नेपाल एयरलाइन्सको 'नाइन एन एबियू' कलसाइनको ट्विनअटर जहाजको बायाँ इन्जिनमा समस्या आएपछि सिमकोट विमानस्थलमै रोकिएकाे छ
सिमकोटदेखि नेपालगन्जतर्फ उडान भर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि विमानभित्रका यात्रुलाई झारिएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजको एउटा इन्जिनले काम नगरेपछि विमानभित्रबाट यात्रुलाई झारिएको हो।
सिमकोटदेखि नेपालगन्जतर्फ उडान भर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको बायाँ इन्जिनले काम नगरेपछि मर्मतको लागि सिमकोट विमानस्थलमै रोकिएको हो।
नेपाल एयरलाइन्सको 'नाइन एन एबियू' कलसाइनको ट्विनअटर जहाजको बायाँ इन्जिनमा समस्या आएको नागरिक उड्डयन प्राधिकरण सिमकोटमका प्रमुख महेन्द्र सिंहले जानकारी दिए। जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्विनअटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ।
'नाइन एन एबियू कलसाइनको ट्विनअटर जहाज नेपालगन्जबाट सोमबार बिहान चौधजना यात्रु बोकेर सिमकोट विमानस्थलमा अवतरण गरेको थियो, सिंहले भने, 'सिमकोटदेखि नेपालगन्जतर्फ उडान भर्ने तयारीमा रहेको जहाजमा सबै यात्रुभित्र बसिसकेका थिए। चालक दलका सदस्यहरूले विमान सञ्चालन गर्ने क्रममा इन्जिन सञ्चालनमा नआउँदा समस्या देखिएकाे छ।'
उक्त जहाजकाे इन्जिनको तलपट्टिबाट समेत इन्धन चुहिएको छ। पटक-पटक वरिष्ठ क्याप्टेन मनिस विष्टले इन्जिन सञ्चालन गर्ने प्रयास गर्दा नभएपछि यात्रुहरूलाई विमानबाट झारिएको छ।
जहाजमा प्राविधिक समस्या आएपछि वरिष्ठ क्याप्टेन विष्ट, को-पाइलट र एयरहोस्टेजसमेत सिमकोटमा रोकिएका छन्। नेपाल एयरलाइन्स नेपालगन्जका सहायक बलबहादुर सुनारले मंगलबार दुईजना प्राविधिक मगाएर मर्मत गरेपछि मात्रै जहाजका बारेमा भन्न सकिने बताए।
सोमबार (आज) प्राविधिक ल्याउने प्रयास गरिएको भए पनि त्यो सफल हुन सकेन। झारिएका यात्रुहरूको टिकट भाडा फिर्ता गरिने नागरिक उड्डयन प्राधिकरण सिमकोटले जनाएकाे छ। उक्त जहाजमा एकजना बिरामी महिलासमेत रहेकी छिन्।