मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Wednesday, 08 January, 2025
स्व. नेता गणेशमानको प्रतिमामा माल्यार्पण गर्दै प्रकाशमान सिंह
रासस काठमाडौं
२o८o कार्तिक २४ शुक्रबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अघि बढ्छ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १३:२३:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्तागठबन्धन बनेको प्रस्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन्।

लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताए।

‘गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ। असंवैधानिक रूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो,’ उनले भने, ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो।’

नेता सिंहले अहिलेको सत्तागठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए।

वर्तमान सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे। उनले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्नेमा  जोड दिए।

‘जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न अबको ध्यान केन्द्रित हुनुपर्छ, परिवर्तनको फल सबैले पाउनुपर्छ,’ नेता सिंहले भने, ‘अहिले जनताले परिणाम खोजिरहेका छन्, जनताको जीवनस्तर उठाउनेतर्फ ध्यान दिनुपर्छ।’ सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सबै दल मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको प्रभावकारी कार्यान्वयनमार्फत तीनै तहका सरकारबीच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्छ।’