अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानलाई छलफलमा नराख्न निर्देशन दिएको छ।
आयोगले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दै पासवानलाई छलफलको रोहबरमा राख्ने रखाउने काम नगर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निर्देशन दिएको हो। पासवानले आफूहरूसँग पैसा खाएको भन्दै पीडितहरूले नै उनीविरुद्ध उजुरी दिएकाले आयोगले यस्तो निर्देशन दिएको हो।
‘अनुचित लेनदेनसम्बन्धी कार्यदलमा पीडित संघर्ष समितिको तर्फबाट प्रतिनिधिको रूपमा खटिएका छेदीलाल पासवानविरुद्ध पीडित चितेन चौधरी र सदिना खातुनले ०८० भदौ २५ मा अलग-अलग दिएको निवेदन प्राप्त भएको व्यहोरा अवगत भयो। तत् सम्बन्धमा निजउपर पहिले पनि उजुरी परेको पत्रपत्रिकामा निजको काम कारबाही सम्बन्धमा समाचार प्रकाशन भएको देखिन आएको छ। निजउपरको निवेदन सम्बन्धमा आवश्यक छानबिन गर्नुहुनेछ,’ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘पीडितसँग पैसा खाएको उजुर परेका यस्ता विवादितहरूलाई कुनै पक्षको पनि प्रतिनिधिको रूपमा छलफलको रोहबरमा राख्ने रखाउने काम नगर्नू /नगराउनुहुन अनुरोध छ।’
सप्तरीका सिडिओ किरण थापाले उजुरी आएसँगै पासवानलाई छलफलमा बस्न रोक लगाएको बताए। ‘त्यति वेला नै रोक लगाएका थियौँ, त्यसपछि उहाँ छलफलमा आउनुभएको पनि छैन,’ उनले भने, ‘आवश्यक छानबिन हुँदै छ।’