग्ल्यान्डबीच भएको थियो । न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रन बनायो । इंग्ल्यान्डले पूरै ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ४१ रन बनायो । विश्वकपको इतिहासमा पहिलोपटक फाइनल टाई भयो । सुपर ओभरमा समेत खेल टाई नै भयो । त्यसपछि अम्पायरले सर्वाधिक बाउन्ड्री प्रहार गरेका आधारमा इंग्ल्यान्डलाई च्याम्पियन बनाए । 

(एजेन्सीको सहयोगमा)

ad
ad