
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितका लागि १४ लाख मूल्यबराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् । खनालले बिहीबार राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री लिएर युवा संघका प्रवक्ता सन्दीप राई नेतृत्वको टोली प्रभावित क्षेत्र जाजरकोट गएको छ । डिजिटल सोलार प्यानल २० थान, एन्टी मस्क्युटो किड्स २५२ थान, सेनिटरी प्याड पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिमिटर एक थान र विभिन्न औषधि, भोलेन्टियर हेलमेट सय थान लिएर प्रभावित क्षेत्र प्रस्थान गरेको राईले जानकारी दिए ।
राहत सामग्री हस्तान्तरण गर्दै खनालले प्रभावित जनताले समयमै राहत पाउनुपर्नेमा जोड दिए । ‘राहत नपाएर भूकम्पपीडित थप समस्यामा परेको समाचार आएका छन् । पीडितले सामान्य सेवा सुविधासमेत नपाउनु दुःखद कुरा हो । राहत र पुनर्निर्माणमा ढिलाइ हुनु आपत्तिजनक छ,’ खनालले भने, ‘यसबारेमा सरकार गम्भीर बनोस् ।’